
मंगलबजारकी लक्ष्मी साइकल चढ्नुअघि थानकोट कटेकी थिइनन्
अशोक सिलवाल
मंगलबजार, ललितपुर ।
भखैरै पाल्पाको रानीमहलबाट फर्केकी छिन् उनी र उनको साइकल । उनी अर्थात साइकले लक्ष्मी श्रेष्ठ । पोहोर पनि गएकी थिइन् । फेरि यसपटक पनि किन ? भन्छिन्, ‘यो ठाउँ एकदमै लाग्छ । मलाई रानीमहल आउन धित् मरेकै थिएन । त्यसैले फेरि आएँ’, उनले भनिन् ।
उनले साइकल चलाउन सुरु गेरको सन् २०१८ बाट हो । रोचक के भने साइकल चढ्नुअघि उनी थानकोटसमेत कटेकी थिइनन् । ‘हाम्रो नेवार कम्युनिटीमा एकदम गाह्रो छ, घरबाट बाहिर आउन । तर, म घरबाट बाहिर आएँ । मेरो श्रीमानले पनि मलाई एकदम सपोर्ट गर्नुभयो’, उनले भनिन् ।
उनको घर ललितपुरको मंगलबजार हो । त्यहाँ प्राय साइकल र्याली भइरहन्थ्यो । उनले त्यो देखिरहेकी थिइन् । ‘त्यो देख्दा मलाई एकदम रमाइलो लाग्थ्यो’, उनले सम्झिन्, ‘त्यही लहलहैमा लागेर साइकल चढ्न सुरु गरेको हुँ । श्रीमानले साइकल पनि किनिदिनु भयो ।’
उनले केही समयअघि मात्र झन्डै एक महिना लगाएर महाकालीदेखि मेचीसम्म साइकल यात्रा गरिन् । त्यसअघि साइकलमै पोखरा गइन् । अझ त्यसअघि लुम्बिनी गएकी थिइन् । सिन्धुलीबाट जनकपुर हुँदै गढीमाई पनि पुगिन् ।
‘साइकल चलाउँदा समय वचत हुन्छ । स्वास्थ्य पनि उत्तिकै राम्रो’, उनले थपिन्, ‘त्यति मात्र कहाँ हो र ! पैसाको पनि वचत हुन्छ र वातावरणलाई स्वच्छ बनाउन पनि मद्धत पुग्छ । त्यसैले यो एकदम महत्वपूर्ण छ ।’
‘म श्रीमानमा निर्भर थिएँ । जहाँ जान पनि उहाँले पुर्याइदिनु पथ्र्यो । उहाँको आफ्नै काम हुन्थ्यो तर मेरो कारणले निकै डिस्टर्व हुने उहाँलाई । त्यसले गर्दा उहाँलाई धेरै टेन्सन हुन्थ्यो । र, मलाई पनि । मान्छेको आ–आफ्नो टाइम सेड्युल हुन्छ नि’, साइकल चढ्नु सुरु गर्नुअघिका दिन सम्झँदै उनले भनिन्, ‘अहिले त म एकदम फ्रिडमवाला लाइफ बिताइरहेको छु । मलाई कसैले कुर्नुपर्दैन । मैले कसैलाई कुर्न पर्दैन । आफ्नो सुरले जो, जहाँ गए पनि भयो ।’
उमेर ५५ तर हेर्दा बचपन टाइपकी ५३ को हाराहारीमा पुगेकी उनी भन्छिन्, ‘सकेको दिनसम्म सकेसम्म साइकल नछोड्ने मेरो अठोट छ ।’
साइकल चढ्नु र साइकल चढेर जहाँ–जहाँ पुगिन्छ, त्यहीँबाट या त भिडियो या फोटोहरु फेसबुकमा ‘ठाउँको ठाउँ’ पोस्ट गर्नु उनको आदत भइसकेको छ । र, अर्को आदत भएको छ यस्तो सन्देश दिनु, ‘सबैले साइकल किनौं । साइकल चढौं ।’