
सुलोचना, जसलाई पानीटारको चियाबगान जति हेरे पनि हेरिरहुँ लाग्छ
झन्डै दुई दशकदेखि शिक्षणमा सक्रिय सुलोचना न्यौपाने हाल सिन्धुलीस्थित सुनकोसी माविमा मावि तहमा अङ्ग्रेजीकी अध्यापक छिन् । आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा उनै न्यौपाने ।
१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ?
कम मसालेदार सबै खाना मन पर्छ । सम्झिने वित्तिक्कै र देख्ने वित्तिक्कै खाइहालौं जस्तो चाहिँ पोलेको मकै लाग्छ । पोलेको मकैको स्वाद असाध्यै मन पर्छ ।
२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
सबैभन्दा मन पर्ने ठाउँ इलाम हो । यो मेरो जन्मस्थल, बस्नको लागि उपयुक्त हावापानी, प्राकृतिक रुपले हरियाली, भौगोलिक हिसाबले मिलेको डाँडाकाँडा, प्रशस्तै रुपले नगदे वाली उत्पादन हुने र बजारको सहज पँहुच भएको ठाउँ हो इलाम । पानीटारको चियाबगानको दृश्य जति हेरे पनि हेरिरहुँ जस्तो लाग्ने अत्यन्तै मनमोहक छ ।
३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मैले अहिलेसम्म पढेको मध्ये निलम कार्की निहारिकाद्वारा लिखित “योगमाया” पुस्तक धेरै मन पर्छ । त्यो समयमा एउटी साधारण महिलामा देखिएको असाधारण सामाजिक राजनैतिक चेतनास्तर, महिला हिँसाविरुद्ध वकालत गरिएका उनका प्रयासहरु सराहनीय लाग्छ ।
४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
मलाई सबैभन्दा मन पर्ने मान्छे मेरो बुबा हो । उहाँ जत्तिको सरल, सच्चा, सहयोगी र समझदार व्यक्ति मैले अरु कोहि भेटेको छैन ।
५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
आफ्नो जिम्मेवारीमा परेको काम हरदम पूरा गर्छु, समयको पावन्दिलाइ ध्यान दिन्छु, योजनावद्द रुपमा काम गर्न रुचाउँछु जसले गर्दा आत्तिएर काम गर्नु पर्दैन । नाअत्तिकन काम गर्ने मेरो आफ्नै बानी मलाई मन पर्छ ।
६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ?
नेता भन्दा पनि नेतृत्वप्रणाली नै अस्तव्यस्त देख्छु । नेतृत्वप्रणाली सुदृढ हुन सके राम्रो नेता चिन्ने मौका पाइन्थ्यो होला ।
७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
तिहारको लक्ष्मीपुजाको दिन घर, टोल, शहर सजिएको दृश्य सबैभन्दा मन पर्छ ।
८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
शिक्षण सबैभन्दा मन पर्छ । यो मात्र एक यस्तो पेशा हो जसले अन्य सबैखाले पेशा गर्ने जनशक्ती तयार गर्न सक्छ ।
९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
मलाई सेतो रंग मन पर्छ किनकी सेतो रंगले मन मस्तिष्कमा शान्ति छाँउछ ।
१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
शव्दमा साहित्य, संगितमा आनन्द र स्वरले सन्तुष्टि प्रदान गर्न सबै गीत मन पर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



