प्रिय ! आउ प्रेमका कुरा गरौं

मीरा प्रसाईं

जूनेली रातमा
मायाको बर्को ओढेर
मुटुमा लेखिएको आफ्नो नाउँ सुन्न
पालैपालो छातीमा शिर राखी
आलिङ्गनवद्द हुँँदा
कस्तो सुनिन्छ होला हगि
मुटुमा लेखिएको आफ्नो नाउँ ?

मेरो छातीमा लेखिएको छ तिम्रो नाउँ
मेरा आँखामा छापिएको छ तिम्रो तस्विर
भन्लान् दोबाटोमा भेटिनेहरुले भन्न त
तर !
नठान्नु यी कहावतलाई प्रेम
यी त सबै भन्ने कुरा न हुन् ।

सुन,
आज म तिमीलाई केही भन्छु ।

वास्तवमा प्रेम त त्यतिखेर हुन्छ
जतिखेर कसैलाई देख्दा तिम्रो मस्तिष्कमा
‘लभ हर्मोन’ उर्लिन्छ
सावने झरी झैँ
अनि हुन्छ नविन सम्बन्धको आभाष
मनले हरपल उसैलाई खोज्छ
प्रियहरुमाझ पनि सर्वप्रिय उही लाग्छ ।

उसलाई देखेपछि यस्तो लाग्छ
जस्तो कि,
जीत्नभन्दा हार्न मन लाग्छ
हार्नभन्दा जीत्न मन लाग्छ
हार्न पनि मन्जुर छ
जीत्न पनि मन्जुर छ
दोधारमा हुन्छ मन-
हारौँ कि जीतौँ ?

भासोप्रेसिन
एड्रीनालिन्
डोपामाईन
अक्सिटोसिनको बाढी
यति तीब्र मात्रामा उर्लिन्छ कि
मस्तिष्कको उर्लाबारीमा,
लाग्छ
खरायो झैं बुरुक्क-बुरुक्क
उफ्रिएर जाउँ, अघिल्तिर
र, राखौं प्रस्ताव- प्रेमको ।

कसैलाई देख्दा मलाई जस्तै
यस्तै ( यस्तै भयो भने तिमीलाई पनि
तिमी उसँग प्रेममा पर्यौ
यति बुझ्नु-
तिम्रो र उसको
प्रेम र रोमान्सको केमेस्ट्री मिल्यो ।

हावामा देखिदैन प्रेम
देखिदैन पानीमा
भेटिदैन प्रकाशमा
देखिदैन कुनै भौतिक अस्तित्वमा
तैपनि सबैथोक लाग्छ त्यो दुई अक्षर
त्यसैले दृश्यम् नभएरै पनि सायद
प्रेममा जीवन बाँचेको हो
जीवन बाँच्ने भएर प्रेम प्यारो लागेको हो ।

प्रिय मनोरमा
कस्तो हुन्छ मलाई,
तिमीलाई भनेँ मैले
तिमीलाई पनि त्यस्तै-त्यस्तै हुन्छ भने
आउ जून ताराको आशीर्वाद लिदैँ
कुरा गरौं, तिमी र म
-दिर्घायु प्रेमका
-रोमान्टिक प्रेमका ।

(प्रिय साथी !
तपाईं पनि मीराजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । तपाईंकै लागि हो कलाक्याफे । र, nepalnamcha@gmail.com हाम्रो इमेल ठेगाना हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button