सिर्जना भाउजु प्रकाशमान दाइलाई भन्नुस्, ‘अब भुमिका बदलौ’

भवराज कोइराला

आदरणीय सिर्जना भाउजु
जय नेपाल !

चुनावको नतिजाले पक्कै पनि खिन्न हुनुहन्छ होला । लौह पुरुष स्वर्गिय गणेशमान सिंहकी कुलवधुले हार्दा म पनि दुःखी छु । तैपनि, तपाईं जनमतलाई कदर गर्ने राजनितिमा विश्वास गर्ने भएको हुँदा यसलाई स्वभाविक रुपमा लिनु पर्छ, लिनु हुनेछ भन्ने विश्वास गर्दछु ।

महानगरको प्रमुखमा तपाईंको नाम उमेदवारको रुपमा आउनु तपाईंको अग्लो व्यक्तित्वको हिसाबले विश्लेषण गर्दा एकदमै उपयुक्त निणर्य थियो । एउटा महिला, जसको त्याग र लगानीलाई आधार मान्दा यो उच्च कोटिको निर्णय थियो । वास्तवमै काठमाडौंवासीको सम्मानको प्रत्याभूति थियो । यद्यपि अहिले यो निर्णय विवेकलाई बन्धक राखेर पार्टीले गरेको जवरजस्त निणर्य हुन पुग्यो ।

हामीजस्ता मानिसलाई पनि पत्याउन गाह्रो थियो, काङ्ग्रेस पार्टीले यो निर्णय गर्न सक्छ भनेर, गर्यो । तपाइको उमेद्वारी बिपीको सिद्धान्त, किसुनजीको समर्पण र निष्ठा अनि गणेशमानजीको त्याग र अटल विश्वासको संगम नै थियो । पार्टी कमिटीबाट तपाईंको नाम एक नम्बरमै सिफारिस भयो । तर तपाईं नै किन ? भनेर न त तपाईंको पार्टी ले बुझायो, न त तपाईंको परिवारबाट राजनिति लाभ लिएका काँग्रेसीले नै बुझाउने धृष्टता गरे ।

राजनिती सधैं तरल हुन्छ् । अनि सानो कुराले मतदाताको मनस्थिति तरंगित हुँदोरहेछ । यो कुराको हेक्का सिंगो काग्रेंसले राख्न सकेन । काठमाडौंमा मतदाताको मूड बुझ्न कांग्रेसले कुनै मतदाता सर्भे गरेको थिएन । न त तपाईंको परिवारले, न त कांग्रेसले नै तपाईंको संभावित उमेदवारको कुनै छनक दिएको थियो । एक्कासी तपाईं प्रस्तावित हुनु भयो, जुन केन्द्रबाट लादिएको निर्णय भनेर धेरै नसोची पनि बुझ्न गार्हो थिएन । धेरैले यसलाई कुलिन तन्त्रीय निर्णयको अर्को उदाहरणको रुपमा बुझे ।

म अहिले झल्झली तपाईंजस्तै संघर्षशील महिला हरिप्रभा खड्गीलाई सम्झिँदै छु । उनको राजनीतिक योगदान, पृष्टभूमि, त्याग अनि परिपक्वता तपाईंको जति थिएन । तर उनले उपमेयरमा खेलेको भूमिका कम चुनौतीपूर्ण भन्न मिल्दैन । उनीलाई असफल भनेर दोष लगाउने हिम्मत विरोधी र प्रस्तिस्पर्धी दलले समेत गरेनन् । तर उनको मूल्यांकन गर्ने धृष्टता कसैले गरेनन् । उनी तपाईंको हेभिवेट व्यक्तित्वको छायाँमा परिन् । प्रस्टसँग भन्नु पर्दछ, तपाईंलाई न्याय गर्न खोज्दा हरिप्रभा खड्गीलाई अन्याय भएको धेरैले महसुस गरे ।

देश शरीर हो भने देशको राजधानी मस्तिस्क हो । मस्तिस्क सधैं चलायमान हुन्छ । त्यसको डाईनामिक्सलाई बुझ्न नसक्दा सारा शरीरले दुःख पाउँछ । त्यो डाईनामिक्स तपाईंले बुझेर उदारता देखाएको भए साँच्चै लौह पुरुष गणेशमानपछि त्यागको दोश्रो प्रतिमूर्ति हुनु हुन्थ्यो । अर्को त्यागका लागि स्वर्गीय गणेशमान पछिको पुस्ता फेरि चुक्यो भन्ने सर्वसाधारणको बुझाई रहन गएको छ । यस्लाई चिर्न राजधानीका काँग्रेसीहरूले ठूलो मिहिनेत गर्नु पर्छ । त्यसलाई चिर्न सक्ने नैतिक साहस प्रकाशमान दाइसँग भने कमसेकम अब बाँकी रहेन । किनकी अस्तिको महाधिवेसनमा मैदान छोडेर लम्पसार परेवापत तपाईंको उमेद्वारी त्यही सम्झौताको एउटा शर्त हो भन्ने धेरैको बुझाई छ ।

त्यो बुझाई गलत थियो भनेर बुझाउने जिम्मा अब तपाईको मात्र रह्यो । देश अनि पार्टीप्रतिको तपाइको त्याग र समर्पण धेरै पुराना नेता तथा कार्यकर्ताहरूलाई मात्र थाहा छ । इतिहासभन्दा भविष्यप्रति चासो राखिरहेको अहिलेको पुस्तालाई थाहा नहुनु स्वभाविक थियो । त्यो वर्गले बालेन्द्र साह र सुनिता डंगोल रोज्यो, यो झन् अस्वभाविक थिएन ।

तपाइको पृष्टभूमि, यति ठुलो विरासत, हुँदाहुदै पनि लामो समयसम्म तपाईंको प्रत्यक्ष सक्रियता आममानिसले देखेका थिएनन् । यसपाली नगर प्रमुख बन्न सक्नु भएन त के भयो ? एउटा हार धेरै वटा जितको आधार बन्न सक्दछ । अब तपाई मैदानमा उत्री सक्नु भएको छ, भोलिका लागि शुभकामना छ । तपाईसँग राष्ट्रको नेतृत्व गर्न सक्ने क्षमता र व्यक्तित्व छ, त्यो देखियोस् । तर आममानिस, युवा पुस्ता र सचेत वर्गले विरासतभन्दा व्यक्तित्व, पृष्टभूमिभन्दा प्रत्यक्ष भूमिका, सपनाभन्दा सफलताको सम्भावना हेरर बसेको हुन्छ, त्यो बुझेर अगाडि बढ्नुस् । हिम्मतका साथ प्रकाशमान दाइलाई भन्नुस्, ‘आजसम्म मैले परिवार सम्हालेँ, तपाईले देश सम्हाल्नु भयो, अब भुमिका बदलौं, बाँकी जीवन म देश सम्हाल्छु ।’

तपाईंको शुभचिन्तक
का म न पा वडा नम्बर ३२ बाट


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button