उसले बिहे गरेपछि मात्र हो हाम्रो ओछ्यान फरक भएको

(दीपक लोहनीको ‘दीपक र दीपकहरु’लघुकथा संग्रह बजारमा आएको छ । कविता, कथा र निवन्धको क्षेत्रमा सक्रिय दीपक समीक्षक पनि हुन् । उनी कवि मणि लोहनीका दाई हुन् । रमाइलो त के भने पचासको दशकतिर यी दाजुभाइ एकै नाममा लेख्थे– दीपकमणि दाजुभाइ । त्यसताका घट्ना र विचार साप्ताहिक र हिन्दु साप्ताहिकमा दाजुभाइको नियमित स्तम्भ चर्चित थियो । नारी श्रष्टा समाज विराटनगरले प्रकाशन गरेको ‘दीपक र दीपकहरु’माथि कवि मणि लोहनीको संक्षिप्त टिप्पणी प्रस्तुत छ । – सम्पादक)

आफ्नै छायाँ पछ्याएर …

मणि लोहनी

दीपक मेरो जीवनमा साथी बनेर आयो । जन्मिएदेखि नै उसँग एउटै थालमा खाएँ । एउटै ओच्छ्यानमा सुतेँ । उसैका लुगा लगाएर हुर्किएँ । सम्झिदा रमाइलो लाग्छ, उसले बिहे गरेपछि मात्र हो हाम्रो ओच्छ्यान फरक भएको । हाम्रो त नाम पनि एउटै । एक दशकभन्दा बढि समय हामीले ‘दीपकमणिदाजुभाइ’ नाममा छापाहरुमा लेख्यौं । बाइक एउटै चढ्थ्यौं । साथीहरु एउटै, मन पराउने केटीहरु पनि उही र उस्तै ।

दीपक मभन्दा धेरै सृजनशील, गम्भीर र स्पष्ट छ । म सबैको मन राख्ने कोशिशमा हुन्छु । ऊ सबैको प्यारो हुन सकिदैन भन्नेमा ढुक्क छ । म हतारमा लेख्छु । ऊ फुर्सदले लेख्छ । म सबै समेट्न खोज्छु । उ गहिराईमा पुग्छ । कथा र कवितामा अहिलेका ‘मै हुँ’ भन्ने लेखकहरुभन्दा दीपक धेरै माथि छ । साहित्यमा उसले उठाउने विषय र शैलीको म ‘डाइहार्ट फ्यान’ हुँ ।

चार दशकदेखि दीपक र उसका सृजनाहरुलाई नजिकबाट (सायद उसले जत्तिकै) स्पर्श गरेको आधारमा भन्नुपर्दा उसको जीवन र सृजना दुवैमा ऊ प्रष्ट छ । कुनै लप्पनछप्पन छैन । ‘दीपक र दीपकहरु’ शब्दका रंगहरुले तयार पारिएको अहिलेको समय र जीवनको प्रभावशाली ‘पोट्रट’ हो । साधारणश ब्दहरुले सजिलोसँग जीवनको गहिराइ बोध गराउन खप्पिस दीपकका यी मसिना कथाहरुले लघुकथाको क्षेत्रमा पार्ने प्रभाव र उपलब्धि सम्झेर म अहिले नै रोमाञ्चित छु ।

उसको सृजनशील सक्रियताले नेपाली साहित्य सदैब आलोकित भइरहनेमा जुन विश्वास मेरो छ, त्यही स्तरको विश्वास तपाईंहरुले पनि यी साना कथाहरु पढिसकेपछि गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button