बालेन ! तिमीले सतीले सरापेको देशमा केही हुन्न भन्ने दाग मेटाउनु

कविताः आशाको दियो

चन्द्रलाल तामाङ
गोलन्जोर ४, सिन्धुली, हालः फर्पिङ, काठमाडौं

हो, पक्कै मेरी आमाले बेलाबेलामा
सुपुत्रहरू जन्माएकै हुन्,
तर दुर्जनहरूको बोलवाला थिए
र, सज्जनको आवाज दबिए ।

किसानले मल पाएको भए,
उत्पादनको मूल्या पाएको भए,
देशमा क्षमता अनुसार
गरी खाने वातावरण भएको भए,
शिक्षा, स्वास्थ्य र रोजगारी सजिलै प्राप्त गर्न सकेको भए,
स्वाभिमान बेचेर अर्काको देशमा हड्डी खियाउन किन पर्थ्यो ?

पशुपतिनाथको कृपा रहेछ
र, मेरी आमा थाकेकी रहेनछिन्,
अर्को पुत्रले विश्वास जगाएको छ,
पक्कै क्रान्ति ल्याउने छ,
यो राजनीति भन्ने क्यान्सरबाट
नयाँ पुस्ता मुक्त हुनेछन्,
देशमा सीप र ज्ञान खन्याएर
आमालाई नयाँ चोली दिनेछन् ।

नथाकोस् तिम्रा पाइलाहरू
बाटैभरी फलामको किला छ,
सुकुवा पोलेर खाएकाहरूले
बालेको आगो बलिरहेको छ,
तिमी जता फर्के पनि
आँखा छोप्नु पर्ने लाज लाग्ने दृष्यहरू,
छरपस्ट देखिनेछ,
फोहोर हटाउने जिम्मेवारी तिम्रो काँधमा छ ।

यत्रो युवाहरूको आशा र भरोषालाई जिम्मेवारी सम्झेर,
देश र जनताको भलो गर्नु आफ्नो एक मात्र कर्तब्य ठानेर,
अघि बढ, समयले तिमीलाई युगौं युगसम्म बचाई रहने छ,
तिम्रो कर्मको हिसाबकिताब इतिहासको पानामा गरिने छ ।

हो, बालेन तिमी परिवर्तनको सम्वाहक हौ,
आशाको दियो हौ,
युवाहरूको ढुकढुकी हौ,
अशक्त, असहायहरूको साहरा हौ,
युगले खोजेको नायक हौ,
थाकेकाहरूको लागि पुन उर्जा हौ,
सुशासन, नैतिकता, कर्तव्य, न्याय र विश्वासको तिमी मूल हौ ।

जुन जोगी आए पनि कानै चिरेको हुन्न,
विश्वास छ तिमीमा,
पीडित, दुखी, स्वाभिमान गुमेकाहरूको दुहाई छ तिमीमा ।

नआत्तिनु, नमात्तिनु, नपात्तिनु, लोभी, लाल्ची र घमण्डी नहुनु,
एकदिन मरेर गए पनि निष्ठा र कीर्ति जन(जनमा भरेर जानु,
यो अन्तर आत्माले दिएको आशिष र विश्वास नडकमकाउनु,
तिमीले सतीले सरापेको देशमा केही हुन्न भन्ने दाग मेटाउनु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button