कविताः म कविता खोजिरहेछु

पेशल आचार्य

कविताको खोजीमा
सहस्राब्दी, शताब्दी, दशक
वर्ष, महिना, हप्ता, दिन र छिन कुरेँ
भनेजस्ता कविता कतै देखिनँ
मन छुने कविता कतै भेटिनँ,

कविताजस्ता कविताहरू
मनोहारी कविताहरू
चित्ताकर्षक कविताहरू
वस्तीबाट लखेटिएछन्
शहरबाट भकुन्डिएछन्
न नीरव शान्तिमा छन्
न कोलाहलमा छन्
कविता कतै रहेनछन्
कविता कतै रहेनछन्,

यावत् तन्त्रहरूका जात्रामा
नियाल्दै जाँदा
राणातन्त्रमा खोजेँ
पञ्चायतमा नियालेँ
लोकतन्त्रमा टटोलेँ
र अहिले गणतन्त्रमा सूक्ष्म सन्धान गरिरहेछु
अहँ ! साँच्चै कविता निख्रिएछन् कि क्या हो ?

अहम्हरू टकराएका छन् –मानिसका
असन्तुष्टिहरू छरपष्टिएका छन् –मानिसका
विद्रोहहरू यत्र ,तत्र र सर्वत्र छन् –मानिसका
भेटिएनन् कतै पनि सन्धिहरू
भेटिएनन् कतै पनि मिलनहरू
भेटिएनन् कतै पनि
आपूm मिटाएर अरूलाई सम्पूर्णता सुम्पनेहरू
मात्र आफूलाई मान्ने
मात्र स्व गायनमा रम्ने
मात्र मपाइँत्वमा खुसी हुने
मानिसहरूको झुण्डले
आफ्नो पुराण वाचन गरिरहेछ
आफ्नो रामायण लेखाइरहेछ
आफ्नो महाभारत कहन लगाइरहेछ
शासकहरूमा
को ताना शाह बन्ने ?
को क्रूरभन्दा क्रूर शासक बन्ने ?
होडबाजी चलेको रहेछ
सबैसबै नीरो हुने कोसिसमा रहेछन्
सबैसबै इदी आमिन हुने अभिनयमा रहेछन्
सबैसबै बोकासो हुने रिहर्षलमा रहेछन्
जो मरे विचरा !
तिनले चिहान कुरिरहेका रहेछन्
तर जो बाँचेका छन् नि
अलिकति पुटिन
अलिकति तालिवान
अलिकति राजापाक्षे
अलिकति मोदी
अलिकति …….!
अलिकति ……..!!
न शासक हुन सके !
न व्यवस्थापक नै हुन सके !
यिनीहरूकै राज्यका बीचमा
हजारौंहजार मानिसहरूका
चित्कारका माझबाट फेरि पनि
म कविता खोजिरहेछु ।
म कविता नियालिरहेछु ।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button