साइकलले रातारात सेलिब्रेटी बनाइदियो
यो यात्राको भोगाइ म सामान्य शब्दमा व्याख्या गर्न सक्दिन । तर यत्ति भन्न सक्छु, हामीहरुले यो देशको माटोलाई अनि सुन्दरतालाई महाकालीदेखी मेचीसम्म साइकल पेलेर नजिकबाट हेरेका छौं । हामीलेजस्तो अनुभव लिने मौका विरलै मान्छेले पाउनेछन् ।
मुक्ति पान्डे
महाकालीको दोधाराचाँदनी पुलदेखि मेचीको अन्तुडाँडासम्म साइकलमा दौडिनु कुनै बहादुरी त थिएन मेरो विचारमा । तर, हामी पर्यटनकर्मीलाई फुर्सद पनि जुरेको अनि बन्दाबन्दीको सुरुदेखि नै साइकलमा समय बिताउन थालेकाले छुट्टै जोश थियो र हतारहतार पुष्कर शाह दाजुको साइकल अभियानमा वा भनौ नेपाल साइकल उत्सव २०७७ मा जोडिने सामुहिक निर्णय गरियो । तर, यो अभियानमा जोडिन सानोतिनो हिम्मत र साहसले चाहिँ पुग्ने थिएन ।
महामारीको बेला घरबाट झन्डै १ महिना बिदा लिन, घरपरिवारलाई बुझाउन अनि तिहारको बेला अरु घर फर्किन्छन् आफुले घर छोडेर हिँड्न सहज थिएन । तैपनि साथीहरुसहित सबै कुरा मिलाएर शिरमा हेल्मेट अनि २६ दिनको लागि लुगाफटो बोकेर राष्ट्रिय झन्डा पिठ्युँमा हालेर नेपाल पर्यटन बोर्डको आँगनबाट कलंकी हुँदै आदरणीय पुष्कर दाजुको पछाडि लागेका हामी अनेक दुखकस्ट झेल्दै आफ्नो गन्तब्य पुगेर फर्किएको आज दुई दिन बितिसकेछ ।
‘साइकल चढौ, स्वस्थ रहौ अनि आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरौ’ भन्ने सन्देश लिएर विभिन्न गाउँ, शहर, बस्ती अनि समुदायमा हामी पुग्ने क्रममा स्थानीयले गरेको माया, स्वागत अनि सत्कारले हाम्रो यात्रालाई महत्वपूर्ण बनाइदियो । अझ स्थानिय संचारमाध्यमले त झनै महत्वका साथ प्रचार गारिदियो । सामान्य सन्देश लिएर एउटा रमाइलो अनुभवका लागि साइकलमा हिँडेका हामीलाई यो यात्राले रातारात सेलिब्रेटी नै बनाइदियो ।
तिहारको भाइटिका अनि दिदीबहिनीलाई रुवाउँदै हिँडेका हामी बर्षको एक दिन दिदिबहिनीको हातबाट माला लगाउँथ्यौ । तर, यसपाली हामीलाई देशैभरिका बुवाआमा, दिदीबहिनी र दाजुभाईले २६ दिन माला अनि खादा लगाइदिनुभयो । हाम्रो खुशीको सिमा दिनदिनै चुलिदै गयो । हरेक १० किलोमिटरमा हामीलाई माला, टिका, खादा, जुस र मिनरलवाटरले पर्खिरहेका हुन्थे ।
यो यात्राको भोगाइ म सामान्य शब्दमा व्याख्या गर्न सक्दिन । तर यत्ति भन्न सक्छु, हामीहरुले यो देशको माटोलाई अनि सुन्दरतालाई महाकालीदेखी मेचीसम्म साइकल पेलेर नजिकबाट हेरेका छौं । हामीलेजस्तो अनुभव लिने मौका विरलै मान्छेले पाउनेछन् । यस्तो अबसर जुटाइदिने प्रिय दाजु अनि यो राज्यको सम्पत्ति धर्तीपुत्र नेपाली साइकल आन्दोलनका नायक पुष्कर शाहप्रति आभारी छौ । र, सँगै हामीलाई सहयोग गर्ने नेपाल टुरिजम बोर्ड र बोर्डका कर्यकारी अधिकृत धनन्जय रेग्मी, टान, एनएमए र नाटा सबैलाई धन्यवाद भन्न चाहन्छौ । र, हामीलाई धेरै धेरै माया गर्ने हरेक शहरका महान मनहरुप्रति सधैंका लागि ऋणी भएका छौं ।