
साने विदेशबाट आएर छुट्टै बस्ने व्यवस्था नगरेसम्म ऊ घर फर्कन्ने रे
लघुकथा: ऊ फर्केकी छैन
मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी, हालः तिलोत्तमा-२, रुपन्देही
उनीहरुलाई सानैमा टुहुरा पारेर बा बैकुण्ठबासी भए । दुःखजिलो गरेर आमाले दबै भाइलाई हुर्काइन् बढाइन्, लेखाइन् पढाइन् । ठूले, साने दाजुभाइ कम साथीभाइ बढ्ता थिए । दुबैको मिल्तीको गाउँमा प्रशंसा थियो । उनीहरुको मिल्ती र लगन देखेर हरिदेवीले पनि पति वियोग विर्सेकी थिइन् । प्रशन्न थिइन् ।
समय क्रमसँगै ठूले साने दुबैको बिहेबारी भयो । हरिदेवी बृद्ध भैसकेकीले ठूलेको नेतृत्वमा घरव्यवहार राम्रै चलेको थियो ।
घरायसी सल्लाह अनुरुप साने कमाइको लागि विदेश गएको थियो । नियमित कमाइ घरमा पठाउँथ्यो । दुबै बुहारीहरु मिलेर बसेका थिए । घरमा सबै सन्तोष नै थिए ।
गाउँमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको थियो । विभिन्न दलको घरदैलो, नाराजुलुस भै रहेको थियो । ठूले आफ्नो दलको घरदैलो अभियानमा सक्रियतापूर्वक लागेको थियो ।
संयोग के परेछ भने सानेकी दुलहीका माइती फरक पक्षका रहेछन् । सानेकी दुलही सविनामा माइतीको प्रभाव रहनु स्वभाविक थियो । त्यसैले सविना पनि आफ्नो दलको घरदैलो, नाराजुलुसमा हिँडेकी थिई ।
एउटै घरमा जेठाजु लगायत अरु सदस्य एउटा दल, सविना अर्को दल हुँदा घरमा मनमुटाव शुरु भयो । राजनैतिक किचलोले घरमा उग्र रुप लियो । घरायसी झगडाको कारण सविनाले घर छोडेर माइत हिँडी ।
चुनाव सकियो । दलिय झैझगडा मनमुटाव गाउँलेले विर्सीसके । खेतिपातीको सिजन भएकोले अर्मपर्म सरसहयोग चल्न थाल्यो । गाउँलेहरु लयमा फर्किसके तर ऊ भने अझै घरमा फर्केकी छैन ।
गाउँमा गाँईगुँई सुनिन्छ, ‘साने विदेशबाट आएर छुट्टै बस्ने व्यवस्था नगरेसम्म ऊ घर फर्कन्ने रे ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



