किताबसँगको मेरो सम्बन्ध आत्मासँगको दीर्घ संवाद हो

नेपालनाम्चाको लोकप्रिय स्तम्भ ‘किताब’मा युवराज मैनाली

१.तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो ?
किताबप्रतिको मेरो रुचि कुनै निश्चित समयमा सुरु भएको थिएन । यो त बिस्तारै अंकुराएको चेतनारुपि बिरुवा हो । बाल्यकालमा कथाहरू सुन्दा, किशोरावस्थामा प्रश्नहरू जन्मिँदा र युवावस्थामा उत्तरभन्दा प्रश्न नै गहिरा लाग्न थालेपछि किताब मेरो सहयात्री बन्न थालेको हो ।

२.किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ ?
किताब मेरो दैनिकीको ‘विराम’ हो । जहाँ बाह्य कोलाहल शान्त हुन्छ, मनले आफ्नै भित्री आवाजसँग संवाद आरम्भ गर्दछ । व्यस्त दिनचर्यामा किताब आत्मालाई पुनः सन्तुलनमा ल्याउने माध्यमको रुपमा रहेको छ ।

३.तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ ?
बेलुकाको समय मलाई प्रिय लाग्छ । जब संसार कोलाहलबाट मुक्त हुन्छ र शब्दहरू अझै स्पष्ट श्रुतिगम्य हुन्छन्, मेरो पुस्तक अध्ययनको यात्रा आरम्भ हुन्छ तर कहिलेकाहीँ उषाकिरणले धर्तीलाई स्पर्श गर्नुभन्दा पूर्वको एक पृष्ठ अध्ययनले समेत दिनभरि उज्यालो दिन्छ ।

४.किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
किताब पढ्नु भनेको आफैभित्र पस्नु हो । कहिले म आफैँसँग भेटिन्छु, कहिले आफूभन्दा टाढाका जीवनसँग भेटिन्छु । त्यो अनुभूति कहिले भारी, कहिले हलुका तर सधैँ अर्थपूर्ण हुने गर्दछ ।

५.कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ ?
दार्शनिक, व्यङ्गचेत भएको चेतनाको संवाहकको रुपमा स्थापित पुस्तकहरु मेरो प्राथमिकतामा पर्दछन् तर सबै विधामा “सत्यको स्पन्दन” मेरो पहिलो खोजि रहेको हुन्छ ।

६.किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ ?
किताबले मलाई ‘निश्चित’ भन्दा ‘जिज्ञासु’ बनाएको छ । संसारलाई अनगिन्ती छायाँ र प्रकाशको मिश्रणमा हेर्न सिकाएको छ ।

७.तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल ? किन ?
कागजी किताबसँगको मेरो आत्मीयता पुरानो हो । पानाको वजन, अक्षरको स्पर्शले पढाइलाई सूचना भन्दापनि अनुभूति बनाउँने गर्दछन् ।

८.नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ ?
म किताबलाई लक्ष्य होइन, अनन्य मित्र मान्दछु । अध्ययनका लागि दिनको निश्चित समय होइन, मन तयार भएको क्षण खोज्छु र त्यो क्षणलाई सम्मान गर्छु ।

९.किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो ?
डिजिटल विचलनको चक्रव्युहमा मनलाई एउटै पृष्ठमा स्थिर राख्नु आजको प्रमुख चुनौती हो ।

१०.तपाईंले पढेको कुराले अरूसँग विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ ?
राम्ररी पढिएको किताबले संवाद गर्न खोज्दछ । ती शब्दहरू अरूसँग विचार र प्रश्न बनेर बाँडिन चाहन्छन् ।

११.किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो ?
आरम्भ गर्नुहोस् तर सत्यको मार्गबाट विचलित नहुनुहोस् । किताब छान्दा ‘प्रसिद्ध’ होइन, ‘आफ्नो मनसँग संवाद गर्ने’ रोज्नुहोस् ।

१२.आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ ?
किनकि किताबले हामीलाई गति होइन, गहिराइ दिन्छ । प्रविधिले सूचना प्रदान गर्दछ, किताबले अर्थ प्रदान गर्दछ । डिजिटल युगमा किताब भनेको क्षीणकाय मानव चेतनाको पुनर्भरण हो । यसले हामीलाई फेरि ‘मान्छे’ बन्न सिकाउँदछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button