प्रकाश कोविदको ‘प्रेमपत्र’ पढेर म किताबतिर तानिएँ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा भानु बोखिम

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
ठ्याक्कै समय तोक्न त गाह्रो होला किनभने कुनै न कुनै हिसाबले मान्छेले सानैदेखि पढेकै हुन्छ । तर मलाई पुस्तकप्रति रुची जाँगेको चाहि १६ बर्षतिर हो । जुन बेला मैले प्रकाश कोविदको प्रेमपत्र नामक उपन्यास पढेँ । यो पढाइ कुनै योजनावद्ध थिएन तर पढेपछि म धेरै दिन त्यसको कथामा रुमल्लिदै हिडेँ । मुख्य पात्रले आफ्नो प्रेमिकालाई किन धोका दिएको होला भनेर सोच्दै हिडे । किताब पढेको एक दुइ महिनासम्म रहेको त्यो ह्याङगओभर साच्चै अजिवको थियो । भलै अहिले मलाई कोविदका उपन्यास प्राथमिकतामा पर्दैनन् । तर त्यसको चार पाँच बर्षसम्म कोविदका अन्य उपन्यास पनि खोजेर पढे । त्यसले साहित्यिक पुस्तक पढ्ने बानी बस्दै गयो । मलाई आज पनि त्यस्ता किताबहरु नयाँ पाठकमा पढ्ने बानी बसाउन महत्वपुर्ण भूमिका खेल्छन् जस्तो लाग्छ । यसरी पढ्ने बानी बसेपछि पछि अन्य पुस्तक पनि पढ्न थालियो ।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
मलाई लाग्छ कि समयलाई सदुपयोग गर्न मदत मिलेको छ । तर किताब भन्नाले कुनै ठोष किताब जो भौतिक रुपमा आफुसंग हुन्छ, त्यसलाई मात्र किताबको रुपमा लिदीन । हामी दैनिक रुपमा काम गर्नको लागि तालिका बनाउँछौ । तर त्यो तालिका अनुरुप नै काम हुन्छ भन्ने छैन । तालिका अनुरुप काम नहुदा समय ब्यर्थै गएको जस्तो लाग्छ । त्यस्तो बेला केही पढ्यो भने रमाइलो लाग्छ, जसको लागि आजकल मोबाइल नै काफी छ । त्यसमा पढेका कुराले मलाई दुइ कुरामा सहयोग मिलेको महशुष हुन्छ । एक व्यर्थै गइरहेको समयको सदुपयोग भएको र अर्को भनेको समयको सदुपयोग भएपछि त्यसले दिने खुशी । किनभने मान्छे इन्गेज्ड भयो भने नकरात्मकता अलि कम हुन्छ जस्तो लाग्छ । त्यसबाहेक पढ्न मन लागेको कुनै किताब योजनावद्ध रुपमा पढ्ने कुरा त छदैछ ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
यही समय भन्ने छैन । तर बेलुकाको समय पढ्दा अलि बढी आनन्द लाग्छ ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
किताबमा मानिसका कथाहरु लेखिन्छन् । मानिसका अनुभव र विचारहरु लेखिन्छन् । यि कुराहरु पढ्दै गर्दा फरक फरक अनुभुति हुन्छ । सबैलाई थाहा छ कि मानिस सुखको खोजीमा भौतारिरहेको एक दु:खी प्राणी पनि हो। आदर्शको कुरा गर्दै गर्दा ममा पनि यो कुरा लागु हुन्छ नै । यस्तो बेला किताव मार्फत अरुको दु:ख पढ्दै गर्दा दु:ख भोग्ने म मात्र एक्लो हैन भन्ने अनुभुति हुन्छ, जो आफैमा राम्रो हो । किनभने कुनै पीडामा एक्लो छैन भन्ने अनुभुतिले सासह मिल्छ । अर्कोतिर फरक विचारले समाजको अरुको दृष्टिकोण बुझ्ने मौका मिल्छ । अरुको दृष्टिकोण बुझ्नु भनेको समाजको विविधतालाई बुझ्नु हो । भलै कतिपय ति फरक विचारमा तिब्र असहमती हुन सक्छन् । यद्धपि फरक विचार बुझेपछि त्यसप्रति असहमती पनि सभ्य ढंगले राख्नु पर्छ जस्तो लाग्छ । तर कहिलेकाही असहमती प्रकट गर्दा आवेगमा आउन पनि सकिन्छ किनभने मान्छे सधै सम्हालिएर प्रतिकृया नजनाउन पनि सक्छ । जे होस्, किताबले फरक दुनियाँ बुझ्न सघाएको अनुभुति हुन्छ ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
तपाइको प्रश्नमा मेरा केही फरक विचार छन् । कुनै समय थिए होलान् कि पुस्तकलाई तपाइले सोधेका प्रश्नको हिसाबले हेरिन्थ्यो वा पढिन्थ्यो । तर अब त्यस्तो लाग्दैन । मेरो लागि अब कुनै पुस्तकले प्रेरणा दिदैन । पुस्तक पढेर त्यहाँबाट के उपयुक्त हुन्छ भनेर विश्लेषण गर्ने अनि आफै ग्रहण गर्ने हो । जहाँसम्म रमाइलोको सवाल छ, पुस्तक अध्ययन आफैमा मेरो लागि रमाइलो काम हो । रमाइलो काम भएपछ त्यसले स्वत रुपमा शान्त बनाउने भयो अनि शान्त भएको मान्छेमा कुनै न कुनै विचार आउने वा सोच जाग्ने त हुने नै भयो । त्यसैले म सबै खालका किताब पढ्छु । मेरै उदेश्य पढ्नु आफैमा इन्गेज्ड हुनु हो । पढेर विज्ञ हौला भन्ने छैन । विज्ञ हुने प्रकृया अर्को हो जसको लागि त्यही बाटो अपनाउनु पर्छ भन्ने मलाई थाहा छ । त्यसैले म गैह्रसाहित्यीकदेखि साहित्यीक र साहित्यका पनि सबै विधाका पुस्तक पढ्छु ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
यसै भन्न गाह्रो छ । गाह्रो यो अर्थमा कि परिवर्तन त आएको छ । तर यो परिवर्तन किताब पढेर आयो वा उमेर र अनुभवको हिसाबले आयो । सायद, सरसंगतको भुमिका पनि होला । त्यसैले केही न केही हिस्सा किताबको पनि छ । तर सम्पुर्ण रुपमा किताब नै मात्र हैन भन्ने लाग्छ । मान्छेको विचारलाई किताबले मात्र नभएर समाज र समयले पनि प्रभावित पार्छ । भलै त्यो विचारलाई शान्तसंग अभिव्यक्त गर्ने शिपचाहि किताबले दिएको छ ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
दुवै । यो परिस्थिति र स्थान अनुसार हुन्छ । प्राय घरमा भएको बेला वा कही बास बसेको बेला मलाई ओछ्यानमा ढल्केर किताब पढ्न बढो मजा लाग्छ । कति कितावमा त्यहाँ मन परेका वा महत्वपुर्ण लाइनमा हाइलाइटरले हाइलाइट गर्दै पढ्न मन लाग्छ । तर कतिपय अवस्थामा वा स्थानमा किताब निकाल्न असहज हुन्छ । त्यो बेला मोबाइलमा पढिन्छ । कतिपय अवस्थामा सबै किताब आइनपुग्ने भएकाले ल्यापटपमा पनि पढिन्छ । तर यसको अनुभव धेरै थोरै छ । अझ मिल्यो भने त्यस्तो किताब प्रिन्ट गरेर पढ्ने चलन छ । त्यसैले दुवै पढे पनि रुची चाहि किताब नै पढ्ने जस्तो देखिन्छ ।

८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
थोरै थोरै पढ्ने तर दैनिक रुपमा पढ्ने । कारण मसंग सधै पढेर बस्ने सुविधा छैन । काम पनि गर्नुपर्छ । काम पनि यस्तो हुन्छ कि जो भनेको समयमा वा भनेको तरिकाले हुदैन । यही कारण नियमित थोरै पढ्ने भनेपनि नियमित रुपमा पढाइ हुदैन ।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
कहिलेकाही फरक परिवेशको किताब पढ्दा कतिपय कन्टेक्स बुझिदैन । तर यो पनि अब ठुलो समस्या रहेन । किनभने गुगल वा अन्य तरिकाबाट त्यो कन्टेक्स बुझ्न सकि हालिन्छ ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
मैले अघि नै भने कि पढ्नु भनेको मेरो लागि इन्गेज्ड हुनु पनि हो । तर यसरी हुदा पढेका कुरा यो वा त्यो रुपमा मस्तिस्कमा बस्छन् नै । कतिपय सुचना वा ज्ञानको रुपमा बस्लान् । कतिपयले व्यवहारलाई प्रभावित गर्लान् । जे होस् पढेपछि मस्तिस्कमा केही न केही बस्छ । मानिसको मस्तिस्कमा भएको चिज कुनै न कुनै रुपमा परावर्तन पनि हुन्छ । किनभने मान्छे अभिव्यक्त हुन चाहन्छ । यो हिसाबले पढेका कुराले कुराकानी गर्न वा विचार विनिमय गर्न प्रेरित हुन्छ नै ।

११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
सुरुमा अपनाउन वा बानी लगाउन गाह्रो होला, तर किताब तपाइको यस्तो साथी हुन सक्छ । जसले तपाइलाई दुनियाँको कुनैपनि कुनामा जादा पनि साथ दिन्छ । तरको ज्ञान र सोचको दायरालाई परिवर्तन गर्छ । त्यसैले शुरुमा आफ्नो रुचीको बिषयबाट पढ्न शुरु गर्नुहोस् ।

१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
किनभने मान्छेले आफुलाई बुझ्नु जरुरी छ । आफुलाई बुझ्नु भनेको व्यक्ति स्वयँलाई बुझ्नु मात्र हैन । समग्र समाज अनि सामाजिक सँस्थाहरुसंगको सम्बन्ध बुझ्नु पनि हो । यि कुरा बुझियो भने आफ्नो जीवनलाई कसरी सहज बनाउने भन्ने कुरा सिक्न सकिन्छ । तपाइले भने झै आजको व्यस्त र डिजिटल दुनियाँमा जीवनशैली सहज बनाउन जरुरी छ नै । त्यसकारण पनि किताब पढाइ महत्वपुर्ण छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button