आधुनिक निरोको शासन् मन्त्र

नारायण भट्टराई

एउटा ध्वनि प्रतिरोधी
विशाल बैठक कोठामा
सत्ताधारी, राष्ट्रियता र सम्बृद्धिको सपनाू नामक
जादुमयी बहुचर्चित भजनका रचनाकार
निरोवादी नेताजी चुनाव अंकित मुरली बजाएर
आफ्ना कार्यकर्तालाई सत्तारोहण र सत्तास्थायित्वको
गायत्री मन्त्र सुनाउनु हुँदैछ ।

अब्बल दर्जाका चाप्लुसी बहादुरहरु
चम्चाप्रसादहरु
श्रेणीबिहिन श्रेणीका प्रमुखहरु
सल्लाह नै नचाहिने कार्यालयका सल्लाकारहरु
भरौटेहरु अनि रखौटेहरु
दबाई बेच्ने दलालहरु
भू माफिया र फ्लू माफियाहरु
बाटो, पुल र पानीका आयोजनाहरु बक्सिस पाएमा
नेताजीका आसेपासेहरु निरोमय धुनमा मग्न भएर
सत्तामा टिकिराख्ने सुत्रहरु निशब्द श्रवण गरिरहेका छन् ।

बन्दकोठा भित्र नेताजी भजन गाइरहँदा
बाहिर कोलाहल छ
माहामारीले मरेका लासहरु
आर्यघाटमा पालो कुरिरहेका छन्
भोका पेटहरु फोहोरको डुंगुरमा शास
अड्याउने आश खोस्रिरहेका छन् ।

महामारीको त्रासले बन्दी भएका
काम र मामको अभावमा छट्पटाइरहेका
राहतको आशमा निराश मानिसहरु
टिभी र रेडियोतिर मुन्टो फर्काएर
राहतको प्याकेज कुरिरहेका छन् ।

कोहि कुरिरहेका छन्
कोहि कराइरहेका छन्
चिच्चाइरहेका छन्
बलिन्द्र धारा आँँसु बगाएर
तिनै नुनिला आँसु पिउँदै कोही बिनय गरिरहेका छन्
सास देउ ! सास देउ ! सास देउ !

नेताजीको मुरलीमय मिटिङ्ग सकिन्छ
एकाएक नेताजी टिभीको स्क्रिनमा प्रकट हुनुहुन्छ
र सम्पूर्ण दुखको मुक्तिको सार सबैलाई सुनाउनु हुन्छः
चुनाव ! चुनाव ! चुनाव !

भन्नु हुन्छः मानिसको दुख हरण गर्ने
सुत्र बोकेको म मात्र एक शासक हुँ ।
म सत्ताबाट झर्न मिल्दैन
झरें भने प्रलय हुन्छ ।

तपाइलाई बाँच्न मन छ ?
अनि म जस्तै मुरली बजाएर नाच्न मन छ ?
भोट हाल्नुस् भोट
भोटपछि म राहत लिएर आउँछु
अनि फेरि सम्वृद्धिको गीत गाउँछु ।

एकाएक नेता जी स्क्रिनबाट बिलाउनु हुन्छ
मानिसहरु नेता आउने आशमा टोलाइरहन्छन् ।

अल्बानी, क्यालिफोर्निया।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button