
तर ऊ घर कहिल्यै फर्केन
कथा: बाटुुलीको बिहेको निम्तो
विनोद अर्याल
धनबहादुर बूढो भैसकेको छ । ८० वर्षको बुढ्याउलीमा पनि ऊ अझै पचास वर्षै झै तन्दुरुस्त छ । हुन त उ पल्टने हो तर पल्टनको एक घटनाले उसलाई मास्टर बनायो । पल्टनमै मास्टर बन्यो । अवकाशपछि गाउँमै आएर मास्टरी गर्न लाग्यो । गाउँमा स्कुल खोल्नु उसको लागि एउटा युद्ध जिते बराबरको कठिनाइ जस्तै थियो । तर, हतियारसहितको युद्धको मैदानको पहिलो दिनमै युद्ध छाड्नु परे पनि किताब र कलमको युद्धमा उसले कहिल्यै युद्धको मैदान छाड्नु परेन । हरेतापनि जितको ज्योति सधै बलिहरन्थ्यो ।
मृत्युुसँगको युद्ध जितेर आएको मान्छेलाई खासै केही कुराको डर हुदैन केही कुराको सुर्ता हुदैन र धनबहादुर निडर छ । र, उसकै निडरताको कारणले गाउँमा प्राईमरी स्कुल खुल्यो । केही लगानी गर्नसम्म पछि हटेन । पल्टनको पेन्सनले गाउँमा स्कुल खोल्दा गाउँका मान्छेहरू उसलाई पागल भन्थे त कसैले पल्टनको पैसा धेरै भएर कता छरौ छरौ भाको छ भन्थे । रिण माग्न आउनेलाई कहिल्यै रित्तो हात पठाएन न त कहिल्यै तमसुकमा ल्याप्चे नै लगायो न पैसा तिर नत्र घरबार उठाउछु भन्दै आगनमा लौरो टेक्दै नै गयो । बरू रिण तिर्न सकिन अहिले भन्दै आउनेलाई ‘हिसाब आफै राखेस्, जहिले सक्छस् त्यहिले तिर्नु’ भन्दै पठाउथ्यो । छोराछोरी कसैले पनि खासै पढाइमा रुचि राखेनन् बरू पढ्ने उमेरमा भागेर लाहुरे हुन गए । छोरीहरू केटा टिपेर हिडे । तर धनबहादुरलाई भने आफ्ना सन्तानलाई डाक्टर बनाउने ठूलो इच्छा छ । उसको इच्छा बाटुलीले पूरा गरिदिई ।
भोलि धनेकी नातिनीको बिहे छ । आफ्नै हातले हुर्काएर ठुली बनाएकी नातिनीको बिहेमा धनबहादुर खुशी छ र दुखित पनि । धने कतै जानलाग्दा धनेलाई पछ्याउँदै जान्थी बाटुली, धने कुनै झर्को नमानि बाटुलीलाई उचालेर जान्थ्यो । गाउको कचेरी होस् या बैठक जतापनी । धने बाटुलीलाई अत्यन्तै माया गर्थ्यो । जतासुकै जाँदा पनि पसलमा गएर बाटुलीलाई मिठाई किनिदिन्थ्यो, ऊ खुशी हुदै हजुरबुबाको हात समाएर हिड्थी । हुन त बाटुली पहिल सन्तान पनि होइन न त उ छोरा नै हो तर पनि धनबहादुर उसलाई अत्यन्तै माया गर्छ । अन्य नातिनातिनाहरू नभएका पनि होइनन् तर बाटुली उसको लागि प्यारी थिइ र अहिले पनि छे ।
बाटुली जन्मिदा मुलमा परेर जन्मेकी थिई। गाउँघरमा मुल परेर जन्मेकाले पहिलोपटक उसलाई देख्नेलाई पिरोल्छ भन्थे, बाटुलीलाई पहिलोपल्ट धनेकी बुढीले देखेकी थिइ र बाटुली नौ महिनाकी हुदा नै धनेकी बुढीले यो संसार त्यागेर गई । सबैले धनेकी बुढीले संसार छाड्नुको कारण बाटुलीलाई देख्नु भनेर हल्ला चलाएका थिए । तर कारण भने धनेको कान्छो छोरा थियो जसलाई युद्धरत माओवादीले बेपत्ता बनाएको थियोे । केही हतियार बोकेका माओवादी लडाकुहरूले उसलाई घरबाट जबर्जस्ती लिएर गएका थिए तर ऊ घर कहिल्यै फर्केन । उसैको चिन्तामा धनेकी बुढीले संसार त्यागी तर कारण नौ महिनाकी बाटुली बनी ।
बुढीले संसार त्यागेपछि धनबहादुर एक्लो भयो कहिले पिरोलिएर मलाई पनि लैजाउ भन्दै रुन्थ्यो, कराउथ्यौ एक्लै एक्लै तर उसले कसैको अगाडि आँसु देखाएन । बाटुली बामे सर्दै धनेको काखमा पुग्थी धनेले खान लागेको खाना निकालेर खान्थी कहिले जताततै छर्नेगर्थी । धने बाटुलीलाई हेरिरन्थ्यो । बाटुली धनेलाई पछ्याउँथी र धनेले उसलाई बिकेर हिड्थ्यो । बाटुलीलाई खेलाउदा खेलाउदै उसले आफ्नो जिवनको तितो घटनालाई बिस्तारै बिर्सिन लाग्यो र बाटुलीको बाल्यकालसँगै रमाउन लाग्यो । धनेका लागि बाटुली समय काट्ने मन भुलाउने बनी भने बाटुलीका लागि धने खुला किताब बन्यो धेरै कुरा सिक्ने । संसारमा मानिस एक्लै नै हुन्छ तर स्वार्थ जोडिएका कारणले एकले अर्कालाई आफ्नो बनाइदिन्छ चाहे छोराछोरी पतिपत्नी होस् या अरू कुनै । बाटुली पनि राम्रो स्याहारसुसार र खानपानले गर्दा छिटो हुर्किइ । धनेले बाटुलीलाई अक्षर चिनाउनेदेखि डाक्टर बनाउनेसम्मको खर्च आफैं गर्यो र बाटुलीको बिहे पनि । पल्टनको पेन्सन पैसाको कमी थिएन तर छोराबुहारीलाई भने कहिल्यै दिएन ।
साँझको खाना खाएर ओछ्यानमा पल्टिएको धनेले पल्टनको राम बहादुरलाई सम्झियो जसले आतंककारीको आक्रमणबाट सास मात्र रहेको धनेलाई सक्दो छिटो उद्दार गरेर मिलिट्री अस्पताल पुर्याएको थियोे । उसले डाक्टर रोजी गुरुङलाई सम्झियो जसले धनेलाई उपचारसँगै बाच्ने हिम्मत जुटाइदिएकी थिइन् । उनी नेपाली मुलकी थिइन् र जसले धनेलाई बाच्ने र छिटो निको आश्वासन दिएकी थिइन् । करिब तीन महिनाको अस्पताल बसाइँ पछि डाक्टर रोजी गुरुङलाई खुट्टामा ढोगेर मसँग केही छैन तपाईंको गुन म कसरी तिर्न सक्छु भन्दै गहभरी आँसु लिएर घुक्कघुक्क गर्दै रुन लाग्यो । डाक्टर रोजी गुरुङले धनेको आखाको आँसु पुछिदिदै भनिन्, ‘धने दाई मलाई केही दिनु पर्दैन । हजुर त मेरो दाइ । यो बहिनीको लागि हजुरको जीवन नै ठूलो छ । बरू हजुरकी छोरीलाई पनि राम्रो पढाएर ठूलो मान्छे बनाउनु । म त्यसै खुशी हुन्छु जहाँ भए पनि ।’
धनेले फेरि खुट्टा छोएर अस्पतालबाट निस्किएको थियो । र, मनमा आफ्ना सन्तानलाई पनो डाक्टर बनाउने सपना बुनेर । धनेले ती आफ्ना पुराना साथीहरूलाई सम्झियो जसले उसलाई अक्षर चिन्न पढ्न र लेख्न सिकाएका थिए जसले गर्दा गाउमा स्कुल बन्यो ।
केही बेरमै धने झपक्क निदायो । धने चौतारामा बाटुलीसँगै चौतारीमा बसेको थियोे । बाटुलीलाई आफ्नो कुराहरू गर्दै थियोे । ‘हेर नानी मैले गाउँमा स्कुल बनाए मोटर चल्ने बाटो खनाए, अब एउटा अस्पताल बनाउने रहर छ । म त डाडापारीको घाम हुन लागिसके । तिमीले यो काम पूरा गर्नु ।’ बाटुली नि हुन्छ नि भन्दै अस्पताल बनाउने आश्वासन दिई । त्यो चौतारीको बाटो हुदै एउटी युवती चौतारी नीर आएर धनबहादुर दाइ भन्दै बोलाइन । धनेले युवतीतर्फ हेर्दा डाक्टर रोजी गुरुङलाई देख्यो । अनि हत्तपत्त खुट्टा ढोग्न पुग्यो तर रोजीले दिइनन् यसपालि । अनि धनेले आफ्नी नातिनी डाक्टर भएको कुरा सुनायो र यो कुराले डाक्टर रोजी गुरुङ निकै खुशी भइन् । नातिनीको बिहेको निम्तो पनि दियो । अनि डाक्टर गुरुङ बिहेमा आउने र धनेलाई पनि बेलायत लाने बाचा गर्दै आफ्नो यात्रामा निस्किइन । धने एकैछिनमा निद्राबाट ब्युझियो, बिहानको पाँच बजिसकेको थियोे सबैजना बिहेको तयारीमा लागेका थिए ।
कसैले भोजभतेरको लागि तयारी गरिरहेका थिए भने कसैले जन्तीको स्वागतको लागि तयारी गर्दै थिए । बिहेका बाजा बज्न थाले, आगनमा पण्डितले जौ पोल्ने मेसो सुरु गरे । कोही नाच्दै थिए त कोही बेहुली जन्तीलाई हेर्दै त कोहि गफमा मस्त थिए । धने दिलखोलेर नाच्यो । बुढोमान्छे तन्नेरी जस्तै नाचेको देख्दा सबै अचम्मित थिए । जताततै हर्षउल्लास नै थियोे । बाटुली बेहुलीको पहिरनमा झन सुन्दर देखिएकी थिई । धनबहादुरले कन्यादान गर्यो । जन्तीलाई टीका टालो गरेर बिदाई गर्दै थिए । धनेले बाटुलीको हात समाएर मोटरमा चढाएर बिदा गर्दै थियो, बाटुली भक्कानो छोडेर रुन थाली, धनेले पनि आफूलाई थाम्न सकेन बरबरी आसु खसाल्यो । मोटर धुलो उडाउँदै गुड्यो । धनेले आखाले भ्याउन्जेल मोटरलाई हेर्यो । धने एकसुरले हेरिरयो मोटरलाई ।
केही छिनमा धनेले आँखाले धमिलो देख्न थाल्यो, शरीर उसलाई ज्यादै गरुँगो भएर आयो, उसलाई आफ्नै शरीर नै ज्यादा भारी भएर आयो र उसको आँखा पुरै धमिलो भयो । आफूलाई थेग्न सकेन र त्यहीँ ठाउँमा ढल्यो । केही छिनमा एउटी युवतीलाई धनेको हात समाएर भनिन्, ‘हेर्नुस् न धनबहादुर दाइ आउँदा आउँदै ढिला भयो । बिहे त सकिएछ ।’ ‘दाइ अब बेलायत जाउँ’ भन्दै धनेको हात समाएर हिडिन र धने पनि उनको पछि लागेर गयो । ती युवती कोही नभएर डाक्टर रोजी गुरुङ थिइन् जो बेलायती सैनिकको विमान दुर्घटनामा परेर आफ्नो ज्यान गुमाएकी थिइन् । त्यो एक दिन थियोे बाटुलीले जन्म घर छोडी रुदैरुदै र धनबहादुरले संसार छाड्यो ।
तर गाउँमा हल्ला चल्न थाल्यो, बाटुली मुलमा परेर जन्मेको हुना ‘घरमा आउँदा आमैलाई खाई, माइती छोड्दा बाजेलाई खाइ ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)