
मुर्सी आदिवासी जनजातिबारे रोचक जानकारी
सुशीला शर्मा
यस दुनियाका कयौं कुनाकानीमा यस्ता आदिवासीहरु पनि बसोबास गर्दछन्, जो आज पनि हजारौं वर्ष पुराना परम्परालाई नै पछ्याईरहेका छन् । यी आदिवासी जो जंगलको बस्तीमा रहन्छन् । उनीहरु बस्ने क्षेत्रमा उनीहरुकै पूरा अधिकार हुने गर्दछ । त्यहाँका स्थानीय सरकार पनि ती जनजातिको अधिकारमा दखल दिँदैनन् । यिनै जनजातिमध्ये एक खूँखार आदिवासी जनजाति हुन् मुर्सी जनजाति । यी जनजातिको परम्पराहरु बहसमा आउने गर्छन् । जीवनशैली र खानपानको चलनलाई लिएर पनि उनीहरु अरुभन्दा फरक छन् ।
पूर्वी अफ्रिकाको ईथियोपियामा बस्ने मुर्सी जनजातिका मानिसलाई संसारका सबैभन्दा खतरनाक मानव मानिन्छ किनभने तिनीहरु विश्वास गर्छन् कि कसैलाई नमारिकन बाँच्नुभन्दा मर्नु राम्रो हो । मुर्सी जनजाति दक्षिण ईथियोपिया र सुडान सिमामा अवस्थित ओमो उपत्यकामा बसोबास गर्दछन् । तिनीहरुको कूल जनसंख्या १० हजार जति रहेको मानिन्छ । मुर्सीहरु सरमाईक भाषा बोल्दछन् ।
आयश्रोत
मुर्सी जनजातिको मुख्य पेशा गाईपालन हो । यस जनजातिका मानिसहरु एके ४७ को पुरानो मोडलको राईफल ८ देखि १० वटासम्म गाईसंग साट्छन् । नयाँ मोडलको राईफलको भने ३० देखि ४० वटासम्म गाई दिएर साट्छन् । यी हतियारहरुको आपूर्ति उनीहरुलाई छिमेकी देश सुडान र सोमालियाबाट गरिन्छ । मुर्सी जनजाति समुदायमा जोसंग धेरै गाईहरु छन तिनीहरु सम्पन्न मानिन्छन् ।
विवाहको लागि दुलाहाको परिवारले दुलहीको बाबुलाई सामान्यतयाः २० देखि ३० वटा गाई र एक राईफल उपहारस्वरुप भुक्तान गर्दछन् । यो परम्परा सबै मुर्सी जनजातिको विशेषता हो । यसै कारणले गर्दा छोरीहरुलाई जन्मजात परिवारको भलाईकोलागि पक्का मानिन्छ ।
मुर्सी महिला
मुर्सी जनजातिका महिला हरक्षण आफ्नो साथमा राईफल र गोलीको वेल्ट बोकेर हिँड्दछन् । अलिकति पनि खतरा महसुस भएमा राईफलमा गोली दागेर पड्काई हाल्छन् । मानिसको खराब नजरबाट बच्न शरीर परिमार्जन प्रकृया अन्तर्गत यस जनजातिका महिलाहरुले किशोरी छोरीका आमाहरुले अन्य महिलाहरुसँग मिलेर आफ्नो तल्लो ओठ काट्छन् । घाउ नपाकेसम्म त्यहाँ काठको डिस्क राखिन्छ, केहि महिना पछाडि १२ सेन्टिमिटर जतिको डिस्क अड्काईन्छ र यो उनीहरुको जीवनकालसम्म रहिरहन्छ । लिपप्लेट भनेर चिनिने यस वडी मोडिफिकेसनका कारण यहाँका महिलाहरु विश्वभरका पर्यटकहरुको आकर्षणको केन्द्र बनेका छन् । अफ्रिकामा अहिले मुर्सी, चाई र तिर्मा जनजाति छन् । यो विश्वास गरिन्छ कि जनजाति महिलाहरुको तल्लो ओठ डिस्कको कारण उनीहरुलाई दास क्रेताहरुबाट बचाउनु हो । जनजातिका जेष्ठ नागरिकहरुका अनुसार यसो गर्दा महिलाहरुको सौन्दर्य घट्छ र उनीहरु कम आकर्षक देखिन्छन् । दास प्रथाको खराब छाप र त्यसबाट बच्न महिलाहरुले यातनापूर्ण शरीरका अंग परिवर्तन आदिवासी जनजातिहरुमा पनि यस्तरी गढेर बसेका रहेछन् भन्ने कुरा बुझ्न केहि कठिन छैन । मुर्सी जनजातिमा महिलाहरु कडा शारीरिक परिश्रम गर्दछन् । उनीहरु घर बनाउने, बच्चाको हेरचाह गर्ने, खाना तयार गर्ने, खाना बनाउने र नजिकको नदी, खोलाबाट पानी बोक्ने काम गर्दछन् । कम उमेरका छोरीहरुले आमालाई मद्धत गर्दछन् ।
मुर्सी पुरुष
मुुर्सी जातिका पुरुषहरु गाईको स्याहारसुसार र गाईगोठालोको काम गर्दछन् । आदिवासी संघर्ष र समुदायको सुरक्षाको जिम्मा पनि पुरुषको जिम्मामा हुन्छ । किशोर वयदेखि नै छोराहरु हतियारको प्रयोग गर्न सिक्दछन् । विशेष गरेर पुरुषहरु आफू या आफ्नो समुदायलाई खतरा महसुस भएमा अगाडिका प्रतिद्धन्दीलाई गोली दागेर हत्या गर्दछन् । आफ्नो प्रतिद्धन्दीलाई हत्या गरेपछि उनीहरु उत्सव जस्तै मनाउँछन् । यहाँसम्म कि जुन मुर्सीको हातबाट दुश्मनको हत्या भएको हो उक्त (हत्यारा) लाई “असली मर्द” भन्दै उसलाई हौसला प्रदान गरिन्छ । यो समाजमा कोही गैहृ मुर्सीको हत्या गर्नुलाई खुसियाली मनाउनु जस्तै हुन्छ ।
यो जनजातिको हिंस्रक व्यवहारको कारण ईथियोपियाको सरकारले यिनीहरुसँग सम्पर्क गर्न बन्देज लगाएको छ । यदि कोही विदेशी या राष्ट्र प्रमुख सरकारी अतिथिको रुपमा ईथियोपियामा आए र मुर्सी जनजातिलाई हेर्ने ईच्छा जनाएमा सरकार उनीहरुलाइै सैन्य सुरक्षा घेरामा लिएर जनजाति क्षेत्रको भ्रमण गराउँछन् । ताकि उनीहरुलाई मुर्सीले हमला नगरुन् । स्मरणयोग्य के छ भने यी जनजातिसँग खतरनाक हतियार रहन्छन् ।
मुर्सी जनजातिका युवा युवती पाउनको लागि खुनी खेलको आयोजना गर्दछन् । जसमा यूवा जति हिंस्रक तरिकाले आफ्नो प्रतिद्धन्दी यूवासँग विजय हाँसिल गर्छन्, उसलाई उति नै श्रेष्ठ या बहादुर घोषित गरिन्छ र उसैको साथमा केटीको विवाह गराईन्छ ।
लवाईखवाई
मुर्सी जनजातिका मुख्य खाना सुख्खा दलिया हो, जसमा मकै, फर्सी या दूध अथवा रक्ती मिसाएर बनाईन्छ । उनीहरु मासु एकै पटक जनावरलाई काटेर लिदैनन् । गाईको गर्धनमा घाउ बनाएर त्यहीबाट निकाल्छन् । मुर्सीहरु नियमित मासु खाँदैनन र प्रमुख अवसरहरुमा मात्र खाने गर्दछन् ।
मुर्सीहरुको कपडा बाख्राको छालाको हुने गर्दछ । अझै पनि मुर्सी महिलाहरुले छालाकै कपडा लगाएको देख्न सकिन्छ । अब महिलाहरुले विस्तारै कपासको कपडा लगाउन सिकिरहेछन् । जसलाई उनीहरु स्थानीय बजारबाट किनेर ल्याउँछन् । कोही पर्यटकहरु मुर्सी समुदायमा आएर कुराकानी गर्दा या तश्विर लिदा उनीहरु बार्गेनिङ गरेर रकम लिन्छन् । मुर्सी मध्येकै कसैलाई अंग्रेजी पनि बोलिरहेको देख्न सकिन्छ ।
निष्कर्ष
मुर्सी जनजातिबारे जानकारी लिईरहँदा जसरी यस समुदायका महिलाहरु विस्तारै कपासको कपडा पहिरिनेतिर उन्मुख भन्ने भएपछि अब त्यो आततायी तरिकाले ओठ बनाउने लगायत पुरुषहरु एके राईफल बोकेर हिड्ने जस्ता आपराधिक कार्यमा संलग्न नभए पनि हुने भन्ने हाम्रो मनमा पर्न सक्छ । आदिवासी जनजातिहरुको आफ्नै महत्व र एैतिहाँसिकता छ तर एकातिर मानव सभ्यता चरमचुलीमा पुगेको देख्न सकिन्छ भने अर्कातिर हजारौं वर्ष पुराना अभ्यासहरु र अझ थपिएका हतियारहरुसँग बाँचिरहेका आदिवासीहरु । मुर्सी जनजातिमा भएका कलात्मक कुराहरु, जीवनशैलीहरु, पशुपालनका तौरतरिकाहरु अवश्य पनि अर्को समुदायलाई सिकाई हुनसक्छ ।
आफ्नै जीवनशैलीमा रमाउने जनजातिलाई आपराधिक गिरोहले हतियार आपूर्ति गर्नू र हतियार फैलाउनु अनि ती जनजातिलाई अपराधकर्मतर्फ उन्मुख गराउनु जस्ता कार्य निकै दुखपूर्ण हुन सक्छन् । तर आफ्नो मौलिकताको साथै विश्व समाजसंग परिचित र सहज बनाउने कार्य भने सम्बन्धित क्षेत्रका राज्यको जिम्मेवारीभित्र पर्दछन् । अफ्रिकामा दास प्रथाको त्रासदी र त्यसबाट बच्ने उपायस्वरुप आफ्ना शरीरलाई नै हानी पुग्ने गरी छेड्ने काट्ने र कुरुप देखिने भन्ने मनस्थितिले नै उनीहरु आदिवासी मात्र नभई वर्षौ पहिले उत्पीडित दासप्रथाका पर्याय पनि थिए भन्ने देखाउँछ । विवाहको लागि गाई उपहारस्वरुप केटीको बाबुसमक्ष जानुले मातृसत्ता हो कि जस्तो देखिन्छ तर अन्य व्यवहारमा पुरुष नै बर्चश्वशाली र हिंस्रक पनि लाग्न सक्छ ।
ओठ छेड्ने तरिकाबाट पनि महिलाहरु असुरक्षित र कमजोर नै मानिन्छ कि भन्ने पनि लाग्न सक्छ ।
(श्रोत: यूटुव भिडियो तथा आर्टिकलहरु)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



