
अवकाश पाउने दिन बा टोलाउँदैछन् एकनासले कार्यालयको टेवलमा
बा र अवकाश
रूपा थापा
विदुर, नुवाकोट
जागिरबाट अवकाश पाउने दिन
बा आज टोलाउँदैछन् एकनासले
कार्यालयको टेवलमा ।
बा झसङ्ग हुन्छन्
जिन्दगीका धुलाहरुलाई
फाइलसँग टकटकाउँदा टकटकाउँदै
जिन्दगीका सारा रहरलाई पनि
कति छिट्टो समयले
कार्यालयको फाइल झै
टकटकाई सकेछन् ।
अवकाशबाट आएका केहि रकम
सन्तानको खुसीको निम्ति रित्याएपछि
बाका जिन्दगीका लकर
आज फेरि रित्तिएका छन्
ठ्याक्कै बाले कार्यालयमा
रित्तो गोजी लिएर
हाजिर गरेको पहिलो दिन झै ।
अवकाशपछि
सन्तानको भागवण्डामा परेका
बा भने पालै पालो
ह्याङ्गरमा झुण्डिएका
कार्यालयको पोसाक बोकेर
हरेक महिना चहारिरहन्छन्
सन्तानको घरमा र
सन्तानहरू भने प्रतिक्षामा छन्
बाले जिन्दगीबाट सधैँको लागि
अवकाश लिने दिनको ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)