
केटाहरुलाई साथी मान्ने चलन थिएन
साथी सबैभन्दा माथि
सुशीला शर्मा
प्रिय शब्द साथी । कति सजिलो भन्न र संगत गर्न पनि । सामान्यतयाः साथी भन्ने बित्तिकै एउटै ठाउँको, एउटै उमेर समूहको व्यक्ति व्यक्तिबीचको मित्रता या घनिष्ठता भन्ने बुझिन्छ ।
जब एउटा बच्चा जन्मेर खेल्न, कुद्न, बोल्न शुरु गछर्न्, यी सब साथीसँगसँगै गर्न थाल्दछन् । शुरुमा बालबालिकाको लागि आमा, बुवा, दाजु, दिदी, भाई, बहिनीहरु साथी हुन्छन् । हुर्कदै जाँदा सामाजिकीकरणको सिलसिलामा नाताभन्दा बाहिरको अर्को गहिरो नाता ‘साथी’सँग बन्न पुग्छ ।
दीगो र स्थायी साथित्वको लागि एउटै उमेर समूहका एउटै विचार र भावना मिल्ने हुनुपर्छ भन्ने मान्यता छ । विचार, भावना, ठाउँ, वातावरण मिलिसकेपछि बर्ग पनि मिल्न गईहाल्छ । उल्लिखित मित्रताले एउटै उद्धेश्यको लागि सहकार्य गर्न मद्धत पुर्याउँछ । हुन त हामी हाम्रो देशका राजनीतिक दलका नेताहरुको एउटै विचार र उद्धेश्य प्राप्तीका लागि साथी साथी भएरै क्रान्तिसम्म गरेका तर शासन सञ्चालनको क्रममा त्यो ‘उद्धेश्य’भन्दा आफ्नै स्वार्थतिर बढी लाग्दा साथीसँगको सहकार्य र मित्रता नै टुटेको देखेर निराश पनि छौं । असलमा त्यो साथीत्व थिएन कि ?
खैर साथी आत्मीय शब्द हो अनि प्रिय सम्बन्ध पनि हो । खुल्नलाई, भुल्नलाई, डुल्नलाई साथी ने भएनन् भने के जीउनुको के अर्थ ? पुरुषहरु महिलाको तुलनामा साथी संगतको क्रममा बढी नै उदार भएको पाईन्छ । यो हाम्रो सामाजिक संरचनाले पुरुषलाई दिएको स्वतन्त्रता हो भन्दा फरक पर्दैन् । फेरि साथी भन्ने वित्तिकैै पुरुष–पुरुष अनि महिला–महिलाबीचको मित्रतालाई नै सम्झिईन्छ र त्यही नै अभ्यासमा पनि छ । महिला र पुरुष, केटा र केटी पनि साथीमा गनिन्छन् भन्ने चलन र व्यवहार अझै पनि अभ्यासमा आईसकेका छैनन् ।
व्यक्तिगत रुपमा मैले मेरै साथी संगतबारे कुरा गर्नुपर्दा म स्वभावत्ः अन्तर्मुखी मान्छे । झन् सानै छँदा अलि डराउने, कसैले केही भनिहाले पनि रोइहाल्ने प्रकृतिको । पढाई लेखाईमा पनि खासै तेज नभएको र पढ्नको लागि मेहनत गर्नुपर्छ भन्ने बुद्धि पनि समय घर्किसकेपछि आएको । विद्यालय पढ्दा साथीहरुमाझ त्यति खुल्न सकिएन् । तै पनि एक दुईजना साथीसँग नजिक भईयो । अरु धेरै जनासँग भेट्दा बोल्नेसम्मको मात्र सम्बन्ध रह्यो । ती साथी सबै महिला साथी नै थिए । अनि साथी भनेर केटाहरुलाई मान्ने चलन पनि थिएन । सोच विचार नै त्यस्तै थियो, सिकाई नै त्यस्तै थियो । केटा विद्यार्थी साथीसित त बोल्न नै संकोच लाग्ने । त्यही पनि पर्खाल, बाटोतिर केटा र केटीका नाम चकले लेखेको भने हेर्दै र वेईज्जत भएको महसुस गर्दै हिँड्नुपर्ने । धन्न अहिलेका बालबालिकाहरुमा केटा केटी नभनेर संगै घुलमिल हुने बोल्ने, छलफल गर्ने भएका छन् ।
जब कलेज पढ्न थालियो साथीहरु बढ्न थाले । प्रमाणपत्र तह पढ्दा चार पाँच जना साथीहरुसंग विशेष घुलमिल भयो । ती मध्ये अहिलेसम्म निरन्तर घनिष्ठ सम्बन्ध भएकी साथी छिन् । उनी अहिले चितवनमा छिन् । हाम्रा घर परिवार, सुख, दुःख हाँसो मजाक र देश दुनियाँ, साहित्य समाजबारे कुरा हुने गर्छ । ती साथीले आफैं मै हुँ त्यो साथी भन्ठान्नेछिन् । म नाम भन्दिनँ । स्नातक पढ्दा पनि मैले अरु नयाँ साथी बनाएँ या बने । ती केही साथीहरुमध्ये निरन्तर आजसम्म पनि आत्मीय भईरहेका दुईजना छन् । हाम्रा विहेवारी, घरजम बालबच्चा हुर्किसक्दा पनि हामी भेट हुँदा या फोनमा गफ गर्दा उही पुरानै अवस्थामा फर्किन्छौं अनि हाँस्छौं रमाईलो गर्छौ । स्नातकोत्तर जाँच मात्र दिन कलेज गएको हुनाले त्यो तहमा कुनै नयाँ साथी बनाउन सकिएन ।
जब जागिरको सिलसिला शुरु भयो, मैले चार पाँचवटा संघसंस्थामा काम गरे । मेरो कामको प्रकृति नै समुदायमा घुलमिल हुनुपर्ने हुनाले समूहमै बसेर अधिकांश समय काम गरियो । यो अवधीमा झन् साथी शिक्षा भन्दै सचेतनात्मक कार्यहरु गर्दा साथीको महत्व झन गहिरो भयो । यी संघ संस्थामा काम गर्दा नै मैले आफ्नो व्यक्तिगत स्वभावमा बदलाव ल्याउनुपर्छ भन्ने ज्ञान पनि हाँसिल गरे । आवश्यक परेको ठाउँमा बोल्नुपर्ने, समस्याहरुलाई लिएर वकालत गर्नुपर्ने । विभिन्न व्यक्ति र संस्थाहरुसंग समन्वय गर्नुपर्ने यसको लागि त समूहमा भएका राम्रा र फरासिला साथीहरुबाट नसिकी धरै थिएन् । यो सामाजिक कार्यको दौरान पनि मैले मसंग निकै घनिष्ठ भएका करिब सातजना जति साथी कमाएको छु । जोसंग म निरन्तर सञ्चार, सहयोग, माया, सद्भाव र छलफलमै रहेको हुन्छु । हामी आफ्नो अनुकूल र प्रतिकूलताको स्थिति अनुसार एकअर्कालाई सहयोग गर्न तत्पर रहने गर्छौ ।
म कहिलेकाँही कलम पनि चलाउने गर्छु । यी चलेका कलमहरुमा मेरा यिनै नजिकका साथीहरु पहिलो पाठक भएर मलाई हौसला दिइरहेका हुन्छन् ।
मेरा विद्यार्थीकाल, जागिरेकाल भन्दा बाहेक पनि एक साथी छिन् । ती साथी र म एउटै जिल्लाका हौं । पत्रकारितासम्बन्धी सात दिने तालिम कार्यक्रममा हामी नजिकका भएका थियौ र ती साथीले नै मलाई हामी साथी बनौ न भनेकी थिईन् । यो करिब २६ वर्ष अगाडि होला । त्यसैबेलादेखि आजसम्म हामी निरन्तर साथीकै रुपमा छौं । निकै मिहिनेती र सचेत अनि आफ्ना हक अधिकारप्रति लड्दै, संघर्ष गर्दै आफ्नो एउटा छुट्टै पहिचान पनि बनाईसकेकी ती साथी मेरो साथी मात्र नभएर मार्गदर्शक पनि बनेकी छिन् । मेरा सकारात्मक कामलाई मात्र नभएर मेरा कमजोरीलाई पनि छर्लङ्ग भनिदिने र उचित सल्लाह पनि दिने ती साथी यथार्थमा नजिकको साथीको भूमिका निर्वाह गरिरहेकी छिन् । बीचमा कतिपय साथीहरुसंग आ–आफ्नै काम र बासस्थानको कारणले भेटघाट र कुराकानी हुन नसके पनि प्रविधले दिएको माध्यमलाई उपयोग गर्दै भएका साथीहरुसंगको मित्रता नियमित भईनै रहेको छ ।
म त साथीसँगको सकारात्मक संगतले मख्खै छु । धेरै कुरा सिकिरहेछु अनि अझै सिक्नेछु साथीहरुबाट । जीवनको उत्तराद्र्ध त झन् साथीहरुसंगै मिलेर, सामाजिक कार्य गर्दै काट्न सकियो भने त जीवनको औचित्य पनि सकारात्मक नै हुनेथियो होला । यस्तो पो लाग्छ मलाई त ।
तपाईहरु के भन्नुहुन्छ साथीहरुको बारेमा ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, ‘साथी सबैभन्दा माथि’ नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ हो । तपाईं पनि आफ्ना साथीबारे लेख्नुस् र पठाउनुस् nepalnamcha@gmail.com मा । यो स्तम्भ तपाईंको हो अनि तपाईंको साथीको हो । धन्यवाद । सम्पादक)

