
मेरो लागि पढ्नु ‘मेडिटेसन’ पनि हो

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा अध्यापक तथा लेखक कविता पन्थी ।
तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
लेखपढ गर्न सिकेपछि नै मैले किताब पढ्न थाले । मैले बुझ्ने हुॅदादेखि नै म किताबहरूकै बिच हुर्किएं । मुना मासिक बालपत्रिकाले मलाई पढ्न रुचि जगाएको हो ।
किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब पढ्नु मेरो रुचिको विषय हो । विभिन्न विषय, क्षेत्रको ज्ञान पाउन,आनन्द लिन म किताब पढ्छु ।
तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
जुनबेला पनि पढ्न मन पर्छ ।
किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
किताब पढ्दा राम्रो लाग्छ । कुन विषयको किताब हो त्यही अनुसारको अनुभूति हुन्छ। मेरो लागि त पढ्नु एक किसिमबाट मेडिटेसन पनि हो । मन एकाग्र हुन्छ । मेरो लागि त पुस्तक त साथी जस्तै हो ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
यसप्रकारका सबै किताब मन पर्छ ।
किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
सम्यक चिन्तन गर्न, आत्मबोध गर्न, सकारात्मक, सरल, सहज जीवनको लागि उत्प्रेरणा मिलेको छ ।
तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
पहिलेदेखि नै कागजी किताब पढ्ने बानी लागेर होला कागजी किताब बढी मन पराउँछु ।
नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
अब त किताब पढ्ने लत नै लागिसकेको छ । किताब पढ्ने बानी बनाउन आफ्नो रुचिको विषयका किताब छनोट गर्नुपर्छ ।
किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
समय व्यवस्थापन ।
तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
किताबहरू त ज्ञान सङ्ग्रह हुन् । आफूले पढेको कुरालाई समय,स्थान र मानिस अनुसार विचार विमर्श गरिन्छ ।
किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
आफूलाई मन पर्ने, जान्न बुझ्न मन लागेको विषयका किताब पढ्नहोस् । किताबबाट उर्जासहितको ज्ञान मिल्छ । तपाईको जीवन दृष्टिकोण सकारात्मक बन्छ । भाषाशैलीको विकास हुन्छ, सिर्जनशीलता बढ्छ ।
आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
व्यस्त र डिजिटल जीवनशैलीले हामीलाई अस्तव्यस्त बनाएको छ । यो अस्तव्यस्तता हटाउन किताब पढ्नुपर्छ । यो जीवनशैलीले हामीलाई तनावग्रस्त बनाएको छ । त्योबाट मुक्त हुन, जीवनको सत्यतालाई बुझ्न किताब पढ्नुपर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



