महाशान्तिका लागि मलाई अन्तिम स्वीकृती देऊ

(ठाकुर मृत्यको काव्य चिन्तनमा छन् । उनी किन त्यसो गरिरहेका छन् ? त्यो उनैलाई थाहा छ । तर, यो सत्यमाथि लेख्न उनले हिम्मत मात्र गरेनन्, निरन्तर लेखिरहेका छन् । त्यस्तो वीर त लाग्थेनन् उनी तर उनले हामीलाई गलत सावित गरिदिएका छन् । वाह ! -सम्पादक)

मृत्यु कविता–१३ः अन्तिम प्राप्ती मृत्यु

ठाकुर बेलवासे

जीवनको एउटा विशाल कोलाहाल समाप्त भएको छ
कृपया शान्त बनिदेऊ आफन्तहरु
महाशून्यताको यात्राको तयारी गरिदेऊ प्रियजनहरु
बटो खाली गरिदेउ साथीसंगती, छरछिमेकहरु ।

एउटा सानो क्रन्दनको संगीत सिर्जना भएको छ
जीवनका लागि आँखामा हल्का आँसुको नृत्य गराऊ
मेरा मनका मान्छेहरु
जीवनको अन्तिम स्वरुप प्रकट भएको छ
अतितका लागि एक छिन्
मौनधारण गरिदेऊ
मेरा परिचितहरु ।

जीवनको घाउबाट
एउटा खिल बाहिर आएको छ
कृपया विस्तारै उड चराहरु
एक छिन्
नहल्ली ठाडो बन बटवृक्षहरु
महाशान्तिका लागि मलाई अन्तिम स्वीकृती देऊ
मैले मुटु साटेका परिवेशहरु
महायात्राका लागि मलिन मुस्कान छरिदेऊ
मैले रोपेका आँगनका फूलहरु ।

म अन्तिम गन्तव्यमा हिडेका बेला
एक छिन् बार्दलीमा शान्त बसिदेऊ
गन्तव्यहीन यात्राका पाइलापाइला चुमेर
साँझ पर्खी बस्ने
कुकुर, विरालो, परेवा या कुखुरा यस्तैयस्तै पशुपक्षीहरु

सबैले बुझ
प्रियसीसँगको प्रेमभन्दा गहिरो प्रेम
म मृत्युसँग गरिरहेको थिएँ
आफन्त, स्वजनलाई भन्दा
म मृत्युलाई नजिक राखिरहेको थिएँ ।

एउटा भ्रमको व्योम सिर्जना गरेर
मैले मृत्यु साधना गरिरहेको थिएँ
आज मोक्षयात्राका लागि पूर्ण सफल भएको छु ।

मेरो अन्तिम प्राप्ती मृत्यु
मेरो मुटुमा सुतेको छ
मधुर संगीत बजाऊ
विस्तारै मूल ढोका खोल

आँखामा क्षणिक उजाड दृश्य
अनुहारमा केही क्षणको अन्योल
मनमा धमिलो विगत बोकेर
शान्तभावमा ताली बजाएर
एउटा भ्रम र भ्रान्तिको अन्त्येष्टि गरिदेऊ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button