कविताः ईश्वरले बनायो मानिस या मानिसले हुर्काइरहेछ आफूभित्र ईश्वरहरू ?

नभएको भए मानिस कँहा हुन्थे होलान् ईश्वरहरू ?


मणि लोहनी

नभएको भए मानिस
कँहा हुन्थे होलान् ईश्वरहरू ?

घण्टको सुमधुर ध्वनिसँगै, मुस्कुराएको हुनुपर्छ भगवान्
शङ्ख, मुर्चुङ्गा या चमर र बिनायो
देवता पुलकित भएको हुनुपर्छ ।
प्रार्थनाका शब्द र फूलका गुच्छाहरूले आह्लादित भएको हुनुपर्छ ईश्वर
नमाजको आवाजसँगै, बेसक खुसी भएको हुनुपर्छ अल्लाह
त्यो कपाल काटेकी कलिली केटीले बाइबल पढेको देख्यौ ?
पक्कै पनि यशु दङ्गदास हुनुपर्छ यतिखेर ।

भजनमा मग्न हारमोनियम, प्रौढ हात र तालीहरू
सितारमा साटिएका सुकुमारी औँलाहरू
तबलामा नाचिरहेका निर्दोष हत्केलाहरू
ध्यानस्थ मानिस र
भजनसँगै झुमिरहेका यी सौन्दर्यशाली महिलाहरू देखेर
पक्कै पनि गम्किएको हुनुपर्छ ईश्वर ।

नभएको भए मानिस
कहाँ हुन्थे होलान् ईश्वरहरू ?

म एक्काइसौ शताब्दीको फलैचामा बसेर
गुनगुनाइरहेछु धर्मध्वनि
ईश्वरले बनायो मानिस या
मानिसले हुर्काइरहेछ आफूभित्र ईश्वरहरू
के मानिस आफैँमा साङ्लो र सक्षम हुन सक्दैन ?

म सोचिरहेछु,
किन मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वरलाई
बिना मानिस, के सम्भव छ ईश्वरको अस्तित्व ?
नभएको भए मानिस
कहाँ हुन्थे होलान् ईश्वरहरू ?

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button