महाप्रस्थान उनको, जसले एक खुट्टाले एक्लै साइकलबाट मेची-महाकली गरेका थिए
कोरोना महामारीले हामी सबै साइक्लिस्टहरुका प्रिय साइक्लिस्ट यमलाल रसाइलीजीलाई समयभन्दा नै अगाडि चुँडेर लग्यो ।
साहसिक साइक्लिस्ट यमलाल रसाइलीको महाप्रस्थान
सतिश निरौला
फोटोः अशोक सिलवाल, चिसापानी, कर्णाली
हिजो दिउँसो यमलालजीको मोबाइलमा फोन गरेँँ । उहाँको भाइले फोन उठाउनु भयो । उहाँको अवस्थाको जानकारी लिएँ । भेन्टिलेटरमा राखेर उपचार भइरहेको र धुलिखेलबाट मगाएको रेम्डिसिभर आइपुग्दै गरेको जानकारी दिनुभयो । मैले स्वास्थ्यलाभको कामना गर्दै उहाँसँग छुट्टिएँ ।
हिजो दिनभर नै उहाँको स्वास्थ्यको चासो राख्दै साथीहरूको फोन आइरहेको थियो । काठमाडौमा रत्न पासासँग कुरा भयो । उदयपुर गाइघाटबाट जितेन्द्र रोइलाले फोन गर्नुभयो । नेपालगन्ज साइक्लिङ्ग क्लवसम्बद्ध साथीहरू धेरैले उहाँको स्वास्थ्यको चासो राख्नुभयो । हिजो दिनभर मात्र होइन, राती सुदिरपश्चिमका साइक्लिस्ट भरतविक्रम शाहसँग लामो बातचित भयो, यमलालजीकै सन्दर्भमा । तर, बिहानै नेपालगन्ज साइक्लिङ्ग क्लवका अध्यक्ष गगन थापाजीले फोन गरेर यमलालजीको महाप्रस्थानको कुरा सुनाउनु भयो । शरीर काँप्यो । तर, नपत्याइ नहुने सत्य थियो यो खबर । फेरि यमलालजीको मोबाइलमा फोन लगाएँ । उहाँको दिदीले उठाउनु भयो । उहाँसँग रोदन र पीडासहितको सम्वाद मैले धेरै बेर गर्न सकिनँ । मेरो आँखाबाट पनि एकजना अत्यन्त निकटतम मित्र गुमाउँदाकाुे पीडा छचल्कियो । मेरो पनि बोली अबरुद्ध भयो । मुस्किलले दिदीलाई धैर्य धारण गर्न अनुरोध गर्दै मैले फोन काटेँ ।
यमलाल रसाइली लम्की कैलालीका स्थायी बासिन्दा हुनुहुन्थ्यो । सानैमा उपचार अभावले नै उहाँको एउटा खुट्टा गुमेको थियो । तर, उहाँको साहस र दृढ इच्छा शक्तिले उहाँ एउटा अब्बल पारा साइक्लिस्टका रूपमा चिनिनु हुन्थ्यो । साइक्लिङ्गकै कारण चेनले जोडेको सम्बन्ध थियो यमलालजी सङ्ग मेरो । नेपालगन्जमा नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गर्दै आइरहेको टुर डे ठाकुरद्वार होस् वा कोरा वा मेयर कप सबै इभेन्टमा हामीलाई उहाँको साथ मिलेको थियो ।
कैलालीदेखि रारासम्म एउटा मात्र खुट्टाबाट, त्यो पनि एकल साइकल यात्रा, मेची-महाकाली साइकल यात्रा, देशभर हुने प्राय सबै साइक्लिङ्गका मुख्य इभेन्टदेखि भारतमा हुने गरेको थुप्रै इभेन्टमा समेत उहाँले सहभागिता जनाउनु भएको थियो । जहिल्यै भेट हुँदा पनि आफ्नो इच्छा उहाँले सुनाउनु हुन्थ्यो, अपांगहरुको लागि माउन्टेन बाइकिङ्ग प्रशिक्षण र एउटा रास्ट्रिय स्तरको ठुलो प्रतिस्पर्धा आयोजना । तर, निष्ठुरी समय र कोरोना महामारीले हामी सबै साइक्लिस्टहरुका प्रिय साइक्लिस्ट यमलाल रसाइलीजीलाई समयभन्दा नै अगाडि चुँडेर लग्यो ।
भावपुर्ण श्रद्धासुमन ।