कसको भाग्य फुटेको छ, को हो भाग्यमानी, लेखाजोखा कति गर्नु, कति कुराकानी
युवराज घलेभाइ
गान्तोक, सिक्किम, भारत
कसको भाग्य फुटेको छ, को हो भाग्यमानी
लेखाजोखा कति गर्नु, कति कुराकानी ।
जिन्दगीको एउटा पाटो सधैं भिज्ने गर्छ
थाहा छैन भिजाउने त्यो, आँशु हो कि पानी ।
जति हाँस्न खोज तिमी, जति ढाँट्न खोज
तिम्रो पीडा खोली दिन्छ भिजेको सिरानी ।
हृदयको कुनाभित्र, लुकेकी पो छौं कि ?
या त बनी बसेकी छौं, आँखाभित्र नानी ।
पीर बोकी थिर मन कहाँ हुनसक्छ ?
कता – कता बरालिने बसि सक्यो बानी ।
थाहै नपाई यात्राभरि केही बिराएँ कि
भए जस्तो लागेेको छैन गल्ती जानी – जानी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)