म पनि आमा बन्नेछु
कथा
विनोद अर्याल
एउटा ठूलो फ्रेम भएको चश्मा निकालेर लगाउँदै ज्योतिष बाजे चिना फुकाउँदै नियालेर हेर्छन् । कहिले औंला भाच्दै त कहिले एउटा कलमको सहायताले केही हिसाब गर्दै जान्छन् । ज्योतिषले के लेखे ? के हिसाब गरे ? मैले केही पनि बुझ्न सकिनँ । हुन त म धेरै नै ज्योतिषकोमा गएकी थिएँ तर यसरी हिसाब गरेको मैले कहिल्यै देखेकी थिइनँ । सायद मैले नदेखेकी पनि हुन सक्छ ती हिसाबहरू । हुन त मेरा अगाडि सामाजिक मूल्य र मान्यताका हिसाबहरू घुमिरहेका थिए एकटकले । मेरा मनका ती हिसाबको हल खोज्दै धेरै ठाउँ भौतारिएकी थिएँ म । जब आफूप्रतिको विश्वास घट्दै जान्छ, तब भगवानप्रति विश्वास बढ्दोरहेछ ।
आज भन्दा चौध वर्ष पहिले सत्र वर्षकी थिएँ म । धने दाइ, पुतली भाउजू, विर्खे र सम्झनासँगै गाईगोरु लिएर जंगल गएकी थिएँ म । बुवाले हिउँदमा तराई जाँदा मामाघरबाट माली गाई ल्याउनु भएको थियोे । धेरै दूध दिने, हेर्दा पनि सुन्दर र शरिरमा सेता काला थोपाहरू । यसरी मिलेर बसेका छन् कि ऊ एउटा परी हो र ऊ मलाई असाध्यै मन पर्छ । माली गाईकी एउटी बाच्छी पनि छे । ऊ निकै ठुली भैसकेकी छे । आमाको साथ छाडेर हिँड्ने भैसकेकी छे । खेतका गराहरूमा गाईगोरूहरू मज्जाले मीठो मानिमानी चरेका थिए दिनभर । गाई-गोरू उकालो लगाउने समयमा सम्झनाले मलाई जिस्काउँदै ‘तेरो त बिहे हुन लागेको छ रे नि, अब त तँबिना यो जंगल नि उजाड लाग्ने भयो हामीलाई, नबिर्सेस् है’ भन्दै अझै केही कुराहरू थप्दै थिई ।
म छाँगाबाट खसेकी जस्ती भएँ । मेरो बिहे, त्यो पनि मलाई नै थाहा छैन । मनमा कस्तो नरमाइलो लाग्यो । मेरा आँखाबाट आँसु रसाउन थाले । म त्यहि जंगलमा रुन थालेँ । पुतली भाउजूले सम्झाउँदै ‘नरूनुस् नानी ! बिहे सबैको हुन्छ, म पनि त बिहे गरेर आएकी हुँ’ भन्दै थिइन् । म त्यही बसेको ठाउँबाट जुरुक्क उठेर रुँदैरुँदै घर आएँ । घरमा आउँदा सबैकुराको तयारी भैसकेको थियो । कसैले रोटी पकाउँदै थिए त कसैले केहि कुराको जोहो गर्दै कोहीले घर सिगार्दै थिए । बल्ल थाहा भयो, मेरो बिहे दुई दिनपछि रहेछ । म रिसाएर खाना नखाई सुतिदिएँ । बाआमालाई दोष दिँदै सुतेँ । आमाले कति प्रयास गर्नु भो खाना खुवाउन । तर मैले कोठाको जस्केल नै खोलिनँ ।
बिहेको दिन मान्छेहरूको भिडभाड थियोे । मैले मेरो घरमा पहिलोपटक यति धेरै मान्छेहरू जम्मा भएको कहिल्यै पनि देखेकी थिइनँ । मेरो घर पनि के भन्नु र केही क्षणमै माइती बन्दै थियो । आफूले जन्म लिएर बालापनका ती अमुल्य समय व्यतित गरेको घरलाई आज छाडेर जानुपर्नेछ, विरानो मान्छेको घरमा जसलाई मैले आजसम्म देखेकी पनि छैन । यो घरमा म जन्मिएँ, हुर्किएँ, धेरै कुराहरू सिकेँ र घरले मलाई धेरै कुराहरू सिकायो । वास्तवमा यो मेरो घर होइन, मन्दिर हो जहाँ भगवान् रूपी मेरा बाआमाहरू बस्नुहुन्छ । जसले केही नसोची सानो विश्वासको भरमा आफ्नो जीवनको एक अभिन्न अंगलाई कसैको हातमा थमाउँदै हुनुहुन्छ ।
डोली चडाएर मेरो अगाडि अगाडि पञ्चेबाजा बजाएर हिडाउँन थाले । जति जति अगाडि बड्छ, त्यो सनाइको धुनले मन झनै पोल्दै थियो मेरो मन । मलाई उन्माएपछि बुबा रुँदै बस्नुभो रे केही पनि खानु भएन रे । मैले बुबा रोएको कहिल्यै पनि देखेकी थिइनँ । रुनुभएछ मलाई सम्झेर भक्कानो छाडी र म पनि ।
दिनहरू बित्दै गए । हिजोसम्म विरानो लाग्ने त्यो संसार आज आफ्नै लाग्न लागेको थियो । कसैको छोरालाई मैले आफ्नो पतिको रुपमा स्विकार गरेकी थिएँ र उहाँले पनि मलाई पत्नीको रुपमा । दिनप्रतिदिन हामीबीच कुनै पर्खाल रहेन र यो नरहनुको एकमात्र कुरा थियो प्रेम । मैले जीवनमा आँखा चिम्लिएर पहिलोपटक प्रेम गरेकी थिएँ मेरो पतिलाई या भनौ हामी दुवैले पतिपत्नीको रुपमा एकअर्कालाई स्विकारेर बसेका थियौं । सानोमा घरबाजी खेल्दा गोरेलाई पति र म उसकी पत्नी बनेर सानो हरियो स्याउलाको घरबनाई खेलेका थियौँ । आज त्रिचनलाई आफ्नो पति रुपमा राखेकी छु ।
त्रिचन मालपोतको खरदार । हेर्दा सोझा गहुँगोरो वर्णका उज्याला र म पनि कम थिइनँ । त्रिचन मलाई सधैँ भन्ने गर्थे, ‘तिमीलाई पाउनु मेरो भाग्यको कुरा हो, तिमी सधै मुस्काराइरहनु, मुस्कुराउँदा तिमी संसारकै एक सुन्दर युवतीको रुपमा देखिन्छौ स्मृति ।’ श्रीमानको मायाको कमी थिएन । कहिल्यै नरिसाउने, गल्ती गर्दा पनि केही नभन्ने, यस्तो मान्छे म पहिलोपटक देखिरहेकी थिएँ ।
दिनरात सँगसँगै । हप्ता, महिना र वर्षहरू बित्न लागे । म देउरानी बाट जेठानीमा पुगेकी थिएँ । मलाई श्रीमानको मायाले सबैकुरा पुगेको थियो तर पनि कोख भरिएको थिएन । या भनौ मभित्र एक संसार हुर्किन सकेको थिएन । म पनि संसार देखाउन चाहन्थेँ तर संसार देखाउने त्यो कोख मेरो भरिएको थिएन । प्रयास पनि नभएको होइन तर हरेक सहवासले मेरो यो बाँझो कोख भर्न सकेका छैनन् । मेरो नारीत्वमा या मेरी पतिको पुरुषत्वमा प्रश्न उठेका छन् । यो समाजले हामीलाई औंला ठडाएर प्रश्न तेर्साइरहेको छ या भनौ सन्तानहिनको दवावले थिचिएका छौं हामी ।
घरमा म बेहुली बनेर आउँदा देवर बाह्र वर्षका थिए । आफ्नै भाइजस्तो लाग्थ्यो । अहिले उनी जवान भैसकेका छन् । बिहे गरिसके र सन्तानले पुर्ण छन् । उनको एउटा छोरा छ, निकै मायालाग्दो । हेर्दा गमक्क परेको, जतिबेला पनि हाँसिरहने । ऊ बामे सर्ने भैसकेको थियोे । म आँगनमा उसलाई खेलाउँदै थिएँ । एकाबिहानै उठ्नु परेको रिस रहेछ । देउरानी रिसाउँदै आएर आँगनमा खेलिरहेको बच्चालाई समाउँदै ‘बच्चा खेलाउने भए आफै जन्माएर खेलाउने, सकिन्न भने अर्काको बच्चालाई यसरी छुन नि पाइदैंन’ भनी । उसको यस्तो तीखो वचन सुन्दा त म किन बाँचिरहेछु जस्तो लाग्यो । कुनै एउटा ठूलो ढुंगा आफ्नो टाउकोमा आफै बझारेर प्राण त्याग गरुँ जस्तो लाग्यो । आखाँबाट आसुका भेल बग्यो अनायासै । दिनभर मन यसै विरानिएको थियो, के सोचिरहेको थियोे थाहा थिएन । भगवान्, तिमीलाई प्रश्न गर्न मन छ, ‘किन मलाई पुर्णताभित्रको अपुर्ण बस्तुको रुपमा सृजना गर्यौ ?’ न त भगवान् नै जवाफ दिन्छ न त घर छिमेकीका ती तिखा शब्द प्रहारहरु आउन रोकिन्छन् । घरमा अर्को बिहेको कुरा पनि चलेको थियो रे । त्रिचनले नमानेपछि कुरा हराएर गएको रे । को नाता पर्नेले केटी खोजेर ठिक्क नै पारेको थिए रे । यस्तै यस्तै कुरा सुन्दा झन् मन भक्कानिएर आउँछ । केही क्षण रुन्छु, कराउँछु अनि आफ्नै भाग्यलाई दोष दिन्छु र मन बुझाउँदै बस्छु ।
साँझ अफिसबाट त्रिचन आए । सायद सबै कुरा बुझेर होला, सम्झाउँदै सानो स्वरमा ‘स्मृति ! यहाँ न तिम्रो गल्ती छ न मेरो । यदि हाम्रो भाग्यमा लेखेको भए समय आएपछि त पक्कै हुन्छ होला । तिमी बिनाकारण आफुलाई सकिरहेकी छौ । कहिले व्रत बस्छौ । कहिले कुन भगवानको पुजा गर्छौ । सन्तान प्राप्तिको लागि जसले जे भन्छ त्यहि मान्छौ । तिमीलाई त मैले केही भने जस्तो लाग्दैन । किन तिमी यस्तो गर्छौ ? अब हामी उतै सदरमुकाम बस्ने । तिमीलाई पनि सानोतिनो जागिर खोजिदिउँला ।’ केही भन्दै थिए उनी तर मैले उनलाई फेरि बिहे गर्न आग्रह गरेँ तर उनले पनि एउटा सुझावको पर्खाल ठड्याइदिए, ‘तिमी परपुरूषसँगको सहबासबाट आफ्नो कोख पुर्ण गर । बाबुको जिम्मेवारी म लिन्छु ।’
हामी एकाएक मौन भयौं । हामी दुवैले आआफ्नो नारीत्व र पुरूषत्वमा शंका गरिरहेका थियौँ अनायासै । जसरी म पिरोलिएकी छु, त्यसरी उनी पनि त पिरोलिएका होलान् नि । भाइको छोराको न्वारानमा बज्ने पञ्चेबाजाको धुनले कति पालेको होला उनलाई पनि । उनी देखाउँदैनन् र मात्र, उनको पनि त मन होला नि । हरेक दिन अफिसबाट फर्केर आउँदा घरमा रहेको बच्चालाई भनेर चकलेट किनेर ल्याइदिने कस्को पो मन हुन्न होला र ?
‘स्मृति’ भन्दै झक्झकाउँदा पो थाहा भयो, म आफ्नै सोचमा डुबिरहेकी रहिछु । त्रिचन ज्योतिषको कुरा एकटकले सुनिरहेका थिए । ग्रहले दुख दिएछन् । शनिसंकटाले अब छाड्न लागेको रैछ । अब सबै कुरा राम्रो हुन्छ । चिन्ता नगर्न भन्दै चिना बेर्न लागेका थिए । मैले ‘हामीलाई सन्तान लेखेको छ कि छैन’ भन्दै प्रश्न गरेँ, ज्योतिषले चिनामा आँखा लगाउदै भने, ‘लेख्न त तीनवटा लेखेको छ तर शनिको दोषले दुईवटा हुन्छ । अब हुनेले तिमीहरूको स्याहारसुसार गर्छन्, यदि तिमीहरूले गर्यौ भने ।’
दुई सन्तानकी आमा बन्ने सपना देखाइदिए । केही व्रत तीर्थ गर्नुपर्छ कि भनेर प्रश्न गर्दा ठट्यौली पारामा तिमीहरूको केश पाकेको छ र ? खै ! त्यसो त देख्दिन कि मेरो चश्माको पावर कम बएछ भन्दै जवाफ दिए । जे गर्नुछ पछि गर्ने अहिलेलाई केही गर्नु पर्दैन भन्दै चिना बन्द गरे । मनमा कैयौं प्रश्नहरू थिए । पिडाहरू थिए । तर, पनि आमा बन्ने सपनाले सबैकुराहरु एकाएक हराएर गए ।
खोला किनारका फोहोरलाई खोलामा आउने भेलले बगाएजसरी सबै पिडाहरु बग्दै गएको देखिकी छु मैले आज । र, ती खाली बगरमा हरिया बोटहरू पलाउनेछन् । किनारलाई हराभरा पार्नेछन् । मेरो जीवन पनि हराभरा हुनेछ । र, म पनि आमा बन्नेछु ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)