आखिरीमा बुढाले हातको घडी फुकाल्यो

कल्पना कथा श्रृंखला ६

कल्पना खरेल

छोटो मिनी स्कर्टमा ट्याक ट्याक पेन्सिल हिलको आवाज पड्काउँदै निक्कै स्मार्ट सुन्दरी केटी रेस्टुरेन्टको प्राङ्गणमा देखिन्छिन् । हेर्दा लाग्छ धनाढ्य घरानकी छोरी जस्ती । उनको नजर यता उता घुम्दै थियो । लाग्छ उनी आफ्नो ब्वयफ्रेन्डको खोजीमा छिन् । पर्सबाट आइफोन निकाल्छिन् । फोन डायल गर्छिन् । आफ्नै अगाडि बसेको एक बुढो मान्छेको फोनमा घन्टी बज्छ । हजुरबुवाको उमेरको बुढाले हर्षित मुडमा फोन उठाउँछ ।

‘हेल्लो सीमा, तिमी कहाँ ? म रेस्टुरेन्टमा ।’

‘म पनि तिमीलाई घन्टौँदेखि रेस्टुरेन्टमा पर्खिरहेको छु ।’

केही समयदेखि निक्कै पट्यार मानेर कसैको प्रतिक्षामा देखिने बुढाले आफ्नै अगाडि फोनमा कुरा गरिरहेकी तरुनीलाई पहिलाइहाल्यो । मख्ख मुद्रामा बुढाले ठिटीलाई सङ्केत गरेर बोलायो र आफ्नै छेउमै बसाल्यो । लाग्छ त्यो बुढो र तरुनीको पहिलो देखाभेट । दुवै एकै टेबुलको सेरोफेरोमा नजिक हुन्छन् । बुढो र तरुनीको गफ चल्छ ।

‘सीमा तिमीलाई फेसबुकमा म्यासेज गरेको थिएँ नि, पाँच बजे रेस्टुरेन्टमा भेट्ने भनेर । किन ढिला गरेकी ?’

‘हो र ? मैले पछिल्लो म्यासेज ख्यालै गरिनँ । म त तिमीलाई पर्खिंदा पर्खिंदा हैरान ।’

यतिकैमा मेनु लिएर वेटर आयो । वेटरले मेनु दुवैको समक्ष राख्यो । तरुनी मेनु पल्टाउन लागिन् । वाइन र चिकेन रोस्टको अर्डर गरिन्, बुढाले हुस्की ।

केही क्षणमा अर्डर टेबुलमा आयो ।

बुढोले पेय पदार्थ सिसाको गिलासमा खनायो । दुवैले चियर्स गरेर अल्कोहलको चुस्की लिन लागे । रिमझिम साँझ मग्न थियो । साँझको शीतल वातावरणले स्पर्स गरिरहेको महसुस हुन्थ्यो । सफा सुन्दर रेस्टुरेन्टमा मन्द डिम लाइटको प्रकाश छरिएको थियो । रेस्टुरेन्ट राजधानी सहरको कोलाजदेखि केही बाहिर थियो । रेस्टुरेन्टबाट डाँडाकाँडा, पाखापखेरा र हरियाली देखिन्थ्यो ।

सहरको भिडभाड र तनाबबाट मुक्त भएर रिल्याक्स गर्न आउनेको सङ्ख्या प्रशस्तै देखिन्थ्यो । यता उताको सबै टेबलमा जोडी मात्र देखिन्थे । सबैजना आआफ्नै सुरमा खानपिन र मिठासपूर्ण गफमा व्यस्त थिए । रेस्टुरेन्ट नै प्रेममय महसुस हुन्थ्यो ।

फेरि त्यो नमिल्दो जोडीतिर मेरो नजर पुग्यो । बुढो तरुनीसँगै हुस्कीको चुस्कीमा मस्त थियो । बुढो प्रशस्तै पैसावाला । बुढामा पैसा फ्याँको, तमासा देखो भन्ने सिद्धान्त लागु थियो । बुढाको अर्डर अनुसारको सर्बिसमा वेटर पनि व्यस्त थिए । घरपरिवार श्रीमती छोरा, छोरी, नाति, नातिनी सम्पूर्ण बिर्सिएर बुढो तरुनीको यौवनसँग लिप्तिँदै थियो ।

बुढोलाई पैसा खर्चेर तरुनीको यौनसँगको मोह थियो । सुन्दरी तरुनीलाई पनि बुढाको पैसासँगको मोह थियो । त्यहाँ दुबैको उद्देश्य केवल पाउनु थियो । जतिजति नसामा झुम्दै थिए । उतिउति बुढो तरुनीको यौवनमा लालायित थियो । बुढो तरुनीको मासुम चेहेरामा घोरिएर मस्किरहेको थियो । अरुको नजर छेकेर बुढोको हात तरुनीकै संवेदनशील अङ्गतिर केन्द्रित थियो ।

दुनियाँ नै पाए जस्तो बुढो तरुनीमै हराइरहेको थियो । हाउभाउ देख्दा लाग्छ बुढालाई फेरि बीस वर्षको जवानी आए जस्तो थियो । खानपिन रोमान्स हुँदै थियो । बुढालाई पिसाबले चाप्यो ।

बाथरुमको खोजीमा बुढाको नजर यताउता चहार्न लाग्यो । बुढाले सोध्यो वेटरसँग, बाबु बाथरुम कहाँ छ रु वेटरले उतातिर जानु बाजे भन्यो । बुढाले आफ्नो कालो ब्याग युवतीकै छेउमा राख्यो । बुढो रेस्टुरेन्टको दक्षिणतिरबाट बाथरुममा गयो ।

त्यही मौका छोपी परम्परा, संस्कृति र नैतिकता बिर्सिएर आधुनिकता र फेसनको दौडान दौडिरहेकी सुन्दरी बुढालाई कुम्लाएर टाप कसी । बुढो बाथरुमबाट आयो । टेबुलमा आउँदा त न तरुनी न त ब्यागमा राखेको पैसा । बुढो हिस्स पर्यो । पुर्पुरामा हात राख्यो । आफैँलाई धिक्कार्यो । बुढासँग रेस्टुरेन्टमा खाएको पिएको तिर्ने पैसा पनि रहेन । बुढालाई तरुनीले नङ्ग्याई । रेस्टुरेन्ट काउन्टरमा गएर बुढाले बिलौना गर्यो ।

साहुले बुढाको हातमा लगाएको घडी फुकाएर आफ्नु लिनुपर्ने रकम असुल गर्यो ।


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button