चंगा घमन्डी नै रहेछ, ऊ त धागो छिनाएर बाटो लागेछ

लघुकथाः चंगाको धागो

रुद्रप्रसाद उप्रेती

आकाशको निकै उचाइमा उडिरहेको एउटा चंगाले नजिकै उडिरहेको अर्को चंगासँग भनेछ, ‘हामी अरु कसैको धागोको नियन्त्रण नभए त कत्ति माथि माथि उड्न सकिन्थ्यो । धागोको बन्धनमा त यति माथि उडिन्छ ।’

अर्कोले भनेछ, ‘होइन मित्र, त्यो लट्टाइको धागो त हाम्रो शक्ति हो । त्यहि शक्तिले त हामी यतिका माथि आउँदा पनि सुरक्षित छौं । नत्र जे पनि हुन सक्थ्यो नि ।’

तर पहिलो चंगा अलि घमन्डी नै रहेछ । ऊ त धागो छिनाएर बाटो लागेछ । केहि बेरमा हुरी चल्न थाल्यो । पानी पर्न पनि थाल्यो । लट्टाइमा भएको चंगा लट्टाइ चलाउनेले तानेर सुरक्षित स्थानमा राखेछ । तर धागो छिनाएर उडेको चंगालाई हावा हुरीले धुजा धुजा पारेर चात्यो । बाँकी रहलपहल पनि पानी परेर भिजाएपछि सिद्दियो । चंगाको करंग काँडाको रुखमा कतै अल्झिरहेछ ।

भोलिपल्ट हावा, हुरी, पानी झरी थामियो । लट्टाइवालाले आफुले सुरक्षित राखेको चंगा उडाउन थाल्यो । झरी पछि खुलेको आकाशको माथि माथिसम्म चंगा उडेर हावामा कावा खाँदै थियो । विचरा धागो चुडाएको चंगा काँडाहरुको बीचमा रुँदै रुँदै बसेर अरुको रमिता हेर्दथ्यो । उड्ने पखेटा पनि थिएन विचरासँग ।

मानिस पनि जबसम्म परिवार, समाज र समुदायमा रहन्छ तबसम्म सुरक्षित, संरक्षित र अवतरित हुन्छ । जब परिवार, समाज र समुदायबाट अलग्गिन्छ तब एकछिन त उचाइ बनाउला । तर संकट परेको बेला लतारिन्छ, पछारिन्छ र धुजा धुजा हुन्छ । केहि समय सबैलाई सहज हुन सक्छ । त्यो बेला लामो हुँदैन । अप्ठ्यारो आउन बेर लाग्दैन । हामीले पनि सिक्ने हो कि ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button