देशको बढुवा कहिले हुने ?

कविता

पेशल आचार्य

राणाहरु गए
पञ्चहरु आए
पञ्चहरु गए
बहुदले डिठ्ठाहरु आए
बहुदले डिठ्ठाहरु गए
लोकतन्त्रे भागबन्डेहरु आए
हूल हूल गए
हूल हूल आए
सबैले मिलाएर खाए
सबैले मिलाएर भाग पाए
तर देश जहीँको त्यहीँ रह्यो
देशको बढुवा कहिल्यै भएन !

खरदार सुब्बा भयो
सुब्बा अधिकृत भयो
अधिकृत उपसचिव भयो
उपसचिव सहसचिव भयो
सहसचिव सचिव भयो
तर देशको बढुवा कहिल्यै भएन,

वडा अध्यक्ष पालिका अध्यक्ष भयो
पालिका अध्यक्ष मेयर भयो
मेयर प्रदेश सांसद भयो
प्रदेश सांसद संघीय सांसद भयो
संघीय सांसद मन्त्री भयो
मन्त्री उपप्रधान मन्त्री भयो
उपप्रधान मन्त्री प्रधानमन्त्री भयो
सबै सबैको बढुवा भयो
तर मेरो देशको बढुवा कहिल्यै भएन !

देश झन्झन् रसातलमा भासियो
देश झन्झन् विखण्डनतिर लाग्यो
देश झन्झन् गरिब भयो
उल्टो जनता धनी भए
नेता कुलीन भए
बेपारी खरब पति भए
कर्मचारी सबै सबै पेन्सनर भए
तर मेरो देशको पेन्सन कहिल्यै पाकेन !

देश जहिल्यै अस्थायी जागिरेजस्तै
हल्लिएको हल्लिएै छ !

मेरो देशको बढुवा कहिले हुने ?
भन ए ! लाउके कर्मचारीहरु !
टाउके नेताहरु !
मेरो देश के बढुवा हुन लायक छैन हो ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button