५० तलाको धरहराबाट ओर्लिएपछि प्रधानमन्त्रीको बयान

कविता

रोहेज खतिवडा

भविष्यको इतिहासमा
फेरि आयो विनाशकारी भुइँचालो
र, जगैनिरबाट भत्कायो अहिलेको धरहरा
फेरि जाग्यो भिमसेन थापाको प्रेत
र, घोषणा गर्‍यो:
म बनाउँछु ५० तलाको धरहरा ।

बनिसकेपछि ५० तलाको धरहरा,
पहिलो पटक शासकले गर्‍यो किर्तिमानी आरोहण
अवरोहण पछि पत्रकारहरुले सोधे,
‘धरहराबाट के देख्नु भो, प्रधानमन्त्रीज्यू ?’

प्रधानमन्त्रीको तानाशाही दिमाग एकछिन घुम्यो
आँखा चिम्म गरेर उसले एकछिन गम्यो
अनि भन्यो:

मेरा पौरखले, मेरा सपनाले, मेरा अठोटले
देशप्रतिको मेरो अगाध माया र प्रेमले
जनताको अभिभावकत्व र जिम्मेवारीबोधले
मैले ठड्याएपछि यो ५० तलाको धरहरा
भर्खरै आरोहण गरेर आएको छु म पहिलोपल्ट

धरहराबाट,
तपाईंहरुले सोचेजस्तो, मैले केही पनि देखिनँ

धरहराकै बगलमा माइकिङ गर्दै
छोरीको मृगौला फेर्न भिख मागिरहेको बाबु देखिनँ,
अलि पर टुँडिखेलको पेटीमा ग्राहक पर्खिरहेकी
नगरबधुको अनुहारमा मडारिइरहेको दु:ख पनि देखिनँ

धरहराको टुप्पोबाट मैले,
शहरमा च्याउसरी उम्रिरहेका टावरहरु देखेँ
तर अचाक्ली महंगीले भरपेट खान पनि नसक्ने
ती महल बनाउने मजदुरहरु देखिनँ,
घाम उदाउनुअघिदेखि घाम अस्ताएपछिसम्म
पसिन बगाउँदा पनि दुई छाक जोहो गर्न धौ-धौ पर्ने
बाग्मती किनारका सुकुम्बासी पनि देखिनँ

चम्किला बोर्ड भएका केही अस्पताल देखेँ
तर त्यहाँ उपचार किन्न नसकेर
वीर अस्पतालको प्राङ्गणमा उपचार वा मृत्युमध्ये
जुन पहिले आउँछ त्यसैको पालो पर्खिरहेका
देहाती बिरामी देखिनँ

धरहराबाट,
प्रेम गरेबापत मारिएको अजित मिजारको लास देखिनँ
जातको जाँतोले थिचिएको निश्वास दलित देखिनँ
बलात्कार गरी जलाइएकी अबोध किशोरीको
जल्न नसकेको कंकाल देखिनँ
हरपहर महिलामाथि नियन्त्रण राखिरहेको
क्रुर पितृसत्ताको अनुहार देखिनँ
नश्लवादको दम्भले श्रमजीवि मधेशीको आत्मसम्मानमा
पटकपटक गरिरहेको प्रहार देखिनँ
यो साढे दुई सय वर्षमा
मुलुकका तीन तिहाइ मानिसले भोगेको बहिष्करणको इतिहास देखिनँ

५० तलाको धरहरा पहिलोपटक चढेपछि,
मैले सडक बिस्तारमा घर भत्काइँदा
बेघर बनेका मानिसहरु देखिनँ
विकासका लागि उखेलेर फ्याँकिएका
मन्दीर, माने, ढुंगेधारा केही देखिनँ
मासिँदै गएको उपत्यकाको सम्पन्न सभ्यताका अवशेषहरु
पनि कहिँकतै देखिनँ

तपाईंहरुले सोच्नु भएजस्तो,
यो शहरमा व्याप्त अन्याय, अत्याचार, शोषण
धुलो, धुँवा, प्रदुषण
लुटपाट, ठगी, कमिसन
राजनीतिज्ञ, दलाल र कर्मचारीको प्रहसन
केही केही देखिनँ

यो बुढो ज्यान लिएर
उक्लिएपछि यो नयाँ धरहराको ५० तल्ला
मैले त्यहाँबाट एउटै सत्यमात्र देखेँ,
सिंहदरबार अर्थात् सत्ता ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button