कविता: एटलाण्टिक किनारमा

विमल नेपाल

एटलाण्टिक किनारमा
पहेंलो सूर्य डुब्नु अगाडि,
सललल सललल समुद्री छाल
बग्दै ठोक्किदै, बग्दै ठोकिदै गरेको बेला
तिमी र म पुगेका थियौ।

निर्जन त्यो बालुवाको पाटा भरि,
छालले झुत्ति खेलेको बेला,
तिमि थियौ,
म थिएँ,
समुद्र थिई,
सूर्य थियो ।

किनारको झाडीबाट आएको
जंगली गुलाबको महकलाई बेवास्ता गर्दै,
म तिम्रै बदनको महकमा मातेको बेला;
नुनिलो पानी र समुद्री झारको गन्धलाइ बेवास्ता गर्दै
म तिम्रै रेशमी केशको खुश्बुमा तातेको थिएँ।

त्यो प्रहरमा,
प्रसन्न तिमी थियौ,
तृप्त म थिएँ,
चंचल समुद्र थिई
र, बिदाइमा सूर्य थियो !

बेपर्वाह बालक जस्तै बनेका थियौं हामी दुइ,
बालुवाको धूलो खेल्दै किनारको बगरै बगर
छालको संगीतमा
पदचापको रिदम मिलाउदै
हामी रंगीन ढुंगा बटुल्न लाग्यौं !

तिमीले रातो पत्थर भेट्टायौ मेरो लागि !
रातो रंग संगै तिमीले मलाई प्रेम र रोमान्स
आभार र अनुग्रह
प्रसंशा र आनन्द
दियौ ।

संयोगले मैले नीलो पत्थर भेट्टाएँ तिम्रो लागि !
नीलो अर्थात् तिमी मेरो लागि
एउटा आत्मविश्वास
र स्वर्गीय आनन्द हौ ,
आकाश र समुद्र
अनि ज्ञान अमृत हौ ।

करोडौं बर्ष देखि छालहरुको बेपर्बाह चुटाईले
धुलिसात बालुवा हुन नमानेर
यी पत्थरहरु
आफ्नो श्रीष्टि सार्थक बनाउन
शायद कुनै दुइ प्रेमीको
प्रतिक्ष्यामा थिए !

मोति मुस्कानमा तिमी
परम आनन्दमा म
डुब्न लागेको सूर्य उता
चंचल समुद्र आफ्नै उत्कर्षमा!

आँखा बन्द अँगालोमा समर्पित तिमि,
रोक्न सकिन मैले पनि आफुलाई,
बरु समय आफै रोकियो !

एटलाण्टिक किनारमा
हामीले आँखा खोल्दा,
गुलाबी बास्ना बोकेर आउने
हावा बन्द भएको थियो
दुइ मुटुका धड्कन मन्द भएको थियो !
सूर्य त डुबिसकेछ,
गुलाबी बादलको मुनि
तिमि थियौ,
म थिएँ,
समुद्र पनि अलि शान्त थिई
सललल सललल छाल
बग्दै ठोक्किदै
बग्दै ठोक्किदै ।

क्याम्ब्रिज, म्यासच्युसेत्ट्स

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button