किताब पढ्नु संसार पढ्नु हो

पाठ्यपुस्तकबाट सुरु भएको किताबसँगको यात्राले सोच, संवाद र जीवनदृष्टि कसरी गढ्छ भन्नेबारे एक पाठक (डा. विक्रम तिमिल्सिना)को आत्मपरक अनुभव ।

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
मेरो किताब पढ्ने बानी विद्यालयको प्राथमिक तहदेखि सुरु भएको हो। पाठ्यपुस्तकहरू त अनिवार्य थिए, तर मलाई सधैं पाठ्यक्रमभन्दा बाहिरका किताबहरूले बढी तान्थे। सानैदेखि म जिज्ञासु स्वभावको थिएँ—साहित्य, विज्ञान, युवाजीवन, र जीवनका अर्थबारे लेखिएका किताबहरू खोजी–खोजी पढ्थेँ। ती किताबहरूले केवल जानकारी दिएनन्, सोच्ने बानी बसालिदिए। सानै उमेरमा किताबसँग जोडिनु भनेको जीवनभरका लागि सोच्ने आधार तयार गर्नु हो।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब मेरो दैनिकीको अर्थपूर्ण हिस्सा हो। किताब पढ्दा म आफूलाई हल्का, राम्रो र प्रेरित महसुस गर्छु। कहिलेकाहीँ किताबले थकान कम गर्छ, कहिलेकाहीँ आत्मचिन्तनतर्फ लैजान्छ। दैनिकीको हतार–व्यस्तताबीच किताबले मलाई आफैंसँग केही समय बिताउने अवसर दिन्छ। त्यो समय सानो भए पनि निकै गहिरो हुन्छ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
म विशेषतः रातिको समयमा किताब पढ्न मन पराउँछु। रातको शान्त वातावरण, बाहिरी हल्ला कम भएको समय, र आफ्नै लयमा पढ्न सकिने अवस्था मलाई अनुकूल लाग्छ। दिनभरिका विचारहरू थामिएपछि किताबसँग संवाद गर्न सजिलो हुन्छ। तर अन्ततः कुरा समयको उपलब्धतामै निर्भर हुन्छ। शान्त वातावरण र केही फुर्सद भए, किताब जुनसुकै बेला पनि उत्तिकै प्रिय हुन्छ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
यो पढिरहेको किताबको प्रकृतिमा निर्भर हुन्छ। तर आफ्ना रुचिका विषयमा लेखिएका किताब पढ्दा म प्रायः ऊर्जावान् र उत्साहित महसुस गर्छु। नयाँ किताबसँगै म नयाँ संसारमा प्रवेश गरेजस्तो लाग्छ- नयाँ ठाउँहरू घुमेजस्तो, नयाँ मानिसहरू भेटेजस्तो, र फरक परिवेशलाई नजिकबाट अनुभूति गरेजस्तो। किताबले मलाई एउटै ठाउँमा बसेर संसार चहार्न सक्ने क्षमता दिएको छ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ- प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
मलाई विशेष गरी ती किताबहरू मन पर्छन्, जसले पाठकलाई प्रेरित गर्छन् र जीवनका जटिलतालाई गहिराइका साथ उजागर गर्छन्। पढिसकेपछि पनि लामो समयसम्म मनमा बसिरहने, जीवनलाई फरक कोणबाट हेर्न सिकाउने किताबहरू मेरो लागि अमूल्य हुन्छन्। यस्ता किताबहरू केवल पढेर सकिँदैनन्, ती भित्र कताकता बसेर जीवनलाई प्रभावित गरिरहन्छन्।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवनदृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
म आज जस्तो व्यक्ति बनेको छु, त्यसमा किताबहरूको ठूलो भूमिका छ। मेरो जीवनले पनि मैले पढेका किताबहरूबाट धेरै हदसम्म आकार पाएको छ। लोकतान्त्रिक सोच, शान्तिप्रेम, साहित्यप्रतिको अनुराग, इमानदारी, जिम्मेवारी र नैतिक मूल्यहरू विकास हुनुमा किताबका पात्र र विचारहरूको गहिरो प्रभाव छ। कहिलेकाहीँ आफूले निर्णय गर्दा पनि कुनै किताबको पात्र वा विचार अनायासै सम्झिन्छु।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
म दुवै प्रकारका किताब मन पराउँछु। अवस्था र आवश्यकता अनुसार दुवैका आफ्नै फाइदा र सीमाहरू छन्। डिजिटल किताबले सहजता र पहुँच दिन्छ भने कागजी किताबले छुट्टै अनुभूति। जीवन तीव्र रूपमा डिजिटल बन्दै गएको सन्दर्भमा डिजिटल किताबसँग अभ्यस्त हुनु अपरिहार्य छ, र म त्यसलाई स्वाभाविक परिवर्तनका रूपमा स्वीकार गर्छु। तर कागजी किताब पल्टाउँदाको अनुभूति अझै पनि विशेष नै लाग्छ।

८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
इमानदारीपूर्वक भन्नुपर्दा, पछिल्ला केही वर्षमा आफूले मन पराएका किताबहरू नियमित रूपमा पढ्न सकेको छैन। राजनीति लगायतका विषयमा अनुसन्धान र अध्यापनसँग सम्बन्धित किताबहरू पढ्नुपर्ने बाध्यता बढी छ। तर जे किताब महत्वपूर्ण लाग्छ, म किनेर राख्छु र समय मिलाएर पढ्ने प्रयास गर्छु। किताब किनेर राख्नु नै भविष्यमा आफैंलाई समय दिने एउटा मौन वाचा जस्तै लाग्छ।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
किताब पढ्दा मैले सामना गर्ने मुख्य चुनौती समयको अभाव हो। व्यस्त दैनिकी, जिम्मेवारीहरू, र डिजिटल माध्यमका ध्यान भङ्ग गर्ने तत्वहरूले किताब पढ्ने निरन्तरता तोडिदिन्छन्। तर यही चुनौतीका बीच पनि किताबको मूल्य झन् बढेर देखिन्छ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
धेरै नै। मानिसले पढेका किताबहरूले उसले कसरी सोच्छ, कसरी तर्क गर्छ र कसरी संवाद गर्छ भन्ने निर्धारण गर्छन्। मैले पढेका किताबहरूले मेरो सोच र अभिव्यक्तिमा गहिरो प्रभाव पारेका छन्। कुराकानीका क्रममा किताबबाट आएका दृष्टिकोण, उदाहरण र सन्दर्भहरू स्वाभाविक रूपमा मिसिन्छन्।

११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
पहिला आफ्नो रुचि चिन्नुहोस्, त्यसको जीवनमा उपयोगिता सोच्नुहोस्, पढ्नका लागि थोरै समय छुट्याउनुहोस्, र पढाइको आनन्द लिनुहोस्। किताबलाई बोझ होइन, साथीका रूपमा लिनुहोस्। एकदिन तपाईंले महसुस गर्नुहुनेछ कि जीवनको महत्वपूर्ण समय तपाईंले अत्यन्तै महत्वपूर्ण कुरामा लगानी गर्नुभएको रहेछ।

१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
किताब नपढी संसारको सौन्दर्य र जटिलता बुझ्न गाह्रो हुन्छ। आफूलाई बुझ्न, अरूलाई बुझ्न र संसारलाई बुझ्न किताब अपरिहार्य छ। मानिसहरू आफैं तपाईंलाई सबै कुरा भन्न आउँदैनन्, ठाउँहरू आफैं तपाईंमाझ आउँदैनन्, र तपाईं संसारभरि यात्रा गर्न पनि सक्नुहुन्न। तर किताबले यी सबै सीमाहरू तोडिदिन्छ। किताब पढ्नु भनेको संसारसँग संवाद गर्नु हो।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button