गाडी चढने रहर

लेखमा गुल्मी-अर्घाखाँचीतिर बाेलिने स्थानीय पर्वतेली उपभाषिकाकाे प्रयाेग छ, मिलाएर पढ्नु हाेला। -लेखक

हास्यलेख

बाबुराम पाैडेल

जागीर खाँदाकाे पछिल्लाे कालखण्डमा सरकारी गाडी चढ्न पाएकाे धङ्धङी बिर्सनै सकिएन हेर्नुस्। रिटायर भएकाे ५ बर्ष सम्म सपनामा पनि धेरै पटक तेई सर्खारी गाडी आफ्नै घर कम्पाउण्ड भित्र देखियाे। कहिले कसाे बाटामा हिन्दा सरकारी नम्मर प्लेटका गाडी सरररर हिंडेकाे देख्दा हिं बरै!, कुनै दिन म पनि त तेस्तै गाडी चढ्तें नि भनेर डाहा लाग्नी। रिटाएर भएसी गाडी किन्न सक्नी अैाकातै भएन। संचयकाेष ऋण लिएकाे हिसाब संग मिल्याे। मैनामारी पिन्सिङ्ले घर चलाउनै पराे। एउटाे सेकेन हेण्ड सम्म भए नि बहुतै हुन्ताे भन्नी रहर उखरमाउलाे नै भयाे। उ बेला पावर सावर लाएर बनाएकाे लाईसेन्स नि काम लाग्दाे हाे, बेकारमा रिन्यू गरेर पैसा मात्रै तिर्दा मन अमीलाे हुनी। बस चढेर हिन्नी सकस सबैका उस्तै हुन्।

भएन गाँठे! एक दिन बुढी संग सिकिस्तै मतलब सिरियस सल्लाहा गरें मैले। “जे पर्ला पर्ला,सेकेनहेन् किनम् ! छओटा जति जम्मा गरेसी रिकण्डिसन`बट बाँकी लाेन मिलाईदिन्च रे। १४ जतिमा १८ माेडेलकाे फाेर्ड पाईयाेछ। तिन्टा जति अष्ट्रेलियाट ठूला केटाला पठाईदे भनम्, अरु तिन्टा एतै जुगाड गरम्। आठाेडा लाखकाे किस्ता तिरम्ला ताे नि !” निष्कर्षै सुनाए जस्ताे कुरा गरेसी बुढीले नाई नास्ती गरीनन्। घर कम्पाउण्ड भित्र नीजि गाडी भएसी सानै अर्कै,फुर्ती बेग्लै हुनी कुरा उन्लाई नि थाहा थियाे।

ल्याईयाे गाँठे नीलाे रंगकाे कार, देखा जाला ! काेही कसैले ब्या` पूजाकाे निम्ता गर्ला र सररररर तेई लिएर जान पर्ला भनेकाे चैत मैना परेच, ईस् भैयाे त्याे महीनै भरी ! तर्कारी बजार जाँदा क्यार्दा गाडी संगै आएकाे तेल चैट भओ। बैशाख लाएसी पेट्राेलका भाउले स्पिड पक्डेकाे नाै नम्बर गेयर हालाे गाँठे। हैट, के दशा लाएर गाडी किनियाे बरै भनेर दिक्क लाओ। तेई बैशाख र जेठ भरी दशाेटा ब्या र चाैरासी पूजा परेर हैरान।१५ हजारकाे पेट्राेल स्वाहा भओ। गाडीमा हाम्ला लएन भनेर ५ जना छिमेकी रिसाए। सकिन्न अब भनेर गाडीमा ओड्नी ओडाएर राखीयाे घर अगाडि।

असारकाे १ गते ब्यान उठ्दा घर अगाडीकाे गाडी छैन त ! “ए बुढी गाडी खै?” भनेकाे “कुन्नी ताे हिंजाे बेल्का त यँई थ्याे ए” भनिन्। “कि हिंजाे क्वैं लएर उँई बिर्सेर आउन्वओ र?” उन्ले थपिन्। “हैट, गाडी पनि बिर्सेर आउनी कुराे हाे र?” म बाेलें। “उ गेटमा लाएकाे ताल्चा काटेर फालेओ छ,गेट खुलै छ!” बुढीले भनिन्। “गाडी चाेरी भओ लाै” मेरा मुखा`ट निस्काे। नाै नाडी गले,गाेडा फतक्क भए, बुढाबुढी मुख हेराहेर गरेम्। रन्केर पुलीस चाैकी गएँ। कागज पत्र सहित गाडी चाेरले उडाएकाे रिपाेट लेखाएँ। गाडी चाेरी भएकाे भन्दा पनि याे खबर फैलिएसी छिमेकी कति खुसी हुनी हाेलान् भन्नी चिन्ता पीर खपी नसक्नु भओ।

अब के भेटीएला र चाेरले लएकाे गाडी? दिनकाे भाेक न रातकाे निद्रा भाबेला पाँच दिन पाेछी चाैकीबट फाेन आयाे, गाडी लिन आउनुस् भनेर ! हँ? हस्याङ् फस्याङ् गर्दै चाैकी पुग्दा त गाडी बाहीरै देखें। के अचम्म हाे याे? नेपाल पुलिस यति धेरै काबिल भएछ? हराएकाे पाँचै दिनमा कसरी फेला पाराे गाँठे? भन्नी साेंचेर दङ्ग परें म। गाडी हातले छाेएर ट्याप्प निधाराँ ढाेगें, गाडीकाे म्वाई खाम् जस्ताे भओ, अलि मिलेन। ” ए तपैं आउन्वओ?” हल्दार साप बाेले ! “आएँ सर, चाेर पनि भेटीए हजुर?” मैले साेधें। “के काे चाेर भेटीनु? ब्यान उठदा गाडी यँई थ्याे! उ साँचाे तेंई गाडीका ढाेकामै झुण्ड्याे छ। तपैंकाे हराएकाे नम्बर म्याच गरेर फाेन गरेकाे। तपैंकाे हाे भने बुझेर सही गरेर लैजानुस्” उन्ले भने। जहाँ जहाँ भन्चन् तेंई सही गरेर गाडी लिएर घर आएँ म। हाम्राे घरमा खुसीकाे राैनक छायाे।

घर पुगेसी ड्राईभर सिटमा राखिएकाे एउटा खाम खाेलेर हेरें! अचम्म, खाम भित्र एउटा चिठ्ठी, दुई हजार रुप्पे दाम र सिटीहलमा साँझकाे साे फिल्म हेर्नी दूईटा टिकट थिए। चिठीमा लेखिएकाे थियाे- ” आदरणीय सर,नमस्कार! सर्बप्रथम म क्षमा माग्दछु। तपाईकाे गाडी लगेर मेराे ठूलाे समस्या ट-याे। त्याे रात मेराे श्रीमती बाथरुममा लडेर बेहाेस थिईन्। एम्बुलेन्स बाेलाएँ,डेढ घण्टा सम्म आएनन्। म छटपटिएँ। बाटाेमा कुदेका सवारी साधन राेक्न खाेजें, कसैले राेकेनन्। मेराे श्रीमतीकाे ज्यानकाे सवाल थियाे। के गराैं कसाे गराैं भएँ। उपाय नास्ती भए पछि टाेलाउँदै गर्दा तपाईकाे घर भित्र गाडी देखें। मागाैं भने म नचिनेकाे मान्छेलाई के दिनु हाेला र भन्नी साेंचेर मैले गेटकाे ताला काटें, गाडीकाे चाबी मिलाएर लगें। मेराे श्रीमतीकाे टाउकाकाे अप्रेशन भयाे। गाडी फर्काउन म भाेलीपल्ट आउँदै गर्दा तपाईलाई पुलिस चाैकी तिर देखें। रिपाेर्ट लेखाउनु भए हाेला,पुलिसले समात्याे भने लफडा हुनी र श्रीमतीकाे हेरचाह गर्ने काेही नभएकाले म फेरि अस्पतालै फर्कें। आज श्रीमती डिस्चार्ज भएर घर ल्याएँ। तपाईकाे अगाडि पर्न लाज र डर लाग्याे। महंगाे भएकाले गाडीमा फुल ट्याङ्क पेट्राेल हाल्देकाे छु। मेराे र श्रीमतीकाे खुसीका लागि आज तपाईं दुबैजना सिटिहलमा फिल्म हेर्न जानू हाेला। टिकट र खाजा खर्च दुई हजार छाडेकाे छु।मेराे दु:खमा तपाईकाे गाडी भगवान सरह भयाे। तपाईकाे जीवनभर जय हाेस्। सक्नुहुन्छ भने माफ गर्नु हाेला।”

चकित परेम् हामी बुढा बुढी। कलीयुगमा यस्ताे पनि हुन्छ? लगेर नफर्काएकाे भए नि तेस्लाई कल्ले भेटाउँथ्याे र? कस्ताे भलाद्मी मान्छे रैछ गाँठे? फाेन नम्बर लेखेन तेल्ले। नम्बर भए त भेटन जान हुन्थ्याे नि फलफुल लिएर। बिरामी श्रीमती भेटेर आउन हुन्थ्याे। हामी बुडाबुढी छट्पटिएम्। जे हाेस्, कमसेकम हाम्राे गाडी दुःखमा काम लाएछ। त्यसलाई लाज लागेर फाेन नम्बर दिएन हाेला, भै गाे नि! भनें मैले।

साँझ झल्याँस्स सम्झिएँ मैले, ए.. फिलीम हेर्नी टिकट र नास्ता खानी पैसाे पाे छाेडेओ छ त्यस्ले। बुढी संग सल्लाहा गरें, जाम् भनेर। बुढीले भनिन् ” ह्या.. के काे फिलिम् हाे फाेक्कैमा, यँई सुतेर टि.भि. हेर्न छाेडेर?” “नकरा तँ, बाहुबली फिलीम लाओछ त्याे सिटी हलमा। त्याँ हेरेजस्ताे टिभी सिभीमा स्वाद आउन्न। फाेकटकाे टिकट किन खेर फाल्नी? एकै दिन चारसय कराेड कमाएकाे फिलिम हाे ईण्डियामा बुझिस्। गाडी हराएकाे हरायै भा नि क्यार्न हुन्ताे र, चुमुर्किएर बस्न पर्ताे नि ? अझ नास्ता खानी पैसाे उसैले देओछ। जाम् गाडी भेटीएकाे खुसी नै भओ लाै !” मैले जाेड गरें।

फिलिम सकियाे।घर आएर नपकाउनी हिसाबले उतै खाएम् हाम्ले।११ बजे राती घर पुग्दा ढाेका ह्वाङ्गै छ त ! भित्र भान्छा काेठा उज्यालै छ। हैन, काे आओ याँ खाना पकाउन? हामी दङ्ग परेम्। सबै बत्ती बालेर हेर्दा सुत्नी काेठा पनि खुल्लै पाे छ त? बुढीले भान्छामा हेरीन्,मैले सुत्नी काेठामा। दराज खुल्लै। गहनाे गुरीया, अभर पर्ला भनेर राखेकाे पैसाे सफाचट। भान्छामा मासुका हड्डी छरपष्ट। डाईनिङ् टेबुलमा अलिकति बाँकी सिग्नेचर रक्सी र चाओटा खाली गिलाँस। कराईमा ५/७ टुक्रा पकाएकाे कुखुराकाे मासु। टेबुलमा रक्सीकै बाेत्तलले च्यापेकाे खुल्ला चिठ्ठी।

चिठ्ठीमा लेखिएकाे थियाे- “नमस्कार सर मेडम् । कस्ताे लाग्याे बाहुबली फिलीम्? कटप्पाले बाहुबलीलाई किन मारेकाे रैछ त? रहस्य पत्ता लागाे? खासमा हाम्लाई तपैंले धाेका दिएर याे सब गर्नु परेकाे हाे। यत्तिकाे मान्छेले नयाँ गाडी किन्नु भए हाेला भनेर चाेरेकाे त धाेका भयाे हाम्लाई। त्यस्ताे खटारा गाडी किन्नी ? ल ठिक छ, खाजा उतै खानु भए हाेला। हाम्ले पकाएकाे मासु कस्ताे छ, चाख्नु हाेला। सरलाई अलिकता रक्सी पनि छाेड्या छम्। खासमा बाेत्तलकाे बिर्काे हराएर छाेडेका हाैं। बिना बिर्काकाे बाेत्तल लिएर हिंड्दा पाेखिएर गनाउला भनेर पनि हाे छाडेकाे । हुन त यति जाबाे पिएर पनि जाँदा हाैं। सरलाई अलिकता नराखी के खानु जस्ताे लागेर छाडियाे, हल्का लिनुहाेला सर निद्रा लाग्छ। लाै त दु:ख नमान्नु हाेला। माैका परे फेरि मुलाकात हाेला!”

बुढी र मेराे बाेलचाल नभएकाे आज ४ दिन भओ। छिमेकमा केही हल्ला कुल्ला गरीएन। चाेरीकाे ब्यहाेरा बताउँदा पुलिसले उल्टै हाम्ला बेबकुफ उल्लु बनाउला भनेर जाहेरी दिईएन।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button