
कागजमा छापिएका अक्षर डिजिटल स्क्रिनमा भन्दा धेरै सरल लाग्छन्

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा मिडिया पर्सनालिटी सुरेश पौडेल ।
१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
विद्यालय जीवनदेखि नै हो, त्यतिबेला घरमा (घर भैरहवा भएकोले) सीमापारी भारतबाट प्रकाशित हुने प्रायः सबै पत्रिका जस्तै धर्मयुग, दिनमान, ईण्डिया टुडे, क्रिकेट सम्राट, सरिता, मायापुरी, माधुरी, फ्याण्टमका कमिक्सहरु अनि अखबारहरु दैनिक जागरण, नवभारत टाईम्स, स्क्रिन, ईलस्ट्रेड विकली सबै आउँथ्यो, कुनै चित्र हेरेर रमाईन्थ्यो भने कुनै पढिन्थ्यो नै।
२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
खै हिजोआज किन हो किताब पढ़ाई कम भएको छ तैपनि पछिल्लो २ महिनामा बसन्त चौधरीको देवयानी र वीरेन्द्र बस्नेतको बाई द बुक पढन भ्याएको छु। व्यक्ति व्यक्तित्व बुझ्ने अवसर मनग्य हुन्छ भनौ।
३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
वास्ववमा त्यस्तो कुनै समय नै छैन, मन पर्नुपर्छ निरन्तर बगिन्छ, प्रकाश सायमी लिखित नारायण गोपाल एक बसाई (८ घण्टा) मैं सकाएँ।
४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
अद्भूत! आँखाले अक्षर हेर्छ तर मस्तिष्कले तिनै अक्षरहरुका आधारमा दृश्य परिकल्पना गरिरहेको हु्न्छ।
५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
सबै प्रकारका, विशेषगरि बायोग्राफी।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
जे परिवर्तन छ किताबकै कारण छ भने पनि हुन्छ। मेरो काममा लेखन नभै नहुने एउटा पक्ष हो, त्यसैले राम्रो लेख्नका लागि पनि पढन आवश्यक हुन्छ।
७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
मेरा लागि आजसम्म पनि किताब भनेको कागजमा छापिएको अक्षर र चित्रहरु नै हुन्। अब यसो भनिरहँदा पुरानो जमानाको मानिस भनिएला, त्यसले फरक परेन।
८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
नियमित पढ्दिनँ, अघि भनिहाले – किताबले समात्न सक्नुपर्छ एक बसाईमै सकाईन्छ।
९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
कुनै चुनौती छैन, आनन्दै आनन्द मात्र छ।
१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
धेरै।
११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
पहिलो पाना पढेर पल्टाउनुस्, किताबले तपाईँलाई छोयो भने अरु पाना आफै पल्टिदै जान्छ, तर पनि भन्न चाहन्छु कुनै लाईन बुझिएन भने दोहोर्याएर पढनु होला किनकि अर्थ स्पष्ट हुन जरुरी हुन्छ।
१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
कागजको बास्ना, कागजमा छापिएका अक्षर डिजिटल स्क्रिनमा भन्दा धेरै सरल लाग्छन्। ब्याट्री सकिने डर हुन्न… यस्तै यस्तै हा हा हा।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



