
कुनै पुरूषले स्त्रीलाई मन पराउनु कुनै पाप होइन
कथा: प्रतिउत्तर
सुशीला शर्मा
प्यारी साथी
धेरै धेरै माया अनि अटुट सम्झना
तिम्रो प्रेमपत्र प्राप्त भएको पनि दुई महिना हुन लागेछ । प्रेम दिवसको अवसर पारेर तिम्रो प्रेमपत्रको प्रतिउत्तर दिँदैछु । प्रतिउत्तर दिन ढिला भएकोमा मलाई माफ गर है ।
सबै मानिसका स्वभाव,इच्छा र चाहानाहरू फरक-फरक हुन्छन् । म एउटा पुरूष हुँ, म भित्र पुरूष हुँ भन्ने दभ्म भएतापनि एउटा जिम्मेवार पुरूष भएको कारण कुनै परस्त्रीलाई सताउन त चाहन्नथे । तर जब तिमीलाई सामाजिक सञ्जाल फेसबुकमा देखें । न चिनेको, न देखेको, न भेटेको मान्छे, खै किन- किन मन पर्यो अनि यो कुरा तिमीलाई भन्न चाहें । कुनै पुरूषले स्त्रीलाई मन पराउनु कुनै पाप होइन तर मन पर्यो भन्दैमा आफ्ना पारिवारिक जिम्मेवारी, सामाजिक सँस्कार र मर्यादालाई भूलेर अघि बढ्नु राम्रो कुरा होइन भन्ने कुरा जान्दा जान्दै पनि म तिमीलाई माया गर्थे, तिमी मलाई वास्तै गर्दैनथ्यौ, तर तिम्रा प्रत्येक बोलीले मलाई मेरो पारिवारिक जिम्मेवारी र उत्तरदायित्व बोध गराइरहेको हुन्थ्यो । मेरो एकहोरो ढिपी पछि तिमीबाट पनि मायाको आभास पाउन थालें । तिमी यति गहिराइमा डुबेर माया गर्छौ भन्ने बुझेपछि म झस्किंए र तिमीसँग टाढाहुने निर्णय गरें । केहि समय त मलाई धेरै गारो भयो, सम्झें तिमीलाई पनि गाह्रो भयो होला । तर मसँग कुनै बिकल्प थिएन । बोलौ भने माया लाग्छ नबोलौ त पिडा हुन्छ ।
माया प्रेम भन्नेकुरा जस्तो अर्थ लायो त्यस्तै लाग्दो रहेछ । साथीभाई, दिदिबहिनी, दाजुभाइ आफन्त, इष्ट मित्र नातागोता सबैसँग मिल्नु, आपसी सहयोग गर्नु, भाईचारा तथा अपनत्वको भाव राख्नु पनि माया प्रेम नै रहेछ । तिमी जतिको एउटा परिपक्व मान्छेले म जस्तो अल्लारे मनस्थितिबाट गुज्रेको मानिसलाई बेवास्ता गरेर, मेरो प्रस्ताव लात मार्न पनि त सक्थेऊ होला नि तर सधैं मायाले सम्झाएर मलाई पारिवारिक उत्तरदायित्व बहन गर्न प्रेरणा दियौ । सधै मेरो उन्नती र प्रगतिको कामना गरिरह्यौ । सायद तिम्रो ठाँउमा अरू कुनै युवती हुन्थी भने हामी एक-अर्काप्रति आकर्षित भएर दुबैको परिवारीक सम्बन्धमा दरार पनि आउनसक्थ्यो होला । तर तिम्रो मायालु ब्यबहार र प्रेरणाले आज मेरी जन्मदिने आमा, अग्नि साक्षी राखेर सँगै मर्ने सँगै जिउने कसम खाएकी प्यारी श्रीमती, मेरा मुटुका टुक्रा सन्तान र मेरो परिवार सबैभन्दा प्रिय लाग्छन् । यो तिमै देन हो साथी । आजकल त मलाई तिमीले पहिले भनेका शब्द अनि वाक्यांश सम्झदा तिमीप्रति गर्भको अनुभूति हुन्छ ।
यसैले म तिमीलाई एउटा असल साथीको रूपमा सधैं माया गर्छु, अनि सधैं सम्झिरहने छु । प्यारी साथी तिमीसँग भेट्न मन त मलाई पनि छ तर समय र परिस्थितिले के हुन्छ भन्न सकिँदैन । सायद हाम्रो भेट होला वा नहोला तथापि सदैव तिम्रो सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।
उहि तिमीलाई माया गर्ने साथी
अज्ञात
(नोट: कथा र यसका पात्रहरू काल्पनिक भएकोले कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ ।)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)