
बिचरा काग-कागिनी ! सकेनन् बचाउन बचेराहरूलाई
कोरोना डायरीः ममता
प्रकाशप्रसाद उपाध्याय
करेसाबारीको एउटा बोटमा कागले गुँड बनाइरहेको देखेको थिएँ । पक्षी जगतको सायद यो प्रजननकाल भएर होला कागको एउटा जोडी निर्माण कार्यमा तल्लीन थिए । हामी पति–पत्नी बेला–बेलामा छतमाथिबाट तिनको लगनशीलता हेर्ने गर्दथ्यौँ । सुरु–सुरुमा ती पक्षीले हाम्रो खासै वास्ता गरेनन् । तर एक दिन एउटा काग हाम्रो सिर वरिपरि उड्दै कराउन थाल्यो । पत्नीले भनिन्, ‘यसले चल्ला काढिसकेछ र चल्लाको सुरक्षाको खातिर यो हाम्रो उपस्थिति रुचाइरहेको छैन । जाउँ, नत्र ठुँग्न बेर लाउँदैन ।’
हामी ओल्र्यौँ । तर, यसपछि त यो उसको नित्य क्रिया नै हुन थाल्यो । छतमा हामी लुगा सुकाउन पनि जान नहुने । जाँदा पनि कराउँदै आउने, सुकेका लुगा उठाउन जाँदा पनि कोलाहल मच्चाउने । तर, ठुँग्ने काम भने गरेन । आफ्नो बच्चाप्रति यी पक्षीहरूको ममता देखेर दङ्ग परेँ । कति चिन्ता गर्दा रहेछन् यी चराचुरुङ्गीहरू पनि आफ्ना चल्लाहरूको सुरक्षाका लागि । चल्ला हुर्केर उड्ने लायक नहुन्जेल र उडेर नजाउन्जेल ती काग–दम्पत्तिको यो दिनचर्या रहि रह्यो । काग चारा खोज्न निस्क्यो भने कागिनी सुरक्षामा तैनाथ । चारा ल्याएपछि चल्लाको मुखमा राख्ने तिनका लीला हामी हेरि बस्थ्यौँ । एउटाले चारा ल्याइसकेपछि अर्को उड्ने । मिलेर बच्चा हुर्काउने तिनको यो दायित्व देख्दा पनि दङ्ग परेँ ।
कागलाई यसरी चाराको खोजीमा निस्किने गरेको देख्दा पत्नीले राति–राति रोटीका केही टुक्रा बाहिर राखि दिने गर्दथिन्, जुन बिहानको उज्यालोमा उसले टिपेर लग्ने गर्दथ्यो । बिहान राखिएका भातका सीतामाथि भने बेला–बेलामा भँगेराहरू पनि आइलाग्थे ।
गर्भधारण, प्रजनन र बच्चाको स्याहार प्राणी–जगतको प्राकतिक स्वभाव हो । तर, पशु–पक्षीले जुन किसिमसँग आफ्ना बचेराहरूको रक्षा गर्दछन् र यस कालमा हिंस्रक हुन्छन्, त्यो भने गजबको हुन्छ । कुक्कुर्नी झम्टिन आउँछे भने गाई सिङले हान्न । यी पशुपक्षीहरूमध्ये मिलेर बच्चा स्याहार्ने जुन भावना कागमा देखियो, त्यो कुक्कुर, गाई वा बिरालोमा देखिएन ।
कागका बचेराहरूले हुर्किँदै प्वाँख झटकार्न थालेको देखेर एक दिन पत्नीले भनिन्, ‘हजुर यिनको फोटो खिँचौँ न ।’ त्यस दिन बादलले आकाश ढकमक्क ढाकेको थियो । अलि–अलि बाछिटा पनि पर्दै थियो । मैले भनेँ, ‘आज फोटो सफा आउँदैन । घाम लाग्न देऊ । अनि खिचौँला । हुन्न ?’ उनले सहमति जनाइन् । दुई दिनको निरन्तर वर्षा र बदलीका कारण फोटो खिँच्ने काम भएन । तेस्रो दिन हेर्दा त गुँडमा एउटा मात्र बचेरा । अन्य दुई सायद कुनै अर्को पक्षीको सिकार भएछन् । यस पछि त काग झन् चनाखो भयो । अब तल बारीमा जाँदा पनि वरिपरि उड्ने र कराउने । बोटमा गुँड बनाउँदै फुल पारेर बच्चा काढेको देख्दा जुन उत्साह थियो, कागको कोलाहलबाट दिक्क लाग्न थाल्यो । तर, काग त बचेराको सुरक्षाका लागि हामीलाई तर्साउन यी सब गर्दैथियो ।
अर्को दिन हेर्दा, गुँड खाली । लाग्यो, बचेरा उड्यो । तर कागहरू कराई बसे । तल गएको, त देख्छु –बचेरा मृतावस्थामा लडिरहेको । यसपाली यो कागको आर्तनाद थियो, जुन उसले बचेराको वियोगमा वरिपरि उड्दै गर्दै थियो । उसको यो रुण क्रन्दन हेर्न सकिनँ र लगत्तै फर्केँ र पत्नीलाई भनेँ । उनले बार्दलीबाट हेर्दै भनिन्, ‘बिचरा ! सकेनन् बचाउन बचेराहरूलाई । हजुरले फोटो खिच्नु भएन । कति दुःख गर्दै हुर्काएका थिए यिनलाई काग-कागिनीले । तर कालको अगाडि काग-कागिनीले सहनु पर्दैछ वियोग-व्यथा । बिचरा !’
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

