सर्टकर्ट नखोजी जीवनको लामो बाटो हिँड्न पुस्तकको पढाइबाटै सिकेँ

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ किताबमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक तथा वरिष्ठ पत्रकार डा. घमराज लुइँटेल डा. घमराज लुइँटेल

तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
किताब त ५-६ वर्षे केटो हुँदादेखि नै पढिन्थ्यो । घरमा भएका रामायण, महाभारत, कृष्णचरित्रसँगै विद्यालयका पुस्तक पढियो । जान्दादेखि नै अक्षर चिनिसकेको कारण पढाइमा कठिनाइ थिएन, त्यसैले रमाएर पढिन्थ्यो । विद्यालयमा साना कक्षामा पढेको रमाइला नानी पुस्तक सम्झनामा छँदैछ । समय अनुसार, कलेज, विश्वविद्यालयका दायराका पुस्तक पढियो । साहित्यका पुस्तक पनि पढियो । हामी सानै छँदा भोजपुरको मेरो घरमा रचना साहित्यिक म्यागेजिन पुग्थ्यो । त्यसले पनि पढ्ने बानी बसाल्यो ।

किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब पढाइबाट नै मैले मेरो व्यक्तित्व बनाएको हुँ । यसको त मेरो जीवनमै महत्वपूर्ण भूमिका छ । मैले आफ्नो बौद्धिक उन्नति किताबको पढाइबाट नै गर्न सकेँ । पत्रकारिता र प्राध्यापन दुबै पेशा बढी अध्ययन गर्नुपर्ने पेशा हुन् । त्यसैले पुस्तक पढाइले आफूलाई रचनात्मक, सिर्जनात्मक हुन र अब्बल राख्न मद्धत पुगेको छ ।

तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
मलाई मन पर्ने समय बेलुका र बिहान हो । तर म तीनै समय पढ्छु । दिउँसो पनि म एक समय पढेकै हुन्छु । यो मेरो बानी र आवश्यकता दुबै हो ।

किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
म जब किताबभित्र छिर्छु, किताबले परिकल्पना गरेको समय, पात्र, परिवेश र कथनभित्र आफैँ पुगेको अनुभूति हुन्छ । चाहे त्यो जुनसुकै विषय वा क्षेत्रको पुस्तक होस्, त्यसको गहिराइमा पुगेपछि प्राप्त ज्ञानले आलोकित भएपछि आनन्दको अनुभूति हुन्छ । म कतिपय बेला दोहोराएर र तेहराएर पनि कुनै खास सन्दर्भ र खण्ड पढ्छु । त्यसका बहुअर्थ र आयाम केलाएर ग्रहण गर्छु, विश्लेषण र संश्लेषण गर्छु अनि वास्तविक गहिराइमा पुगेर मात्रै छोड्छु । यसबाट मलाई आफू आलोकित भएको अनुभूति हुन्छ ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
मलाई प्रायः सबै क्षेत्रका पुस्तक पढ्न मन पर्छ । मलाई इतिहास, पत्रकारिता, सञ्चार, साहित्य, अन्तर्राष्ट्रिय सम्बन्ध, विश्व परिवेश, भूगोल र विज्ञान प्रविधिसँग जोडिएका पुस्तक पढ्न मन पर्छ । साथै प्रेरणादायी जीवनी पनि मलाई पढ्न रूचि लाग्छ ।

किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
मेरो जीवन नै किताबको ज्ञान र व्यवहारबाट सिकेका ज्ञानको संगम हो । किताब पढ्न मन नलाग्ने हुन्थेँ भने म अहिलेको म हुने थिइन । जीवनमा सकारात्मक सोचका साथ अगाडि बढ्न, धैर्य गर्न र सर्टकर्ट नखोजी जीवनको लामो बाटो हिँड्न पुस्तकको पढाइबाटै मैले सिकेँ । कैयन समय पुस्तक मेरा साथी बन्छन् । आत्मविश्वासी बन्न, हौसला राख्न र स्वाभिमानी बन्न किताबले नै सिकाए ।

तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
मैले पहिले त कागजी पुस्तक नै पढेँ । प्रविधिको विकाससँगै त्यसलाई आत्मसात गरेकाले हुनुपर्छ मलाई डिजिटल पुस्तक पढ्न झनै रमाइलो लाग्छ । डिजिटल पुस्तक मोबाइलमा राखेर बसमा समेत सजिलै पढ्न सकिन्छ । ट्याबमा पढ्दा झनै मजा आउँछ । डिजिटल पुस्तकमा कुनै कुरा खोज्न पनि कागजीभन्दा सजिलो हुन्छ । मसँग यतिखेर कागजीभन्दा डिजिटल पुस्तकको लाइब्रेरीले जितिसकेको छ । त्यसो त म कागजी पुस्तक पनि जोडिरहेकै छु ।

नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
म बेलुका खाना छिटै खान्छु । सातदेखि साढे सात बजेभित्र खाना खाइसकेपछि कम्तीमा ३ घण्टा मेरो पढाइ चल्छ । बिहान छिटै विश्वविद्यालय जानुपर्ने भएकाले विहान जमेर पढ्न पाइन्न । तर पनि म करीब एक घण्टा जति पढ्छु । अनि मात्रै विश्वविद्यालय जान्छु । विश्वविद्यालयबाट फर्केपछि कम्तीमा ३ घण्टा समय दिउँसो पढाइमा लगाउँछु । तर दिउँसोको समय कुनै कुनै बेला घरका काम, फोन र आफन्त, साथीभाइ भेटघाटका कारण बाधा उत्पन्न हुने गर्छ । .

किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
पढिराखेको बेला घरको काम आइलाग्नु, फोन आउनु, सामाजिक काममा समय जानु, पाछा–पाहुनालाई समय दिनु, घरबाट निक्लिहाल्नुपर्ने परिस्थिति आइलाग्नु, परीक्षासँग सम्बन्धित काममा अल्मलिने अवस्था आउनु मुख्य चुनौति हुन् ।

तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
पढाइ भनेको जीवनको चरित्र र विचार बन्ने कुरा हो । निश्चय नै कहीँ कुराकानी गर्दा वा कक्षामा पढाउँदा आफूले जीवनको कुन मोडमा पढेको कुरा सान्दर्भिक भएर आइदिन्छ । यो अर्काका लागि समेत निकै प्रेरणादायी हुन्छ ।

किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
किताबका पनि प्रकार छन् । कस्ता किताब पढ्ने भन्ने कुराले आफूलाई कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्छ । सकेसम्म मौलिक, नचोरिएका, अनुसन्धान-अनुभवमा आधारित किताब पढ्न मेरो सुझाव रहन्छ । सस्ता लोकप्रिय किताब म पढ्न मन पराउँदिनँ । अरूलाई पनि त्यही सल्लाह दिन्छु ।

आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
इन्धन बिना गाडी चल्दैन । पढाइ बिना बुद्धिको विकास हुँदैन । त्यसैले जति समय पाइन्छ, पढ्नुपर्छ । पढाइले उमेर, जागीर, पद जान्दैन । उमेर समयसँगै फरक परिरहन्छ । जागीर र पद जे पनि हुन सक्छ । तर तपाईको सोचाइ फराकिलो हुने पढेर नै हो । आत्मविश्वास पढेर नै आउँछ । जति व्यस्त समय भए पनि रातीको केही समय कसैले खोस्न सक्दैन । एक घण्टा भए पनि कम सुतेर भए पनि पढ्नुपर्छ । भौतिक सम्पन्नता, विपन्नता, रोजगार, वेरोजगार, सहज, असहज, युवा, प्रौढ, वृद्ध, जुनसकै समय र वर्ग होस्, पढ्ने बानी भएको मान्छे ज्ञानले आलोकित हुन्छ । पढ्ने बानी गर्ने हो भने नचाहिने विचार पनि दिमागमा भरिन पाउँदैन र नचाहिने कुरा गरेर समय फाल्ने रोग पनि मान्छेलाई लाग्दैन । बौद्धिक व्यस्तताले मान्छे स्वस्थ हुन पनि मद्दत पुग्छ । गच्छे र समय अनुसार जे जति भए पनि नियमित पढ्नु आवश्यक छ भन्ने मेरो मान्यता छ । अहिले डिजीटल प्रविधिमा गएर पढ्ने हो भने कैयन पुस्तक निःशुल्क पनि पढ्न सकिन्छ । किनेर पढ्न सक्नु त सबैभन्दा राम्रो भइहाल्यो । किन्न नसक्नेलाई पनि डिजिटल दुनियाँमा निःशुल्क डाउनलोड गरेर पढ्न मिल्ने लाखौ पुस्तक छन् । मन र जाँगर भने हुनुपर्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button