
प्रबन्धकको कुरा सुनेर पूर्व शिक्षा अधिकृत असहज मान्दै बिदा भए
लघुकथा: अन्तरवार्ता
देवेन्द्र बजगाईं
दुहवी-५
देव बैंक काउन्टरमा अति व्यस्त थिए । एकजना सेवाग्राही (विद्यालय निरीक्षक) आएर उनको प्रसंशा गरे । ‘देव सर तपाई जतिको लगनशिल कर्मचारी पाउन मुस्किल छ । तपाइँको ज्ञान र सेवाभावले सबैलाई सारै सहज र छिटो सेवा उपलब्ध भयो धेरै धेरै धन्यवाद !’
कालान्तरमा उनै सेवाग्राही पेन्सन लिन बैंकमा आए । उही धेरै अघि देखेको बैंकको फ़ुर्तिलो युवा कर्मचारी रहेछन् हालका प्रवन्धक । उनले गरेको सहजता र सहयोगप्रति ती पूर्व सरकारी अधिकृत (विद्यालय निरीक्षक)ले कृतज्ञता जनाए । उनले अझ थपे कुनै पनि कार्यालय/निकायमा योग्य कर्मचारीको छनौट भए सेवा र प्रतिफल स्तरीय हुने रहेछ ।
अन्त्यमा देव (प्रवन्धक)ले भने, ‘सर पच्चीस वर्षअघि खुला प्रतियोगितामा मैले सरकारी स्कूलको प्रा. वि. शिक्षकको लिखित परीक्षामा नाम निकाले । ‘अन्तवार्ता समितिमा तपाईं पनि हुनुहुन्थ्यो । तर मलाई छनौट गरिएन । जबकी म त्यो बेला दस कक्षा सम्मका विद्यार्थीको लागि ज्यादै रुचाइएको स्तरीय होम ट्युटर थिए । अङ्ग्रेजी माध्यमको निजी स्कुलमा पढाउँथे पनि । आफू पढ्दा पनि अब्बल विद्यार्थीको रुपमा सधैँ कक्षामा प्रथम नै थिए ।
प्रवन्धकले अझ रोचक कुरा थप्दै भने, ‘सर ! शिक्षा आयोगको त्यो नतिजाको केही महिनापछि म बैंक सेवामा योग्य छनौट भएपश्चात म निजी स्कुलमा आफ्नो सेवाको अन्तिम दिनको अध्यापन गर्दै थिए ! तपाईं त्यो स्कुलमा कक्षा अवलोकन गर्दै हुनुहुन्थ्यो । बिदा हुने बेला तपाईले मतिर इङ्गित गर्दै प्रिन्सिपल सरलाई भन्नू भो, ‘तपाईको स्कूलको बेस्ट टिचर वहाँ ।’ अनि तपाईंलाई त्यस बेलाको मेरो जवाफ थियो’, ‘सर म त सरकारी शिक्षा आयोगको अन्तर्वार्तामा योग्य नठहरिएकाे शिक्षक ।’
प्रबन्धकको कुरा सुनेर पूर्व शिक्षा अधिकृत असहज मान्दै त्यहाँबाट तत्काल बिदा भए ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



