प्रेमसभामा लीला अनमोलको घोषणा

कविता

यो दुनियाँ साक्षी राखेर
मलाई घोषणा गर्नुछ आज
म उसलाइ प्रेम गर्छु
भत्काउनु छ मलाई सामाजिक मान्यता
सम्झौताले प्रेम हुँदैन भनेर
लगाउनु छ आज चर्को नारा
गर्नुछ अवसान
आज ती चरित्रहरुको
जसले प्रेमलाई
अपब्याख्या गर्यो
निमोठेर यसको कोमलता
प्रेमको दर्शनलाई घाइते बनायो
र, रहरको खिल्ली उडाएर
मान्छेको मस्तिष्क दुर्घटित गर्यो ।

आज म
घोषणा गरेर प्रेमको
ईतिहास रच्न उभिएकी छु ।
बिनिर्माण गरेर ती दरिद्र सोचहरुको
म मेरो प्रेमको अधिकार
स्थापित गर्न उभिएकी छु ।

प्रश्न छ आज ती ढोंगीहरुलाई
जसले धर्मका नाममा राधाकृष्णलाई जपिरह्यो
र, आफै घरभित्र प्रेमको बन्देज लगायो
क्यापसमा साहित्यका गुरुले
रोमियो जुलियटको ईतिहास पढाए विद्यार्थीलाई
मुनामदन, मोटे कार्की र झुमाको सफल प्रेमको व्याख्या गरे
र, आफ्नै परिवारलाई
प्रेम गर्नु अनुशासन नहुनु हो सिकाए
ती आमा बुवा जसले प्रेम बिवाह गरे
र, आफ्नै सन्तानलाइ प्रेमको अङ्कुस लगाए
मलाई तिनकै अगाडि उभिएर भन्नु छ आज
नछोएर पनि गर्न सकिने
यदि कुनै त्यस्तो चीज छ भने त्यो प्रेम हो
नभेटेर पनि यदि हुन सक्ने
कुनै सम्बन्ध छ भने त्यो प्रेम हो
न चलाएरै पनि चलिरहने
कुनै इन्जिन छ भने त्यो प्रेम हो ।

हो, तिनलाई भन्नुछ आज मैले
बर्षौदेखि विवाहबन्धनमा बाँधिएकी म
तर उसलाई प्रेम गर्छु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button