
‘चिकित्सकले उसको पुरुषत्व सबै लुटेर लगे’
वाध्यताबस् कति अहितकारी शल्यचिकित्सक म यो खेदजनक र निष्फल देशको !
बटारिएको शुक्रग्रन्थीको नियति
प्रा. डा. अर्जुनदेव भट्ट
कस्तो अशुभ तथ्याङ्क ! प्रत्येक एकलाख २५ बर्षमुनिका पुरुषमा साढे चार जनामा एक तर्फको शुक्रग्रन्थी बर्षदिनको अन्तरालमा बटारिने घुम्ने हुन्छ । यस्तै उमेरमा देखापर्ने शुक्रग्रन्थीको अर्वुद सिर्फ १.२ जनामा मात्र देखा पर्ने गर्दछ । यो तथ्याङ्क अमेरिकाको हो ।
यही अनुपातमा नेपालमा पनि यी दुबै व्याधि देखिनुपर्छ भन्ने छैन । तर चनाखो हुनुपर्ने के छ भने यदि एक तर्फको शुक्रग्रन्थी एक्कासी दुखेर आयो भने शुक्रग्रन्थी रज्जु बटारिएको हुने सम्भावना उच्च रहन्छ । अपर्झट यस्तो अवस्था आउँदा शुक्रग्रन्थीमा जाने रक्त नशाहरु बटारिएर रक्त सन्चारमा कमी तथा व्यवधान उत्पन्न हुन्छ । त्यसकारण वास्तवमा पीडा एक्कासी उत्पन्न भयो र बिस्तारै बढ्दै गयो भने यसको ठूलो महत्व हुन्छ । समय लगाएर बृद्धि हुँदै गएको पीडाको कारण संक्रमण वा अर्वुद पनि हुन सक्छ । वृषण रज्जु बटारिएर उत्पन्न भएका शुक्रग्रन्थीे पीडामासँगैको अर्को शुक्रग्रन्थी भन्दा माथि र तेस्रो भएर रहन्छ । जबकि सामान्य अवस्थामा शुक्रग्रन्थी ठाडो भएर रहेको हुन्छ । शुक्र रज्जु बटारिएर माथि तानिएको शुक्त ग्रन्थीलाई चार औलाले वा हत्केलाले हलुका माथि सारेको जस्तो गर्दा त्यो झन पीडादायक हुनछ । यो रोग अथवा अवस्थाको निराकरण बिरामी हेरेर चिकित्सक आफैले गर्न सक्छ । तर यो आकस्मिक आवस्था भएकाले यो रोग सुरु भएको चार घण्टा भित्रै उपचार भइसक्नु पर्छ । होइन भने शुक्रग्रन्थी मृत पिण्डमा परिणत हुन्छ । फलस्वरुप यस्तो शुक्रग्रन्थी पुरुषहर्मोन उत्पादन गर्न सक्दैन र शुक्रक्रीटहरु बनाउँदैन । शल्यकृया गरेर ननिकालेका खण्डमा त्यस्तो शुक्रग्रन्थी केही समय पछि सुकदै जान्छ ।
बटारिएको शुक्रग्रन्थी नवजातशिशु देखि किशोरावस्थामा बढी देखा पर्दछ । यद्यपी यो अवस्था अरु उमेरमा पनि देखिन सक्छ ।
के बटारिएको शुक्रग्रन्थीको पहिचान गर्न कठिन छ ? झट्ट हेर्दा यो कठिन छैन । यो शरीरको कुनै अनकन्टारमा लुकेर बसेको पनि हुँदैन, यो सधैँ आँखा बाहिरै हातहरुको पहुँचमै हुन्छ । तरपनि तथ्याङ्कले खेदाउँछकि यो समयमै कमै पहिचानमा आउँछ । किनकी एकातर्फ बिरामीहरु सधैँ समयमै खुलेर बताउँदैनन् । साना बच्चाहरुले प्रदर्शन गरेका लक्षणहरु बुझ्ने बुवा आमा परिवारमा छैनन् भने पनि हुन्छ । बच्चाले बान्ता गर्दा पेट वा अरु रोगकै शंकामा दगुर्नेहरुकै जमात जताततै बढी छ । स्कूलमा पढिरहेका बेला यो रोगको सुरुवात भए शिक्षकहरु अन्योलमा पर्ने वा कतै विद्यार्थिले झुटो बोलेको त होइन भनि सोच्ने पनि हुन्छन् । फलस्वरुप संकाकै भरमा समयमै थाहाभइ सक्नु पर्ने व्याधि महत्वपूर्ण समय गुमाउन पुग्छ । तीनकरोड नागेको हाम्रो जनसंख्यामा आधा भन्दा केहि बढी पुरुषमा पर्दछ ।

यद्यपी २५ बर्षसम्मकामा यो रोग देखा पर्दछ तर अरु उमेरमा देखा पर्दै पर्दैन भन्ने होइन । हाम्रो देशमा औसतमा आमा हुने उमेर २०.८ वर्ष (सन् २०१६) देखाइएको छ । सम्पूर्ण जनसंख्यामा शिक्षित दर ६७.९ प्रतिशत भनिएपनि कति जान्ने र ज्ञान भएकालाई हामी शिक्षित मान्छौं त्यो तथ्य कसैबाट लुकेको छैन । २५ प्रतिशत देशका जनता गरिबीको रेखामुनि छन् । जीवनका आधारभूत आवस्यकता पूरागर्न आवस्यक न्यूनतम आय भएकाहरु माझ समेत कतिले आफूलाई २१औं शताब्दीको मानव भन्न सुहाउनेगरी बाँच्न सक्ने जीनव पाएको छ । चिकित्सकहरुको जमात जति नै भए पनि अझसम्म एकहजार जनताको स्वास्थ्य उपचारका निम्ति ०.९१ मत्र उपलब्ध छ । तर त्यो पनि कागजमा तथ्याङ्कमा । वास्तवमा अझैपनि डाँडा काँडाका अनकन्टार ठाउँमा मात्र हैन तराइमा समेत जनता चिकित्सकको सेवा पाउन सक्षम छैनन् । किनकि प्राय सबै जसो चिकित्सक देशको राजधानी र शहरहरुमा केन्द्रीत हुन बाध्य छन् । काठमाण्डुबाट १० किलोमिटर छेउमै भएका ठाउँबाट एउटा बच्चालाई राती शुक्रग्रन्थी घुमेर पीडाले छटपटिनु परे कसरी उ ४ घण्टा भित्रै शल्यकक्षभित्र त्यसको वास्तविक उपचारको निम्ति दाखिला हुन सक्छ ? यो छ हाम्रो देशको १० बर्ष गणतन्त्र घोषणा भएपछिको तितो यथार्थ । त्यसैले यो रोगको उपचारमा सुधार ल्याउन देशमा थुप्रै कुराको फरक आउनु अनिवार्य प्राय छ । खास गरेर सडक सन्जाल, शिक्षा अस्पतालको स्तर र आम जनताको निम्ति त्यसको पहुँच र खर्च धान्नसक्ने क्षमता हुनुप-यो । बटारिएको शुक्रग्रन्थी कुनै पनि चिकित्सकबाट ज्यादै सरल तरिका र छिटो भन्दा हुनु पर्ने हो । तर यथार्थमा संसारको कुनैपनि देशमा यो बाहिर देखिए जस्तो सजिलो तरिकाले भएको प्रमाण छैनन् । यो रोग पहिचान गर्न न सिटीस्क्यान, एमआरआइ जस्ता आधुनिक अपकरणको आवश्यकतानै पर्छ । अरु त के अल्ट्रासोनोग्राफी, डोपलर पनि नभइ नहुने हैनन् । सर्वप्रथम समयमै यसको पहिचान हुन पुरुषमा यस्तो पनि हुनसक्छ र सुरुवातमा यसले कहाँ कस्तो पीडा दिन्छ त्यसको ज्ञान हुनुप¥यो । अनि हिम्मत हुनुप¥यो त्यो ठाउँ नियालेर हेर्ने र हातले स्पर्श गर्ने । त्यति गर्न सक्यो भने रोग पहिचानमा निकै समयको फारो हुन्छ । सबैले सधै दुख्नासाथ चिकित्सकहाँ पुग्न संभव छैन । त्यसैले संसारभरी नै समयमै यो रोग पहिचान भएको देख्न पाइदैन ।
बरु यो संभाव्य व्याधि बारे सामान्य ज्ञान आमा-बुवा, किशोरहरु, सबै स्कूलका शिक्षक शिक्षिका, परिचारिकाहरु तथा सबै चिकित्सकहरुले प्रयोगमा ल्याउने हो भने समयमा रोग पहिचान हुने र शुक्रग्रन्थी सधैंको निम्ति गुमाउनु पर्ने अवस्थामा निकै कमी आउन सक्छ । सक्दो छिटो रोग निवारण र त्यसको व्यवस्थापन तथा यौन प्रजनन जोखिममा पर्नुपर्ने पीडादायी अवस्थाबाट धेरै हदसम्म मुक्त हुन सक्थे । उदाहरणको लागि अण्डकोषमा पीडा अनुभव गर्ने १५ प्रतिशत बच्चाहरु मध्ये ४२ प्रतिशतमा शल्यकृया गर्दा बटारिएको वृषण रज्जु फेला पर्दछ र तिनिहरुको शुक्रग्रन्थी निकाल्नु पर्ने हुन्छ । ती सबै बिरामीहरु ४ देखि ८ घण्टामा मात्र अस्पताल पु-याईएका थिए । जति छिटो रोग पहिचान र शल्यकृया हुन्छ त्यति नै बढी शुक्रग्रन्थी नष्ट हुनबाट जोगाउन सकिन्छ । त्यसको साथै भविष्यमा संभावित बाँझोपन रोक्न मिल्छ ।
शुक्रग्रन्थी रुज्जु बटारिनुमा अनुकुल किसिमले प्रभावित पार्ने तत्व कारक के के हुन सक्छन् ? सधै थाहा पाउन सम्भव हुन्न । तर ती तत्व आनुवंशिक वातावरणीय, चोटपटक तथा असामान्य तकिाको बनावट हुन सक्छन् । धेरै माथि रज्जुमा आसामान्य तरिकाले शुक्रग्रन्थी कञ्चुक जोडिएका खण्डमा पनि शुक्रग्रन्थी बढी चन्चल हुन सक्छ । त्यस्तै शुक्ररज्जुको खोल जहाँ थुप्रै मांशपेसी हुन्छन् र उत्तकको पट्टी फासियाको बनावटले ठूलो भूमिका खेल्दछ ।
जाडोको समयमा गर्मीको भन्दा यो रोग बढी देखा पर्दछ । राती सुतेको बेला खास गरेर पिसाबले च्यापेको बेला बिहानपख लिङ्ग उत्तेजित हुने हुँदा शुक्र रज्जुका मांशपेसी बढी मात्रामा सक्रिय भएपनि रुज्जु बटारिने सम्भावना बढ्ने गर्दछ । एकै परिवारका ६ दाजुभाईहरुमा सबैको बटारिएको शुक्रगन्थी रुज्जु भएर उपचार गर्नुपरेको लेखिएको छ । मैले आफै शल्यकृया गरेको बिरामी माझ जुम्ल्याहा दाजु भाईको एउटाको शुक्रग्रन्थी बटारिएर मृतभएको अवस्थामा फाल्नुप-यो । त्यो समय ती २३ बर्षका थिए । तर आमा र ती दुबैले कसरी यो रोगबारे समयमै थाहा पाउने सबै राम्ररी बुझेकाले अर्को ६ महिना पछि भाइको रोग पहिचान समयमै भएकाले त्यसलाई बचाउन सकियो । त्यसैले फेरी दोहो¥याउँछु यो रोगलाई सक्दो कम जोखिमपूर्ण पार्न आमाबुवा, युबक, शिक्षक शिक्षिकालाई यसबारे सचेत गर्नु एकदमै फलदायी हुन्छ । चिकित्सक र परिचारिकाहरुले पनि यो सूचना सक्दो बढी आम जनतामाझ प्रचार प्रसार गर्नु पर्दछ । ढीलो पहिचान भएको यो रोगमा शलयकृया पछि जुन अप्रिय अनुभूति गर्नु पर्दछ त्यो मौका कुनै शल्यचिकित्सकको टोलिले पर्खनु नपरोस र अनुभव भोग्न नपरोस । समय मै ल्याई पु¥याइएको बिरामी दुबै शुक्रग्रन्थीलाई फेरि कहिले पनि नबटारिने गर्न गरिएको शल्यकृयाले एक प्रकारको ठूलो आत्मसन्तुष्टि दिन्छ । बिरामीलाई भविष्यमा यौन तथा प्रजनन् समस्या आउने डर नहुँदा उ मानसिक रुपमा बिलकुलै चिन्तित हुनु पर्दैन । शल्यचिकित्सकको हिसाबले शुक्रग्रन्थी बचाउन मिल्ने भएपनि वा निकाल्नै पर्ने भएपनि शल्यचिकित्सा त सफल मान्नै पर्छ । किनकि शल्यकृयात पक्कै सफल हो । तर पनि शुक्रग्रन्थी निकालेर फाल्नु पर्दा शल्यटोलिमा कुनै खुशी सन्तोष हुनै सक्दैन । ती आफ्नो कार्य मानौ असफल भयो त्यस्तो अनुभव लामो समय साँचेर गुज्रीरहेका हुनछन् ।
मलाई अहिले पनि सम्झनाले चिथोर्छ, मेरो एउटा १४ बर्षको भर्खरै ओठमाथि जुँगाको घेरा उम्रिनलाग्दा पेट दुखेको भनि आमासँग वीरअस्पतालको बहिरङ्ग विभागमा भेट्न आयो धेरै बर्ष पहिले । आमाको भनाई अनुसार उसको सानै उमेर देखि स्कूलमा पेट दुख्ने ग¥थ्यो । थियो उ सिर्फ ९ बर्षको । घर आएपछि उसलाई बावुले छोरो फटाहा भयो नपढ्न एक एक बहाना गर्छ भन्दै हप्काउँथ्यो । अरु कुरै छोडौं बाबु आमा दुवैले छोरोको देब्रे तिरको अण्डकोष भित्र नभएको वास्तानै गरेनन्् । ती थिए निकै आर्थिक विपन्न परिवारका व्यक्ति । मैले बिरामीको आमालाई प्रश्न गरेँ कुन उमेरमा छोराको एकातर्फ मात्र शुक्रग्रन्थी भएको थाहा पाउनुभयो ? उनी तीनछक परिन र जवाफ दिइन ५ बर्षको छोरा हुँदा उनीले लोग्नेलाई “किन छोराको एकातर्फ मात्र गेडी” भनि सोधिन । उसले “कसैको त्यस्तै हुन्छ होला” भनि जवाफ दिएछ । तर उनी जवाफप्रति सन्तुष्ट थिइनन् ।
आफ्ना साथी संगीनिलाई सोध्दा कसैले त्यस्तो हुँदैन देखि के फरक पर्ला र सम्मको जवाफ दिएछन् । पछि उनीले यो कौतुहललाई दवाएर राखिन । एकपल्ट हेल्थपोष्टमा जाँदा अहेवले गएर वीरअस्पतालमा देखाउनु अप्रेशन गरेर ठीक गर्लान भनेका रहेछन् । तर त्यो टाढाको अस्पताल जाने बिचार उनको मनभित्र मात्र रह्यो । त्रिशुलीबाट वीर अस्पताल आउनु सबै दृष्टिले उनलाई गाह«ै प¥यो । जब छोरो ११ बर्षको भयो एकदिन उ राती सुतेकै बेला देब्रेतिर काछमा दुख्यो भन्दै रुँदै उठ्यो । बान्ता भयो, पेट फुलेको जस्तो लाग्यो आमालाई । उस्ले निकै केरकार गरी के खाएको थियो छोरोले अघिल्लो दिन स्कूलमा । छोरोले आफू निर्दोष भएको बिलौना थप्दै रोइरह्यो । आमाको मननिकै चिन्तित भइ रहयो । ज्वानो पकाएर पिउन लगाइन छोरोलाई । उसको आँखाको आँसु चोर औलाले पुछ्दै सुत्न अनुरोध गरिन् । छोरो रुँदै देब्रे काछ बिचबिचमा छुँदै थियो । आमाले त्यतापनि आफ्ना मातृस्नेहका हातले मुसारीदिइन ।
छोरो केही शान्त भयो तर आमा झस्किइन । उनीलाई लाग्यो त्यहाँ अलिकता सुन्निएर भुक्क भएको र केही तातो जस्तो अनुभव गरिन् । बिस्तारै छोरो शान्त भयो । यद्यपी केहि पीडा उ अझै अनुभव गर्दैथियो । एकहप्ता उ स्कुल गएन । हेल्थपोष्टको औषधिले एक हप्तापछि दुख्ने करिब बराबर भयो । त्यसपछि छोरो दिनप्रतिदिन घट्दै गएको सानो पोको लिएरै पूर्ण सतर्कताका साथ स्कुल गइरह्यो । पढाइ यस्को नराम्रो भन्न मिल्दैन । पढ्न उसलाइ सधै जाँगर आउँछ । यसरी अपरझट राती दुखेर रुनु परेको आफ्नो ठाउँमा झर्न नसकेको शुक्रग्रन्थी बटारिएर पिडा गरेको थियो । तर कसरी त्यो थाहा पाउनु । ती गरिबलाई अस्पतालको झन्झट खर्च समय समझँदा पिडा सहेरै घरमै खेतबारी गोठ सरकारी स्कुल गरेर बस्नुनै बढी उपयुक्त लाग्यो । चालै नपाउने गरेर केही महिनापछि त्यो फुलेको ठाउँपनि बराबर भयो । तबत न छोरो न आमा कसैको त्यता ध्यान जाने कुरै भएन । नाघ्यो छोरोले १३ बर्ष । घरमा उ निकै ठूलो सहयोगी थियो आमालाई । खेतमा बाबुलाई पनि कहिलेकाहिँ छोरो निकै सहयोग गथ्र्यो । बाबु आमा र छोरो बीच निकै राम्रो समझदारी विकास हुँदै गएको थियो । पढाईमा पनि उ क्लासमा खासै नराम्रो थिएन । फेल उ कुनैपनि बिषयमा भएन । फष्टको चाहाना गर्न उसँग हिम्मत पनि थिएन । घरको एक्लो छोरो । भएकै एउटा छोरो । विडो धान्छ र पीण्ड दिइहाल्छ, काजक्रिया गर्ने छँदैछ यसैमा बाबु चित्त बुझाउँथ्यो । आमा पानी लिन जाँदा सोच्ने गर्थिन् “अब ५, ६ बर्षमा त बुहारी पनि ल्याउनै पर्ला ।” धेरै कल्पना गर्न काममा डुवेकालाई फुर्सद काहाँ । राती भरदिनको थकाई ओछ्यान छुन पा छैन घुर्न सुरु ।
बरु लोग्नेको सधैँ कचकच सुत्नै हतारो भन्ने । छोरोले १५ टेक्यो । घर खेतको सहयोग थपिँदै गयो । साथै पढाइ तर रफ्तार उही फस्ट बोर्ड फस्ट कल्पना बाहिर । जाडोको याम चिसोले सबै लुगा छिचोलेर हड्डी छुने प्रगत्न गर्दैथियो । बिहान पानी ठि¥याउने । एक्कासी एक दयनीक स्याठले लखेटिएको रात छोरो त्रासमा पुरानो कम्मल भित्र गुटमुटिएर सुत्ने प्रयत्न गर्दैथियो । सिर्फ एक बिचार कसरी जाडो पचाउँदै निन्द्राको महासागरमा डुवुँ । उसले आफ्नो भएभरका लुगा थाङ्नाले आफूलाई ढाक्यो । चिउँडोले झण्डै घुँडा छुनेगरी कुप्रिएर एकै छिन निन्द्रामा हरायो तर मानौ कसैले उसलाई अपरझट एकलात फुटबल खेल्दा अण्डकोषमै हान्न पुग्यो । उ पीडाले छटपटाउँदै वान्ता गर्दै उठ्यो । न रुँ भन्दा भन्दै उ आँसु झार्दै रुन पुग्यो । बल्ल उसले चाल पायो दुखाई धेरै बर्ष पहिलेको देव्रे काछको जस्तै थियो । तर दाहीने तिर, केही वाकवाक र बेचैनी पनि । उसलाई आमाबुवा लाई उठाएर दुखदिने एकरती बिचार थिएन । तर उ नियन्त्रणबेगर भई स्वतः करायो आमा आमा । जती गहिरो भएपनि आमाको निन्द्रा छोरोको बेदनामा त्यो त्यसै पातलिदो रहेछ । आमा त्रसितभई उठी कराउँदै के भयो मेरो छोरा ? न रो के नराम्रो सपना देखिस ? उ प्रश्नको बाढी लिई पुगी छोराको छेउ ।
रुँदै बसेको छोराको कम्मल मिलाउँदै आफ्नो मात्री स्नेहको न्यानो थप्दै सँगै बसी धन्नै कुखुरीले चल्लालार्य चीलबाट छोपे जस्तै गरी । औला र हत्केलाले आँसु पुछ्दै प्रश्न गरी “के भयो ?” छोरोले कम्मल अली पन्छाउँदै पेटको दाहिने तिर तल्लो भाग देखायो अनि रुँदै थप्यो “कस्तो दुख्यो” । आमाको स्नेह पग्लिँदै थियो र छोराको पुट छुँदै सान्तवना दिइ “अहिले हराउँछ दुखेको ।” तर उनको मस्तिष्कमा ११ बर्षको छोरोले ठाउँ लिइसकेको थियो । सम्झी उस्ले त्यसबेला पीडा देव्रे थियो । अनि अण्डरवेयर केही तल सार्दै यसो हेरी, औलाले स्पर्श गरी र त्यसै तर्सी । के को डल्लो त्यहाँ नगिचै छुन पुगेकी । त्यो गेडी त होइन । किन त्यति ठूलो र पीडादायी । उ आफैलाई प्रश्न गर्दैै एकछिन तर्सिइ, भक्कानिन खोजी के हुँदैछ मेरो छोरोलाई सोच्दै छोरोको अनुहारमा नियाल्न पुगि । छोरो केही शान्त भइसकेको थियो । मानौ उसको पीडा त्रास र जाडो उसकी आमाले आधा भन्दा बढी खोसेर लगेकी थिई । उसका आँखा बर्षा गर्न बन्द भए । अनुहारमा अघिको भावाभिव्यक्ति फेरिइसकेको थियो । वाकवाकी र बान्ताको कहीँ शंका थिएन । तर अझै उ पूर्णरुपमा आफूलाई स्वस्थ अनुभव गर्न सकिरहेको थिएन । उसलाई आफ्नै अण्डकोषभित्र डल्लो आएर ध्यान तानेजस्तो लाग्यो । बिस्तारै आफ्ना दाहिने हातका औलाहरु सङ्गै गर्दै डल्लोमुनि पु-याइ केही उठाउन खोजे जस्तो प्रयत्न ग-यो । तर तुरुन्त पीडा बढेर उसले त्यो आँट अगाडि बढाउने प्रयास त्याग्यो । अलक्षिन त्यो डल्लोमाथिको छालामा दुई औंला राख्यो कस्तो तातो उ त्यसै अचम्ममा प-यो । कसरी यो मेरो चर्म हुन सक्छ ? उ आफ्नै प्रश्नमा अल्झियो । अण्डकोशको चर्म सधै अर्कै अनुभूति दिन्थ्यो किन त्यो बाक्लो ? अचल तातो सम्वेदन तथा पीडादायी लाग्दैछ ? उ घोरीयो ।
यो बीचमा आमाले उसलाई आफ्नै विवेकले के के हालेर हो तातो पानी एक प्रकारको चियानै ल्याइ दिइ । छोरो खुसी भयो । उसको मुख केही सुकेको थियो । हलुकासँग फू फू फू गरेपछि उसले एकचम्चा जति तान्यो र हलुका शक्ति थपिएको महसुस ग-यो । त्यसपछि उसले लगातार समयनै नलगाई त्यो बटुको रित्याइदियो । बटुको आफुतिर तान्दै आमाले सोधी “अरु ल्याइदिऊँ ? कस्तो लाग्यो ?” टाउको हल्लाउँदै अर्को बटुकोको माग छोरोले प्रस्तुत ग-यो । आमा दयाको भावना अनुहारमा छर्दै अर्को बटुको ल्याउन गई । केही कम आवेश उत्साह र सौख प्रदर्शन गर्दै दोस्रो बटुको पनि रित्यायो । अनि आमा चुलो तिर गएको मौका छोपी आफ्नो दाहिने हात फेरी त्यहि बिसन्चोको भारी डल्लोतिर पु-यायो । हत्केलाले त्यो भयङ्कर त्रासजन्य पोको माथि गर्न खोज्दा उसले आशा नगरेको पीडाको कहर सहनु प-यो । उ शारिरीक पीडाको साथै मानसिक त्रासको मारले ढल्ला जस्तै भयो । तर एक्कासी सम्हालियो र सोच्न थाल्यो । थियो त्यो शुक्रबारको शनिबारमा खसेको रात । आइपुगिन फेरी आमा । देखिन छोरो फेरी केहि शिथिल, पीडित र त्रसित मुद्रामा छ । अनि उनले सोचि यो शनिमा वर्लेको रात कतै छोराको शनी र राहुको दशा पो बोकेर आएको छ की ?? उनको मस्तिष्कमा नकारात्मक विचारको खहरे उर्लिन थाल्यो । उनीले तुरुन्तै हेल्थपोष्ट जाने बाटो सम्झिइन जुनप्रति उनको घृणा छ । तर त्यसमा कहिले सुधार भएको देख्ने शौभाग्य उनीले पाएकी छैनन् ।
उनीलाई थाहा छ, हेल्थपोष्टमा सबैले आफ्नो समस्याको पूर्ण समाधान प्राय पाउँदैनन् । त्यसपछि वीरअस्पताल जाने सल्लाह उनी पाउने छिन् । यो सल्लाह उनको आर्थिक ढाड भाँच्ने, समय खानो र निकै झन्झटिलो हुनेछ । तर उनीलाई एकमात्र छोरो, एकमात्र सन्तान उसको लोग्नेले बोकाउन सकेको खुशीको उपचार अपरिहार्य छ ।
यस्तो दर्दपूर्ण जीवन इतिहास बोकेको परिवारको एउटा औधि महत्वपूर्ण खम्बा थियो मेरो बहिरङ्ग विभागमा प्रस्तुत भएको बिरामी । गर्न त म तुरुन्तै भर्ना गर्छु उसलाई अनि शल्यकक्षमा फोन गर्दै परिचारिकाहरुलाई अपरझट शल्यकार्यको तयारी गर्न अनुरोध गर्छु ।
गुलाबी रङ्गको मोटो चर्मले थिचिएको कालो सङ्कट सूचक शुक्रग्रन्थी म खोल्नपुग्छु, घाँटीमा नली घुसारिएर सुताइएको युवकबाट मुटुमा गाँठो पार्दै म त्यो ग्रन्थी निकाल्न बाध्य हुन्छु । त्यसपछि देव्रेतिरको शुक्रग्रन्थी खोज्दै म पेट भित्रै पुग्छु । त्यो एकसेन्टीमिटरको पनि छैन र त्यसलाई अण्डकोषभित्र पु-याएर राख्न सकिने कुनै उपायनै देखिँदैन । अझबढी मन दुखाउँदै भविष्यमा त्यसबाट अर्वुद विकास नहोस भन्न त्यो अविकशीत शुक्रग्रन्थी निकालेर तन्तु जाँचको निम्ति दुबै नमुना प्रयोगशाला पठाउन भन्छु । छ शल्यकृया सफल । उठ्छ बिरामी समयमै । उ पीडाको छटपटिमा पनि छैन । खाली उसको चाहाना आमा भेट्न हतारो । मानौ ऊ भन्न चाहन्छ आफ्नी प्रिय आमालाई, चिकित्सकले उसको पुरुषत्व सबै लुटेर लगे ।
ऊ आफ्नो मनलाई आमाको अगाडि सयप्रतिशत खोल्न चाहन्छ । म भने कुन अनुहार लिएर ती आमालाई सफल शल्यकृयाको असफल परिणामबारे विवरण दिन जाउँ !!! कसरी म आमाको बुहारी हेर्ने र पक्कै पनि नाती नातीना हेर्ने अधुरो मनलाई उघार्न जाउँ, त्यसैमा हराइरहेको थिएँ । म अझ पनि सोच्ने गर्छु, वाध्यताबस् कति अहितकारी शल्यचिकित्सक म यो खेदजनक र निष्फल देशको !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



