कविता दिवसमा ‘चिहान’

कविता

शकुन्तला जोशी

भुइँ कुहिरो उडिरहेको एकान्त जङ्गलमा
रातो रुमाल शिरमा बाँधेर
इनक्लाबको हात हावामा उठाइरहेको
को होला त्यो ?
कसको हो त्यो चिहान
जसको छातीमा
सधैं फुलिरहन्छ रातो गुराँस ?
कसको हो छेवैमा फुकालिएको
एकजोर पुरानो खराऊ
जसले सधैं गाउँ निस्कने
गोरेटो संकेत गर्छ ?
कसको हो पुरानो झोला
जसभित्र प्रतिबन्धित छन् एक हुल सपना ?
कसको हो त्यो आवाज
जो सधैं उज्यालोको गीत गुनगुनाउँछ ?
कसले रोप्यो त्यो चिहानमाथि फूल
जो बिना वसन्त फुलिरहन्छ ?
कसले बाल्यो त्यो राँको
जो रातरात भरि बलिरहन्छ ?

को हो त्यो ?
किन कोही बोल्दैन ?
किन निरुत्तर छ
ह्याङगरमा झुण्ड्याइएको देशको नक्सा ?
किन जिब्रो चपाइरहन्छ गाउँको मुखिया ?
कसलाई छोप्यो इतिहासले
त्यो चिहानमुनि ?
कोही त भन
कसको हो त्यो चिहान ?
कसको ?


(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button