
ओशो तपोवनमा फुरेको कविता
मानसिक तनाव, बोझ, विषाद र पीडाबाट मुक्त हुन ध्यानमा लागियो तर ध्यान लागेन, बिषादले पिछा छाड्न नमानेपछि उसँगको मानसिक रस्साकस्सीमा ध्यान मुद्रामै मनमा एउटा कविता फुरिगो ।
बिषाद बिसर्जन
राधिका कल्पित
ओशो तपोवन, नागार्जुन हिल्स
निस्की तँ निस्की
पसिनासँगै रोमका कूपकूपबाट निस्की
सास फेर्दा वायुका कणकणबाट निस्की ।
निस्कन्छस् भने कानबाट फाडिदिन्छु कर्णछिद्र म
निस्कन्छस् आँखाबाट भने नानीहरु खोलिदिन्छु म
बेतोडले हाँसिदिन्छु म, हाँसोका खित्काबाट निस्की
डाँको छाडी रोइदिन्छु म, आँशुका ढिक्काबाट निस्की ।
भन् कसरी सजिलो हुन्छ तेरो बहिर्गमन
म चिच्याइदिन्छु, मेरो गर्जनसँगै निस्की
नाचिदिन्छु म, मेरा गोडाका कम्पनसँगै निस्की
गाइदिन्छु म, मेरा गीतका स्पन्दनसँगै निस्की।
म सक्दिन अब पनि
दुधेबालकलाई झैँ पिठ्युँमा बोकेर हिँडिरहन तँलाई
म सक्दिन अबदेखि
किर्नोलाई झैँ रगत चुसाएर पोसिरहन तँलाई ।
आँखामा परेको फूलो झैँ
किन छेलिरहन्छस् मेरो दृष्टि
यात्रामा खसेको पहिरो झैँ
किन छेकिरहन्छस् बाटो मेरो ?
अब,
तेरो अधिनायकत्व यहीँ परास्त गरी फर्कनुछ
तेरो बर्चस्व यही समाधिमा शमन गरी फर्कनुछ
यो मनलाई तेरो यातनागृहबाट मुक्त गर्नुछ
बाँकी जीवन उत्सवमय बनाइ जिउनु छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



