
पठनले मानिसको जीवनमा प्रकाश छर्छ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा हरिहर खनाल ।
तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
सानै छँदा, बालककालदेखि नै मलाई पढाईप्रति रुचि थियो । आठ-नौ वर्षको उमेरदेखि होला नयाँ पुस्तक पढ्नमा बढ़ी रुचि लाग्न थालेको । धूले पाटीमा क/ख पढ्न लेख्न सिकेर ठूलो वर्णमालाको पुस्तक पढेर सकेपछि मैले १२/१३ वर्षको हुँदा हाम्रो गाउँघरमा त्यति बेलाको समयमा भेटिएका प्रायः सबै पुस्तक पढेँहुँला । खासमा दुर्गाकवच, रुद्री, चण्डी आदि । बेलुकी खाना खाइवरि बसेको समयमा ठूलाबडाहरू मलाई कहिले देवीभागवत र कहिले रामायण वाचन गर्न लगाउनुहुन्थ्यो । हरेक हिउँदमा स्वस्थानी पाठ गर्ने त त्यतिबेलाको मेरो नियमित काम नै थियो । पछि केही समय मैले मुहूर्त चिन्तामणि पनि पढेको थिएँ । १५ सालमा गाउँमा स्कुल खुलेपछि पाठ्यपुस्तकतिरै ध्यान केन्द्रित हुन पुग्यो र परम्परागत अध्ययनतिर ब्रेक लाग्यो ।
किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
अनपठ अवस्था रातको अँध्यारोजस्तै हो भने पठन आफैँमा प्रकाशको आलोक हो । पठनले मानिसको जीवनमा प्रकाश छर्छ र उसलाई आन्तरिक अवस्थादेखि बाह्य रूपमा समेत प्रज्वलित बनाउँदछ ।
तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
तपाईँले उल्लेख गरेका कुनै पनि समय मेरा लागि अध्ययनका लागि उपयुक्त हुन्छन् । एउटा सर्त, फुर्सत हुनुपर्छ, त्यत्ति हो ।
किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
पुस्तक पढ्दा मलाई कुनै नौलो आलोकमा विचरण गरिरहेको, ध्यान र साधना गरिरहेको अनुभूति हुन्छ ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
आख्यान र गैह्र आख्यान मलाई दुवै मन पर्छन् । खासमा म यथार्थवादी सामाजिक आख्यान साहित्य मन पराउँछु । तर अर्को पाटोतिरका लेखकहरूने के र कस्तो लेखिरहेका छन् भन्ने कुरा थाहा पाउनका लागि तिनका सिर्जनालाई पनि म हेर्दछु ।
किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
राम्रा किताब पढ्नाले जीवनलाई परिस्कृत बनाउँछ भन्ने म ठान्दछु । यो यस्तो हुन्छ भनेर देखाउने भन्दा पनि समग्रतामा अनुभव गर्ने कुरा हो ।
तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
म कागजी किताब मन पराउँछु । हुन त मैले किन्डलमा पनि कहिलेकाहीँ पढ्छु, तर भौतिक रूपमा हातमा किताब लिएर हातले स्पर्श गरेर पढ्नुमा भिन्नै आनन्द आउँछ । धेरै ठूलो भलुमको किताब छ र त्यसको अडियो फर्म पनि उपलब्ध छ भने म त्यसलाई पनि उपयोग गर्छु ।
नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
यो त मेरो बानी बनाउन पर्ने विषय होइन । पढ्ने/लेख्ने विषय नै अहिलेको समयको मेरो स्वेच्छाको काम हो । यो मेरो अम्मलजस्तै विषय हो ।
किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
प्राथमिकतामा कुन पुस्तकलाई राख्ने भन्ने कुरामा सचेत हुन म जरुरी ठान्दछु ।
तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
शरीरका लागि स्वच्छ र स्वास्थ्यकर आहारको आवस्यकता परेजस्तै हाम्रो बौध्दिक विकासका लागि राम्रो साहित्यको आवस्यकता पर्छ भन्ने म ठान्दछु । तसर्थ, राम्रो विषय, राम्रो पुस्तकको सेलेक्शन गर्न विचार पुर्याउन पर्छ भन्ने म ठान्दछु ।
किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
खासमा म उपदेश लिने र दिने कुरामा विश्वास राख्दिन । आफ्नो इच्छा र चाहना अनुसारका पुस्तक पढ्ने हो । गुरुहरू र अभिभावकको सल्लाह लिँदा राम्रो होला । अभिभावकले आफ्ना सन्ततिलाई कहिल्यै पनि नराम्रो सल्लाह दिँदैनन् ।
आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
जीवनलाई छिटो, छरितो र सरल बनाउने सन्दर्भमा डिजिटल ग्याजेटहरूको आवस्यकता आफ्नो ठाउँमा छँदै छ । तर मनोरंजनार्थ ती सामग्री प्रयोग गरेर तिनैलाई स्क्रोल गर्दै समय फाल्नु आफैँलाई खाल्टामा हाल्नु सिवाय केही होइन भन्ने म ठान्दछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



