मनको किल्लामा नित्य निजगढ

जता जाऊँ जे गरुँ, यो मन त मेरो निजगढमै छ

पुरुषोत्तम पौडेल
पूर्वखेलकुद मन्त्री ।

निजगढ एउटा छुट्टै नाम । निजगढले हरेकलाई आफ्नो महसुस गराउँछ । किन हो कोनी, निजगढ भनेपछि अलग्गै महसुस हुन्छ । भित्रैदेखि खुलेर आउँछ । निजगढ अरूको हुँदै होइन जस्तो लाग्छ । आफ्नो सदाबहार घरऑगनीजस्तो लाग्छ । मनभित्र सजिएको सुन्दर गाउँजस्तो लाग्छ । आफुले सधैं पुजा गरिरहेको मन्दिरजस्तो लाग्छ । आफुले शिक्षा प्राप्त गरेको गुरुकुलजस्तो लाग्छ ।

गौरी शंकर मावि, निजगढमा पढिरहेको थिएँ । शंकर सुब्बा फागोले निजगढको बारेमा एउटा अनुसन्धान गरेका थिए । राष्ट्रिय विकास सेवा (राविसे) मा आएका फागोले विद्यालयको नाममा प्रकाशित बुलेटिनमा निजगढको वारेमा बिभिन्न कोणबाट चर्चा गरिएको सुन्दर अनुसन्धनात्मक लेख प्रकाशन गरेका थिए । उक्त लेखमा ऐतिहासिक कोणबाट एउटा चर्चा गरिएको थियो ।

राणा कालमा निजगढ उनीहरूको शिकार क्षेत्र थियो । अमलेखगञ्जदेखि निजगढसम्मको जंगल क्षेत्रमा उनीहरू शिकार खेल्ने गर्थे । विशेष गरी हलखोरिया दह र कामिनी दहको आसपास शिकारको प्रचुरता हुन्थ्यो । ती दहहरू बाघ, वनेल, हरिण, आदी जनावरहरूको पिउने पानीको अखडा थिए । पानी पिउन आएका मध्ये आकर्षक जनावरको शिकार गरिन्थ्यो । शिकारी राणाहरू कहिले रतनपुर त कहिले निजगढ आएर बस्ने गर्थे । उनीहरू शिकारका लागि भरपर्दा सहयोगी शक्ति पनि थिए । निजगढमा कछडियाहरूको सुन्दर वस्तीको स्वागतसत्कार अलग थियो । सहयोग र सत्कारबाट खुशी भएका श्री ३ महाराजले निजगढका कछडिया मूखीयालाई निजको गढ अर्थात कछडियाहरूको निजींगढको रूपमा स्वीकार गरेको ठाउँ भएकोले यसको नाम निजगढ रहन गएको तर्क प्रस्तुत गरिएको छ ।

आजको निजगढ बजार आधुनिक शहरको रूपमा खडा भैसकेको छ । तत्कालीन सुन्दर कछडिया गाऊ, कछडियाटोल भएको छ । आजको निजगढ मात्र देख्ने ऑखाले उहिलेको कुरा गरेर हुन्छ ? उहिलेको कुरा खुइले भन्न सक्छन् । तर, कुरा त्यस्तो होइन । उहिले होस् या अहिले, जहिले पनि निजगढ एउटा ऐतिहासिक गाउँ हो । यसको नामले हरेक व्यक्तिलाई अपनत्व महशुस गराउँछ । निजी गाउँजस्तो महशुस गराउछ । पुरै निजगढ गाउँ र यहाँका बासिन्दाहरूको सोच, सद्भाव अनि अपार प्रेमभावको अनुभूति गराउँछ । सबै निजीजस्तो लाग्छ । आफैले पाएकोजस्तो लाग्छ । आफैले बसाएको गाउँजस्तो लाग्छ । पानी ट्याङ्कीको फेदीवाट नदिकट्टासम्म अनि बकैया पुलदेखि भमरा पुलसम्मको सुन्दर बस्ती सरोबर लाग्छ ।

रतनपुर, निजगढ र भरतगञ्जको कछडियाटोलहरूको स्थिती अहिले पनि उस्तै लाग्छ । उनीहरूको छुट्टै भाषा, भेषभूसा अनि संस्कृतिले सबैलाई लोभ्याउन सक्छ । अहिलेको विस्तारित निजगढको त कुरै छोडौ । डम्मरपुर नजिकबाट छङ्छङ् बगिरहेको शक्तिखोलादेखि रतनपुर हुदै भरतगञ्ज सिगौल पूर्वको धन्सरखोलासम्म उस्तै लाग्छ । निजगढ नेपालका प्राय सबैजसो पहाडी जिल्लाबाट आएका नेपालीहरूको आफ्नै कर्मभूमिजस्तो लाग्छ । शहिद हिरालाल पार्कको सुन्दरता, मोहरीको मनमोहन अनी सरस्वती डाँडाको नजरले निजगढको शोभा बढाइरहेको छ । नेपालमा पाइने सर्बजसो जाति, जनजाति र भाषाभाषीको संगमस्थल बनेको छ निजगढ ।

निजगढ ममता र प्रेमको सागर जस्तो लाग्छ । मेरा लागि त निजगढ ममता दिएर प्रेम र सद्भाव सिकाउने पाठशाला हो । निजगढ केवल पढ्नको लागि आएको अल्लारे केटो थिएँ । आफ्नो निश्चित घर ठेगाना पनि थिएन । मामा घरमा बसेर पढिरहेको थिएँ । मलाई बस्ने खाने व्यवस्था गरेर ममता, प्रेम र सद्भाव दिने निजगढ अविस्मरणीय प्रेरणाको श्रोत हो । यहाका आमाबुवाहरू, दाजुभाईहरू, दिदीबहिनीहरू मेरा प्रगतिका आधार हुन् । निजगढमा मलाई मामाघरसहित डाक्टर केदार गुरू र नन्दीकेश्वर गुरुले पुरै अभिभावकत्व दिनु भयो । षडानन्द पौडेल हजुरबा र भीमबहादुर भुलन बाले हौसला दिनु भयो । सूर्यबहादुर पहरी, टङ्कबहादुर बस्नेत र नेत्रबहादुर पुलामीले काँध थाप्नु भयो । ललितबहादुर वा, भोलानाथ चौलागाई, वीरवहादुर घिमिरेसहित धेरै अभिभावकहरूले संरक्षण दिनु भयो । सबैले मलाई आफ्नै भान्जा र छोरा या भतिज ठानेर माया गर्नु भो ।

मैले निजगढमा तिन पुस्ताको साथी हुने सौभाग्य पाएँ । यस्तो सुन्दर अवसर केहीले मात्र पाउँछन् । वुवा पुस्तासँग मिलेर जनपक्षिय अभियान चलाएर पंचायतविरोधी संघर्षलाई विजयसम्म पुर्याउने काम भयो । यो अभियानमा किशोरवयका असङ्ख्य नानी बाबुहरूको कृयाशिलताले सहयोग पुर्यायो । छोरा पुस्तासँग मिलेर २०४८ साल र त्यसपछिका निर्वाचन अभियान चलाएर काग्रेससँग लड्ने तागत भरियो । नाती पुस्ता गणतन्त्र ल्याउने र २०६४ र २०७० को चुनावी अभियानमा होमिएर सफलताको कारण बन्यो । यसरी राजनितीक तथा सामाजिक रूपले तिन पुस्तासँग जोडिन पुगिएको छ । बारा र निजगढभरका तिन पुस्ताको प्रतिनिधित्व गर्ने पार्टी कार्यकर्ता र सर्वसाधारणको अपूर्व प्रेम र सद्भाव पाइरहेको छु । मलाई सबैको प्रेम र सद्भावको रिणले सताइरहन्छ । यही प्रेम र सद्भावको आडमा आजसम्म जीवनको गाडी चलाइरहेको छु ।

निजगढको चर्चा गर्दा केही ओझेलमा परेका पात्रहरू सम्झन्छु । निजगढको सामाजिक रूपान्तरणमा उहाँहरूको निकै महत्वपूर्ण योगदान छ, जसलाई इतिहास र समाजले समेत बिर्सन सक्दैन । आफ्नो घरलाई क्रान्तिको घर बनाएर गुन लगाउने वागदेवका भवनाथ तिमल्सिना (सिटेनानी) र ध्रुव दाइ अनि अम्बिका चौलागाईं । ठाडोलाईनका चिनबहादुर श्रेष्ठ, तेर्सोलाईनका देवी पराजुली र योजनाटोलका कृष्ण न्यौपानेको परिवार । सडकटोलका भक्तिसार तिमल्सिना र गोकुल घोर्साइनेको परिवार । भरतगत्तजका बलबहादुर तथा ॠध्दीबहादुर थापा र र खुलाल सर अनि डम्मरपुरका रामबहादुर थापासमेत उति बेलाका क्रान्तिका आधार थिए । मामा माधव बडालसहित सम्पूर्ण बडाल परिवार, नेत्रकुमारी पौडेल र केदार घिमिरे अनि नन्दीकेशर न्यौपानेको परिवार परिवर्तनकारीहरूको आफ्नै घर परिवारजस्तो थियो । म स्वभाविक रूपमा त्यही परिवारको सकृय सदस्य हुँ ।

कम्युनिष्ट पार्टीले आफ्नो युवा सदस्यको नाताले मलाई निजगढमा जनपक्षिय अभियन्ता वनायो । २०४३ सालको स्थानीय चुनाव जिताएर जनताको प्रतिनिधि भएर काम गर्ने अवसर दियो । जनपक्षिय अभियन्ताको रूपमा २०४४ जेष्ठमा वकैया नदिले गरेको क्षति निरीक्षणको योजना र वृहत जनपक्षिय भेला आयोजना गर्यौ । भेलामा तत्कालीन राष्ट्रीय पञ्चायतका जनपक्षिय माननीयहरू पद्मरत्न तुलाधर, सोमनाथ प्यासी, जागृतप्रसाद भेटवाल, द्रोणाचार्य क्षत्री र नोवेल केमी राई अनि थुप्रै जनप्रतिनिधीहरूको सहभागीता भयो । जनपक्षिय भेलामा भएको व्यापक सहभागिता स्थानिय पञ्चहरूलाई सैह्य भएन । व्यापक दमन र धरपकड गराईयो । मसहित छविलाल उप्रेती, कृष्ण दहाल र सलीम अन्सारीलाई पक्राउ गरेर जेलमा पठाईयो । हामी १ देखि ५ महिनासम्म जेलमा बस्यौं । सबभन्दा बढी जेलमा बस्ने पात्र मै परेँ ।

निजगढ अधिकांश नया बस्ती हो । यहाँका धेरै मानीसह ऐलानी पर्ति जग्गामा बसिरहेका थिए । पूर्वपश्चिम राजमार्गमुनिको वस्ती योजनावद्ध रूपमा हेटौंडा चिसापानीको सट्टाभर्ना स्वरूप बसाइएको थियो । निजगढको पूर्वी भागमा रहेको योजनाटोललाई पुनर्वास योजनाले बसाएको हो । शहिदचोक भन्दा माथितिर औतारी लामाले फडानी गरेर बसाएको बस्ती हो । कछडियाटोल र पुरानोटोलबाहेक सडकटोल, वागदेव र बाँकी सबै बस्ती देशका विभिन्न भागबाट बसाईं सरेर आएका नेपालीहरूले फडानी गरेर बसेको बस्ती हो । सबै नयाँ बस्तीको जग्गा दर्ता गरेर पुर्जा लिनु जनताको माग थियो । निजगढका आधा भन्दा बढी जनसंख्या नागरिकताविहिन थिए । हरेक कामका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक हुँदै थियो ।

ठिक यसै बेला निजगढले जनपक्षिय अभियान सफल बनाएको थियो । जनपक्षिय प्रतिनिधी भएर हामीले पुनर्वास, आँकडा र ऐलानी जग्गाहरू दर्ता गरेर लालपुर्जा वितरण गर्ने काम गर्यौ । निजगढबासीहरूलाई सम्भव भएसम्म नागरिकता प्रमाणपत्र दिलाउने काम गर्यौ । सम्पूर्ण निजगढ शुध्द पिउने पानीको समस्याले पिडित थियो । आकाशे ट्याङ्की वनाएर निजगढ भरी पिउने पानी वितरण गर्यौ । विधुतीकरणको व्यवस्था मिलाएर पुरै निजगढलाई झलमल्ल उज्यालो पार्यौ । व्यापक जनपरिचालन र श्रमदानसहित सरकारलाई समेत जोडेर निजगढलाई लालवकैया नदीबाट सुरक्षित गर्ने काम गर्यौ । यसले जनपक्षिय अभियानप्रति जनतामा नयाँ विश्वास जाग्यो । आज पनि निजगढका जनताको साथ र सहयोग सम्झँदा गर्व लाग्छ ।

पहिलो पटक निजगढ क्षेत्रबाट २०६४ सालको संविधानसभा निर्वाचन लड्ने अवसर मिल्यो । २०६४ को निर्वाचनमा पराजय हात लागे पनि २०६७ सालमा प्रधानमन्त्री झलनाथ खनालले आफ्नो राजनितीक सल्लाहकार बनाउनु भयो । त्यही बेलामा लालवकैया सिचाई योजना, शहिद हिरालाल मार्ग र निजगढ भरतगंज सडकसहित केही विद्यालयहरूको लागि सहयोग जुटाउने अवसर जुर्यो । २०७० को संविधानसभा निर्वाचनमा क्षेत्रका जनताको व्यापक समर्थनले विजयी बनायो । संविधानसभा सदस्य भएर करिव डेढ वर्ष देशको युवा तथा खेलकुद मन्त्रीको रूपमा काम गर्ने अवसर पाएँ । यही अवसरले निजगढलाई नगरपालिका घोषणा गराउन र स्मार्ट सिटी कायम गर्न सम्भव बनायो ।

२०७० सालमा संविधानसभा सदस्य र युवा तथा खेलकुद मन्त्री भएकै कारण वागदेवमा शहिद स्मृति खेल मैदान र रोडमा शहिद हिरालाल रंगशालासहित विद्यालय खेल मैदानहरूमा सहयोग जुटाउने काम भयो । निजगढ९रतनपुर९अमलेखगन्ज सडकको काम सुरू भयो । निजगढ-धियाल सडक, निजगढ-भरतगंज-फापरबारी सडकसहित केही स्थानिय सडकहरूका लागि श्रोत जुटाउने मौका मिल्यो । निजगढ, भरतगंज र रतनपुरमा खानेपानी कार्यक्रमहरू सुरू गरिए । निजगढमा जनताको भावनासँग जोडिएको शहिद हिरालाल पार्क बनाउने काम जारी छ । यस्ता थुप्रै कामहरू भइरहन्छन् र भइरहनु पनि पर्छ ।

यी सबै कामहरू जनतासँगको लगाव र प्रेमका परिणाम हुन् । कर्मभूमिको माटोप्रतिको जिम्मेवारीवोधका परिणाम पनि हुन् । मुख्य कुरा जनता र माटो संगको सामिप्यता र लगाव हो । निजगढसँगको लगाव सबैभन्दा माथि छ । निजगढ छुट्टै र आफ्नो मात्र हो जस्तो लाग्छ । यो देखिने स्थुल शरिर जतासुकै जानसक्छ । जहाँ सुकै हराउन सक्छ । जहिलेसुकै पनि बिलाउन सक्छ । जुनसुकै धुनमा रमाएर बस्नसक्छ । तर मनमस्तिष्क कर्मभूमि निजगढको वरीपरी घुमिरहेको हुन्छ । सपना पनि त्यहिँको माटो र जनतासँग रमाइरहेको अनुभूति हुन्छ ।

मैले संसारका अति सुन्दर देशहरू घुम्ने अवसर पाएको छु । एसियाका सुन्दर र विकसित देश जापान पुगेको छु । समुन्नत देश कोरिया घुमेको छु । युरोपका सुन्दर देशहरू बेल्जियम, नर्वे, डेनमार्क, जर्मन र लक्जेम्वर्ग पुगेको छु । श्रीलंका, रूस, चीन, थाइल्यान्ड र मलेसियाजस्ता देशहरू घुमेको छु । जतिसुकै सुन्दर देशहरू घुमेर आए पनि मलाई हाम्रो प्यारो देश नेपाल सवैभन्दा सुन्दर लाग्छ । नेपालका साठी भन्दा वढि जील्लाहरू घुम्ने अवसर पाएको छु । देशका थुप्रै मनोरम शहरहरू घुमेको छु । राम्रा राम्रा थुप्रै गाउँहरू घुम्ने मौका पाएको छु । मेरो अन्तरमन निजगढबाहेक कतै रमाउँन सकेको छैन । मन मस्तिष्कभित्रको कुना कुनामा निजगढ नै छाइरहेको हुन्छ । झलझली निजगढको याद आइरहन्छ । शरिरको उपस्थिती जता भए पनि मनचाहिँ निजगढमा रमाइरहन्छ ।

जय निजगढ । जय निजगढबासी ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. निजगढ प्रतिकाे सेन्टिमेन्ट देखाउनु भएकाेमा धन्यबाद! मैले घुमाउराे भाषामा निजगढकाे मसिहा तपाईलाई बनाएकाे थिए मेरा अल्प ज्ञानका लेखहरुमा। तपाईकाे राजनितिमा प्रश्न उठ्ने अाधारहरु तपाईका कार्यकर्ताका व्यवहार हुन। उनिहरुलाई संस्कारवान बनाउनुहाेस। घमण्डि नबनाउनुहाेस। चरित्रहिन मानिसहरु साथमा लिएर अगाडि बढ्नुकाे दुष्परिणाम नै बेला बेलामा हुने तपाईका हार हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button