चौधरीग्राममा साहित्य ‘फिभर’
एलबी क्षेत्री
फाइनप्रिन्ट फिभर घुम्ती साहित्य महोत्सव फागुन २८-२९ गते उन्नत कल्चर भिलेज चौधरीग्राममा सम्पन्न भयो । कार्यक्रममा मलाई स्वागत मन्तव्यको अवसर प्राप्त भएको थियो । मेरो दस बाह्र मिनेटको स्वागत मन्तव्यको थिम थियो, ‘कहिलेसम्म दुईचार जना कोटेरी लेखकहरूको मात्र घेरामा रहने ? गाउँ गाउँमा पसेर नवप्रतिभाको खोजी गर्दै उनीहरूलाई मौका दिनु ठुला ठुला प्रकाशन घरको कर्तव्य होइन र ?’
कार्यक्रममा राखिएका सबै संवाद सुन्दर थिए जसमा विशेष र उत्कृष्ट थिए, उद्यमी विनोद चौधरीसँग उमेश चौहानको– अर्थनीति र राजनीति, उद्यमी जीवा लामिछानेसँग गगन थापाको देशजगत्, रविन्द्र मिश्रसँग रवि लामिछानेको राजनीतिसँग राजकाज ।
उमेश चौहानका प्रश्न र विनोध चौधरीका उत्तर सूझबुझसहितका बौद्धिक थिए । एउटा प्रश्न थियो– भारतका मुकेश अम्बानीले झैं तपाईं आफ्नो उद्योगमा नेपाली जनतालाई शेयर किन बाँड्नु हुन्न ? चौधरीज्यूको उत्तर सन्तोषजनक थिएन ।
चर्को स्वरमा राखिएका रवि लामिछानेका प्रश्नका उत्तर रविन्द्र मिश्रले चर्कै स्वरमा दिए तर रविका अगाडी रविन्द्रका उत्तर कम्जोर र फितला थिए ।
हामी दिउँसोको खाना खाँदै गर्दा रविन्द्र मिश्रलाई मैले भनेको थिएँ, ‘तपाईंले नयाँ पार्टी खोल्नु भन्दा कांग्रेसमा सम्मिलित भएर त्यस पार्टीभित्रका कमी कमजोरी मेटाउन तिर लागेको भए देशले एउटा बलियो र स्वच्छ राजनैतिक पार्टी पाउने थियो कि ?’
संयोग नै भनौ रवि लामिछानेले पनि रविन्द्र मिश्रलाई एउटा यस्तै प्रश्न सोधे र भने, ‘तपाईंले नयाँ पार्टी खोल्न आवश्यक थिएन ।’
कार्यक्रमको पहिलो दिन राजेश हमालसँग २-३ मिनेट मेरी कान्छी छोरी पूनम गौतम छेत्रीको सुपरहिट फिल्म ‘मारुनी’बारे कुरा भयो । यो फिल्म अहिले यूट्युबमा आइसकेको राजेश हमाललाई थाहा रहेछ । दोस्रो दिन कांग्रेसका युवा नेता गगन थापासँग लामै कुरा भयो । विषय थियो– ‘होइन, अब युवाहरूले आफ्नो काँधमा देशको राजनैतिक जिम्मेवारी कहिलेबाट लिने हो ?’
फाइनप्रिन्टका अजित बराललाई अर्को कार्यक्रमका लागि काम लाग्ने केहि टिप्स दिने मौका पर्यो ।
असीम सागरले दगुर्दै आएर भने, ‘सर ! हिजो हजुरले स्वागत मन्तब्यको क्रममा मेरो निकै प्रसंसा गर्नु भयो, आभारी छु ।’ असीमलाई खुशी देखेर मलाई खुशी लाग्यो ।
अविरल यात्रीले त मेरो स्वागत मन्तब्यलाई लिएर असीमबारे एउटा अनलाइन खबर नै बनाउन भ्याएछन् । साहित्यकार अविरल यात्री ठुलो सहयोगी मुटुका धनी छन् ।
कार्यक्रमका अन्य आकर्षण पनि थिए । तर समयाभावले गर्दा म र अविरल यात्री साँझ ५ बजे नवलपुरबाट चितवनतर्फ फर्कियौँ ।
(क्षेत्रीको फेसबुकबाट)