
एउटा हातमा डाडु र अर्को हातमा किताब लिएर पढिरहेकी हुन्छु

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ किताबमा लेखक प्रभा बराल ।
तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
२०४९ सालमा कक्षा १० मा पढ्दा कास्की जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएपछि साहित्यिक किताबप्रतिकाे माेह हवात्तै बढ्याे ।
किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब पढेपछि नयाँनयाँ ज्ञान प्राप्त हुन्छ । जीवनजगत्बारे केही नयाँ कुरा जानेजस्ताे लाग्छ । पुस्तक पठनपछि असीम तृप्ति प्राप्त गर्छु । मेरो जीवन सार्थक बनाउन किताबले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ जस्तो लाग्छ ।
तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
फुर्सद हुनासाथ जुनसुकै समयमा पनि पुस्तक पढ्न रुचाउँछु । भान्सामा तरकारी भुटिरहँदा दुई पेज भए पनि पढिन्छ नि भनेर एउटा हातमा डाडु र अर्को हातमा किताब लिएर पढिरहेकी हुन्छु ।
किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
किताब पढ्दा मलाई बेहद आनन्द महसुस हुन्छ । धन्न पुस्तक पढ्ने नशा बसाइछु भनेर आफैंलाई धन्यवाद दिन्छु ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
खासगरी प्रेरणादायी पुस्तकहरु नै बढी मन पर्छन् ।
किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
किताब पढ्नाले मेरो जीवनदृष्टिमा व्यापक परिवर्तन ल्याएकाे महसुस गरेकी छु । समयसँगै परिवर्तन हुने कुराहरुलाई स्वीकार गर्नुपर्छ अन्यथा आफै दुखी भइन्छ भन्ने ज्ञान पुस्तकपठनबाट मैले प्राप्त गरेकी छु ।
तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
म कागजी किताब पढ्दा बढी सहज महसुस गर्छु । कागजी किताबमा पाइने सुगन्ध र महक अन्त कहाँ पाउनु ?
नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
माेबाइलकाे वाईफाई बन्द गरेर पढ्ने विधि अपनाएकी छु ।
किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
एकाग्र वातावरण र समयकाे अभाव ।
तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
हामी पठनअनुभूतिहरु साथीभाइसँग विनिमय गरिरहन्छाै । यसले हामीलाई पुस्तकप्रति गहिरिन प्रेरित गरिरहेकाे छ ।
किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
किताब पढन बानी बसाउन आज दिनकाे पाँच पेज, भाेलि दश पेज, पर्सि पन्ध्र पेज गर्दै अगाडि बढेमा एकदिन पुस्तककाे अम्मली बनिनेेछ ।
आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
किताब पठन जीवनकाे एउटा यस्तो थेरापी हाे जसलाई जीवनमा कुनै भाैतिक साथीकाे आवश्यकता पर्दैन । किताबका पात्रहरू नै जीवनका साथी हुनेछन् भनेर बुझाउँछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




*
पुस्तक पठनपछि असीम तृप्ति प्राप्त गर्छु ।
**
किताब पठन जीवनकाे एउटा यस्तो थेरापी हाे जसलाई जीवनमा कुनै भाैतिक साथीकाे आवश्यकता पर्दैन ।
/
प्रभाजीलाई हार्दिक बधाई यस सुन्दर वार्ताका लागि।