
उसले ‘गाउँ खाने’ प्रतियोगिता जित्दै गयो र गाउँ-शहर खाँदै गयो !
गाउँ खाने कथा
सरमान सुब्बा ‘रसिक’
उसले सँधै गाउँ खाने कथा प्रतियोगितामा
मलाई जित्छ
र मसित उसले गाउँ माग्छ ।
उसले सोध्छ
वारि भर्याङ पारि भर्याङ
तेरो बाउको लुते करङ के हो?
म सोझो मान्छेको सोझो उत्तर हुन्छ
पुल….
उसले अस्वीकृतिको टाउको हल्लाउँदै भन्छ
नो…
अर्थात गलत उत्तर!
मैले जाने जति उत्तर दिन्छु
र उसले विजय उत्सवको भावमा
मलाई बार्गेनिङ गर्दै भन्छ
मलाई कुन शहर दिने?
धेरै सोंचे पछि भन्छु म
गान्तोक म्युनिसिपालिटी….
उसले भागबण्डा लगाए झैं गरेर भन्छ
गान्तोक म्युनिसिपलको गन्धे झोडा
बुढी बज्यैको खोपिल्टा परेको गाला झैं
प्वाक प्वाक उप्किएको अलकत्रे सडक
आरिथाङको टुप्पीमा पहिरोले तान्नु आँटेको घर
सबै सबै तिम्रो
र त्यहाँको राम्रो राम्रो कार्यलय, पसल सबै सबै मेरो
यति कुरा पनि नजान्ने
भनेको के हो?
म निरुत्तर छु!
उसको उत्तर- आम जनता।
उसले गाउँ खाने प्रतियोगिता जित्दै गयो
र गाउँ शहर खाँदै गयो !
त्यसै दिनदेखि हो
यो शहरमा म सुकुमबासी भएर बसेको।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




बर्षौदेखि
बगरको रेखाले
सिमाना लगायो
नदीको बाटो छेकेर
निर्माण गरेका
विश्वासको घरभित्र
कहिले सपना कहिले मुनाफा
एकैचोटि मुछेर खाए।
निचोरिदै बगेको पानीले
खोजीरह्यो
आफ्नो बाटो मान्छेले बाँध लगाए।
एकदिन नदीले बृहत रूप लियो
र तोडिदियो स्वार्थका पर्खाल
धेरै वर्षपछि प्राप्त गर्यो
आफू हिड्ने बाटोको
हक अनि अधिकार।