
जुन बेला मन लाग्यो त्यो बेला पढ्छु

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा विश्वराज अधिकारी ।
१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
आज भन्दा ५५ वर्ष जति पहिले जब म दस वर्षको थिएँ, त्यसबेला देखि किताब पढ्न थालेको हो। मेरो पिता स्कूलको प्रधानाध्यापक हुनु हुन्थ्यो। उहाँ गोरखपुरबाट प्रकाशित हुने ‘कल्याण’ भन्ने पुस्तक पढ्नु हुन्थ्यो। म पनि हिन्दी र संस्कृतमा हुने त्यो पुस्तक पढ्ने गर्थ्ये।
२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
ठूलो र दीर्घकालीन प्रभाव पर्छ। म एक लेखक हो। पुस्तक पढेर, अनेक लेखकहरूका कृतिहरूको माध्यमबाट, मलाई अनेक विचारहरू प्राप्त हुन्छ जुन मेरो लेखनका लागि कच्चा सामाग्री हुन पुग्छ।
३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
मेरो लागि पढ्ने कुनै निर्धारित समय छैन। जुन बेला मन लाग्यो त्यो बेला पढ्छु। अति नै रोचक पुस्तक छ भने त्यो पुस्तक कुन बेला पढेर समाप्त गरौ भन्ने हतार हुन्छ। विशेषगरी यात्रामा रहेको बेला म निकै पढ्छु।
४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
रेडियो सुन्दा, टिभी हेर्दा जस्तो आन्दप्राप्तिको अनुभूति हुन्छ त्यसै अनुभूति हुन्छ। किताब मेरो लागि ज्ञानको श्रोत हो।
५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
म सबै किसिमका पुस्तकहरू पढ्न रुचाउँ छु। प्रेरणा दिने, सोंच जगाउने पुस्तकहरू बढी रुचाउँछु। मेरो विशेष रुचि दर्शनमा रहेकोले श्रीमद्भगवद्गीता जस्ता पुस्तक मेरो प्राथमिकता भित्र पर्दछन। म स्वयंले पनि धर्म र दर्शनमा केही पुस्तकहरू लेखेको छु।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
किताब पढेर वा पढ्ने कार्यले मेरो सोंच वा जीवन-दृष्टिमा ठूलो प्रभाव पारेको छ। पुस्तक पढेर जीवन र जगतलाई हेर्ने मेरो दृष्टिकोण झनै फराकिलो हुन पुगेको छ। पुस्तक अध्ययनले कुंआ भित्रको एउटा भ्यागुतोलाई समुन्द्रमा विचरण गर्न पठाइ दिए सरह हुन्छ। महाकवि कालिदासको ‘मेघदूत’ र Pearl S. Buck को ‘The Good Earth’, मैक्सिम गोर्की को ‘मेरो विश्वविद्यालय’ जस्ता पुस्तके मेरो चिन्तनको परिधि झनै फराकिलो हुन पुगेको छ।
७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
मलाई कागजी किताब पढ्न रुचाउँछु। यसका धेरै फाइदाहरू छन। किताव प्रकाशन आफैमा एउटा उद्योग हो र यो उद्योगले लाखौ गरिबहरूलाई रोजगारी दिन्छ। कागजी किताब जता पनि पढ्न सकिन्छ।
८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
किताब पढ्नु मेरो बानी अन्तर्गत पर्ने हुनाले मैले खास किसिमको बानी बनाउनु पर्दैन। तपाइँका प्रश्नहरूको उत्तर दिनु पूर्व म सुकदेव उपाध्याय लिखत उपन्यास ‘ऐँजेरू’ पढिरहेको थिएँ।
९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
पढ्ने किताब ज्यादै मोटो हुनु, अक्षर सानो हुनु, विवरण लामो लामो हुनु आदि चुनौति हुन्। यसैगरी समयको अभाव पनि मेरो लागि चुनौति हो। म स्वयं लेखक भएकोले आफ्नो लेखनतिर पनि समय निकाल्नु पर्छ।
१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
धेरै नै पर्छ। मेरो समूहमा दुई चार जना हुनु हुन्छ। उहाँहरूसङ्ग आफूले पढेका पुस्तकहरू बारे चर्चा गर्छु। विमर्स गर्छु। लेखकको विचार, शैली, प्रस्तुति उपर चर्चा गर्छु।
११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
जसरी भोजन, निद्रा, विश्राम आवश्यक छ त्यसैगरी किताब पढ्न आवश्यक छ। अशल एवं सन्देश युक्त पुस्तकले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याइ दिन्छ। गलत बाटोमा जान दिंदन। सोंच सकारात्म बनाउन सघाउछ।
१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
यो प्रश्नको उत्तर मैले यस पूर्व नै दिइसकेको छु। त्यै पनि थप के भन्छु भने जसरी अनेक स्थानमा नपुगेर अनेक स्थानको जीवन, रिति, थिति, परम्परा, प्रकति थाहा पाउन सकिंदैन त्यसैगरी अनेक पुस्तक नपढेर अनेक व्यक्तिहरूको विचार थाहा पाउन सकिंदैन।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



