कविता: पातजस्तै हामी


गोपी सापकोटा


हामी बदलिइरहन्छौं
जसरी रुखका पातहरु बदलिन्छन्

बसन्तमा
पलाएका कलिला पालुवाहरु
बिस्तारै बिस्तारै
बढ्दै बढ्दै हरियो पात बन्छन्

पात
पुरै पात बनिसकेपछि
उनीहरुले आफूमा
छुट्टै उमङ्ग देख्छन्
बैंशको रङ्ग देख्छन्

मात्तिदै मात्तिदै उनीहरुले
कुनै अपराध गरेर
कतै लुकेर बसेको समयलाई
खुसुक्क बोलाउँछन्

समय
हावाजस्तै कसैले नदेख्ने गरी
सुटुक्क झ्याम्मिएको रुखभित्र पस्छ
र, प्रत्येक हरिया पातलाई
एक एक गर्दै मायाले सुम्सुमाउँछ

समयको मायालु स्पर्शले
लठ्ठिएका पातहरु बिस्तारै बिस्तारै
पहेंलो बन्छन्, सिन्दुरे बन्छन्

आफू पहेंलिएर गलेको थाहा नपाउँदै
पातहरु रुखबाट फुत्त फुत्त तल खस्छन्
भुँईमा खसेर फेरि एकपटक
आफ्नो रङ्ग बदल्छन्, रुप बदल्छन्,
खैरो बन्छन्, हलुका बन्छन्

पातहरुको बेहाशीमा
समयले
फेरि एकपटक आँखा लगाउँछ
बतास बनेर उ आउँछ
र, उनीहरुलाई आफूसँगै उडाएर लैजान्छ
पातहरु
भुमरीमा नाच्दै नाच्दै टाढा पुग्छन्
कुनै अन्जान माटोमा मिसिन्छन्
र, बदलिन छोड्छन्
माटोमा बिलाउँदै माटो नै बन्छन्

त्यसरी नै हामी पनि
कुनैदिन
आफ्ना रमाइला दिनका सम्झनाहरुलाई
कुनै सन्दुकमा छोडेर
कता कता हराउँनेछौं
हाम्रो शरिर खरानी बन्नेछ
र, हामी पनि
माटोमा मिसिंदै माटो नै बन्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button