कविता: देश बहादुर

सरमान सुब्बा ‘रसिक ‘

जब म घरभित्र पस्छु
तब घर बाहिर निस्कन्छ।
(कवि राजेन्द्र भण्डारी)

देश बहादुरसित
के छैन र!
देश बहादुरसित
माटोलाई मलिलो बनाउने
पसिना छ
देश बहादुरसित
देशलई खाद्यान्नले परिपूर्ण बनाउने
मेहनत छ
देश बहादुरसित
देश प्रेम छ
देश बहादुरसित
के पो छैन र?
देश बहादुरसित
सबै थोक छ
तर सबै थोकभित्र
धेरै थोक छैन
देश बहादुरसित
उसको पसिनाको मुल्य छैन
देशलाई खाद्यान्नले परिपूर्ण
बनाउँदा बनाउँदै पनि
उसित खान लाउनलाई
प्रसस्तै अन्न र
शरीर ढाक्नलाई प्रसस्तै वस्त्र छैन।

तिमीले सोद्धै थियौ होइन?
देश बहादुरसित के छ?
देश बहादुरसित थुप्रै थोक छ
त्यही थुप्रै थोकभित्र
सबै थोक छैन
देश बहादुरसित
देश प्रेम छ
तर उसित देशबासी हुनुलाई
नागरिकता छैन
कसैले देशको अहितको कुरा गर्दा
उसको खुन उम्लिन्छ
तर देश बहादुरलाई थाहा छैन
यो देश
देशको अहित गर्नेहरुको हो भनेर
यो देश
तिमी जस्तो पसिना बगाउनेहरुको
निम्ति होइन
ओई देश बहादुर
यो देश तिमी जस्तो
लाखौं देश बहादुरहरुको
पसिनामा होली खेल्ने
नेतारामहरुको हो
धर्मको नाममा
स्वर्गको लोभ
र नर्कको डर देखाएर
फोस्रो प्रवचन सुनाएरै
करोडौं रुपियाँ कमाउने
याने स्वघोषित महात्मा
साधुरामहरुहरुको
देश हो

जो सित देश छैन
उसको नाम देश बहादुर
पण्डित बा’ले चिन्ह हेरेर
राखिदिएको नाम
देश बहादुर
व्यवस्थाले देशदेखि दुर बनाएर
देश विहिन याने विदेशी बनाएको
थाहा छ के
ओई देश बहादुर
तर ठिकै पनि हो
यहाँ आत्मा शुन्य मान्छेहरुले
आत्मा किनेरै
महात्मा भई सके पछि
देश विहिन बहादुरहरुको नाम
देश बहादुर ठिकै हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button