
म सती बन्न सक्थेँ
मीरा प्रसाईं
नन्दा व्रतको अनुष्ठान राखेर
ॐ नम: शिवायको अखण्ड जाप गरेपछि नै हो
मैले तिमीलाई
-मेरो भन्न पाएको ।
हरेक दिन
प्रेमको समर्पणको,
त्यागको तपस्याको
वेलपत्र चढाएर प्रार्थना गरेँ,
आराधना गरेँ
तिम्रो खुसिको लागि दिर्घायुको लागि,
सफलताको लागि र अविरल प्रेमको लागि ।
खोइ किन हो ?
कस्तो वैराग्य पलायो तिम्रो मनमा,
मेरा निम्ति
तिम्रो प्रेम अनुराग कसैगरी जाग्न सकेन
तिम्रो मेरो सम्बन्ध अनुरागमय हुनै सकेन ।
तिमीले वैराग्य धारण गरेपछि
समाधिमा लिन तिमीलाई
अनुरागमय बनाउन
म कहिले रती भएँ
कहिले कामदेव भएँ ।
गल्ती भयो कि कतै ?
आफैंलाई नियालेँ
आफैंलाई कोसेँ
क्षमा मागेँ
प्रार्थना गरेँ
भाकल गरेँ
तैपनी,
तिमीले मलाई सतीझैं देखेनौ
तिमीले मलाई पर्वतीझैं देखेनौ ।
तिम्रै सतित्वमा रहेर पनि
तिम्रा लागि म
तिम्रो शरीरमा
श्वास जस्तो बन्न सकिन
तिम्रो विचारमा म
भाव र कृया जस्तो बन्न सकिन ।
नारदले भनेका
“आज्काल तिमी
शिवझैं सती वियोगमा तड्पिदै छौ रे
रामझैं सीता वियोगमा छटपटिदै छौ रे ।”
यदि तिमी कविताको पाठक हौ भने,
यति भन्न चाहान्छु ,
-म पार्वती बन्न सक्थेँ
सती वा सीता बन्न सक्थें ।
तर !
तिमी शिव वा राम
कुनै एक पनि बन्न सकेनौ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



