अक्षर चिन्न थालेदेखि किताब पढ्न रुचाउन सुरु गरेको हुँ

नेपालनाम्चाको नयाँ स्तम्भ किताबमा स्वास्थ्यकर्मी देवका पन्थी

तपाईले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो ?
अक्षर चिन्न थालेदेखि किताब पढ्न रुचाउन सुरु गरेको हुँ । दाइदिदीहरुको विद्यालयबाट प्रकाशित हुने वार्षिक मुखपत्र शैलसन्देस र कक्षा ७ मा पढ्दा अन्ताक्षरी प्रतियोगिताको लागि एक रातमा कविवर माधवप्रसाद घिमिरेको शोक काव्य गौरी कण्ठ गरेपछि अतिरिक्त किताब पढ्नुमा थप आकर्षण बढेको हो ।

किताब पढाइले तपाइको दैनिकीमा कस्तो भूमिका खेल्छ ?
किताब पढाइले दैनिकी ताजा र थप उर्जासिल बनाइदिन्छ ।

तपाई प्राय कुन समयमा किताब पढ्न रुचाउनुहुन्छ ?
प्राय एकान्त अवस्थामा समय उत्ति हेक्का गरिदैन तर रातको बेला र मिर्मिरे उज्यालोमा पढेको कुराहरुले दिनभर मन तरोताजा र आनन्दित हुन्छ ।्र

किताब पढ्दा तपाईलाई कस्तो अनुभूति हुन्छ ?
किताब पढाइले नशालु बनाइदिन्छ, मन परेको किताब पाएदेखि छोडेर कतै जाने मन नै हुँदैन । किताब पढ्नु त डिप्रेसनको औषधि जस्तो हो्र । हसाउँने, रुवाउने, मन भुलाउने सम्पूर्ण कला किताबमा छ ।

कुन प्रकारका किताब तपाईलाई पढ्न मन पर्ने गर्छ ? प्रेरणादायी, रमाइलो,शान्त बनाउने, सोच जगाउने आदि ?
यी सबै प्रकारका किताब मन पर्छ तर नैतिक शिक्षा बोकेका र प्रेरणादायी अझ उत्कृष्ट लाग्छ्र । शुरुवात कथा, कविताबाट गरको भएर होला साहित्य, सृजनाले मन छोइहाल्छ ।

किताब पढ्नाले तपाइको सोच या जीवन दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ ?
किताब पढ़नाले धेरै सम्भावनाका ढोकाहरु खोलिदिएको जस्तो लाग्छ । सकारात्मक सोचको विकास र चेतनाको स्तरलाई उकेरा दिएको जस्तो लाग्छ ।

तपाई कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल ? किन ?
आफूलाई समयानुकुल परिवर्तन गर्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे म । दुवै किताबहरुलाई उपेक्षा गर्नु मिल्दैन तर कागजी किताबका पाना पल्टाउँदै र मन पेरको वाक्य,वाक्यांशलाई टिपोट वा चिनो लगाउनु आनन्ददायी लाग्छ ।

नियमित रुपमा किताब पढ्ने बानी बनाउन तपाइले कस्तो विधि अपनाउनुहुन्छ ?
बाध्यात्मक नबनाई पढ्नुपर्छ, समय छुट्टाएर केही रोचक र घतलाग्दो विषयवस्तु उठान गर्ने प्रयत्न गर्छु्र ।

किताब पढ्दा तपाइले सामना गर्ने मुख्य चुनौती के हो ?
धेरै किसिमको जिम्मेवारी रहेको बेला समय मिलाउन अलि कठिन हुन्छ्र एकाग्रताको कमीले पनि गहिराइमा पुग्न सकिदैन ।

तपाइले पढेको कुरा अरुसँग विचार विनिमय गर्न कत्तिको प्रेरित गर्छ ?
पढाइको मुख्य पाटो नै यही हो, आफुले जानेको कुरा अरुसँग बाँड्न पाउनु जत्तिको आनन्द त केहीमा पनि हुँदैन ।

किताब पढ्न शुरु गर्न चाहने नयाँ पाठकलाई तपाईको सरल सुझाव के हो ?
किताब पढ्न शुरु गर्न चाहने जो कोहीलाई पनि बाध्यात्मक होइन, स्वतन्त्र रुपमा आफ्नो मनपर्दो विषयवस्तु लिएर पढ्दा पढ्ने बानीको विकास हुन्छ भन्न चाहन्छु ।

आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ ?
जसरी रुखमै टिपेर सुन्तला खानु र सुन्तलाको पेय पदार्थ पिउनुमा सुन्तला खानु आनन्ददायी र प्राकृतिक छ, त्यस्तै आजको भागदौड र व्यस्त दैनिकीमा किताब पढ्नु पनि प्राकृतिक आनन्ददायी कुरा हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button