तिलस्मी प्रभासका तीन प्रेमिल मुक्तक
१
को चाहदैन र आफ्नो प्रेमी आफूभन्दा लायक होस्
प्रेमिल तर पुरुषार्थी होस् अनि धिरोदत्त नायक होस्
शब्दै ननिकाली सही अर्थ र भाव बुझोस् ऊ आफैँले
मनभरीको गीतलाई संगीत भर्दै गाइदिने गायक होस् ।
२
मुटुलाई नै यदाकदा त बाधा बाधा भए झैँ लाग्छ
झ्याप्पै बस्यौ मुटुमा र मुटु नै आधा आधा भए झैँ लाग्छ
ठान्ने र मान्ने क्रमको क्रममा भनूँ या भ्रमको पनि भ्रममा
बुद्धि बुद्ध हुन खोज्छ तर मन राधा राधा भए झैँ लाग्छ ।
३
लगन पछिको सिंदुर पोते अनि चुराको के काम ?
नखाएरै भोक हराएपछि खाने कुराको के काम ?
म गर्छु आग्राको कुरा अनि ऊ गर्छ गाग्राको कुरा
क्लेशको मात नै उत्रिएको बेला सुराको के काम ?