राम्रो पुस्तक पढ्दा अर्को जीवन बाँचेको अनुभूति हुन्छ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा लेखक रवीन्द्र समीर

तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
मैले बाल्यकालदेखि नै साहित्यिक पुस्तक पढ्न सुरु गरेको हुँ । बुवाको साहित्य, दर्शन, अध्यात्म, इतिहास र राजनीतिमा रुचि भएकोले मैले स्कुले जीवनमै ती पुस्तकहरु पढ्ने अवसर पाएको थिएँ ।

किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब पढ्नु मेरो दैनिकीको महत्वपूर्ण अंश हो । पुस्तक नपढेको दिन मभित्रको सिर्जनशील उर्जा कमजोर भएको महशुष गर्दछु । तसर्थ मैले पुस्तक पढ्ने समय जसरि पनि निकाल्छु ।

तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
बिहान मैले लेख्ने गर्दछु भने बेलुका पुस्तक पढ्ने गर्दछु । किताबले तान्यो भने मैले अबेर रातसम्म पनि पढ्ने गर्दछु । फुर्सद भएमा दिउँसो पनि पुस्तक पढ्छु । जहाँ जाँदा पनि मसंग पुस्तक संगै हुन्छन् ।

किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
एउटा राम्रो पुस्तक पढ्दा अर्को जीवन बाँचेको अनुभूति हुन्छ । घरमै बस्दा पनि ब्रह्माण्ड घुमेको अनुभूति हुन्छ । कम गुणस्तरीय पुस्तक पढ्दा समय नष्ट भएको महशुष गर्छु ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
मलाई साहित्य, इतिहास, दर्शन, राजनीति, पर्यावरणीय तथा मनोबैज्ञानिक पुस्तक मन पर्छ । कलात्मक भाषा, तथ्यगत प्रस्तुति एवम् समाजलाई दिशाबोध गर्ने पुस्तक प्रेरक लाग्छ । यस्ता पुस्तक प्रेरक तथा सोंच जन्माउने क्षमतायुक्त हुन्छन ।

किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
किताब नपढेको भए सायद म यान्त्रिक हुने थिएँ । मेरो जीवनदृष्टि साँघुरो र एकांकी हुने थियो । पुस्तकको कारण नै मैले इतिहासदेखि सुदुर भविष्यको कल्पना गर्नसक्ने दृष्टिकोण निर्माण गरिरहेको छु । व्यक्तिको स्वतन्त्रता, अधिकार, कर्तव्य, योजना, जीवन व्यबस्थापन आदिमा पठानले ठूलो परिवर्तन ल्याएको महशुष गरेको छु ।

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो ।

तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
मलाई समाचार, लेख आदि डिजिटल माध्यममा पढ्न सजिलो लाग्छ । तर पुस्तक सकभर कागजी नै चाहिन्छ । पुस्तकको स्पर्श, वासना, पाना पल्टाएको आवाज अनि पुस्तकमा हाइलाइट लगाउने अवसर अद्वितीय लाग्छ । डिजिटल पुस्तक बोझिलो र अस्वस्थकर लाग्छन् ।

नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
घरमा बेलुकादेखि रातिसम्म पुस्तक पढ्छु । कतै यात्रामा जाँदा वा प्रतीक्षा गर्दा पुस्तक पढ्ने गर्दछु । मेरो कार्यक्रमहरुमा सहभागी हुने रुचि निकै कम छ । त्यो समय पठनलाई दिन्छु । राम्रो पुस्तक निस्किनेबित्तिकै किन्छु, धेरै पुस्तक उपहार पनि पाउँछु । यहाँ अनुपलब्ध पुस्तक अर्डर गरेर भएपनि मगाउँछु ।

किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
इन्टरनेटको संसार चाहेर पनि छोड्न सकिदैन । यो हाम्रो जीवनशैलीको महत्वपूर्ण अंग भइसक्यो । तर, बीचबीचमा आउने कल, म्यासेज, इमेल आदिलाई वेवास्ता गर्न मिल्दैन । डिजिटल माध्यमबाट देशबिदेशमा घटेका घटनामा अपडेट हुने बानीले पनि किताब पढ्ने बहाव रोकिएको महशुष गरेको छु ।

तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
राम्रा पुस्तक पढेर प्राप्त भएको ज्ञान, शैली, अनुभूति र इनर्जीले विचार निर्माण र विनिमयमा ठूलो सहयोग मिल्छ ।

किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
सामाजिक संजालको प्रयोगलाई जति सक्यो कम गर्ने तथा गुणस्तरीय पुस्तक खोजीखोजी पढ्ने बानी बसाल्न सकियो भने त्यसले सुन्दर भविष्य निर्माण गर्छ, बिचार र कार्ययोजनामा निखारता ल्याउँछ । झिलिमिली प्रचारको भरमा पुस्तक नकिनेर बिबिध विधाका राम्रा पुस्तक छनोट गरियो भने पुस्तक पढ्ने बानी स्थापित हुन्छ ।

आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
विश्वका हरेक क्षेत्रमा सफल व्यक्तिको अन्तर्वार्ता वा बायोग्राफी हेर्नुभयो भने उनीहरुको जीवन परिवर्तन गर्ने माध्यम पुस्तकको नियमित पठन हो भनेर हामीले सुन्दै पढ्दै आएका छौं । हामीले सफल तथा तीक्ष्ण दिमाग भएका व्यक्तिको क्षमता आफुमा सार्ने पुस्तक पढेर नै हो । आफ्नो समय अनुसार बिबिध विधाका पुस्तक पढ्न व्यस्तताले फरक पार्दैन । डिजिटल जीवनशैलीबाट हामी ब्याक हुन असम्भव छ । हामीले बुझ्नु जरुरी छ कि; इन्टरनेट हामीले प्रयोग गरेका छौं कि इन्टरनेटले हामीलाई प्रयोग गरिरहेको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button